खुर्कोटको बेलिव्रिज : यातायात मन्त्री दाहालले आज शुभारम्भ गर्दै
रामेछाप : बाढी र पहिरोले बगाएको सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ हुने भएको छ। आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको आज दिउँसो शुभारम्भ गर्ने कार्यतालिका रहेको छ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।
पुल बगाएपछि तत्काल बेलिब्रिज बनाउनका लागि उर्जा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलसहितका एमाले नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल, रक्षा मन्त्री मानवीर राईलगायतसँग छलफलसँगै दबाब दिएका थिए। एमाले र कांग्रेसका नेताहरुले आफ्ना सरकारका मन्त्रीहरुलाई दबाब दिएपछि बेलिब्रिज निर्माणको टुंगो लागेको हो।
ठेक्का प्रक्रियाबाट निर्माण ढिला हुने भएपनि सरकारले सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त सुनकोशी नदीको पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। बाढीले पक्की मोटरेवल पुल बगाएको ३ साता नबित्दै नेपाली सेनाले सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोड्न सफल भएको हो। निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भएको छैन।
नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले एमपिबी राखेर सिन्धुली र रामेछाप जिल्ला जोड्ने सुनकोशी नदीमा बेलिव्रिज जडान गरेको हो। बाढीले मन्थली, रामेछापतर्फको एउटा स्पान बगाएपछि रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, दोलखाका यात्रु र सवारी साधन मारमा परेका थिए।