यस्तो पनि घूस हुन्छ !
आज बिहान म सुपर्णखाको घर गएँ। चियापछि उनले पाँचवटा चकलेट ल्याएर दिए। विदेशी चकलेट रहेछ। सोधें ‘हैन, कहाँबाट आयो यो चकलेट ?’
उनले मुस्कुराउँदै जवाफ दिए ‘मेरो एउटा साथी विदेश गएर आएको रहेछ, हिजो भेट्न आउँदा अलिकति चकलेट उपहार भनेर छोडेर गयो। तिमीलाई पनि चखाउन मन लाग्यो। त्यसैले दिएको, खाउन।’
एउटा चकलेट मुखमा हाल्दै मुस्कुराएर मैले भनें ‘हैन, उपहार लिनु पनि घूस हो भन्थ्यौ। त्यस्तो आदर्शवादी तिमीले कसरी उपहार स्वीकार्यौ त ?’
उनले जवाफ दिए ‘हेर, कुनै मतलब वा स्वार्थका कारण अथवा भनौं व्यक्तिगत लाभका कारण उपहार दिने व्यक्तिको मतलब वा स्वार्थपूर्ति गरिदिन सक्ने वा व्यक्तिगत लाभ गराउन सक्ने अधिकार भएका वा भविष्यमा त्यो अधिकार प्राप्त गर्न सक्ने सम्भावना भएका व्यक्तिले कसैसँग उपहार लिन्छ भने त्यस्तो उपहार नगद होस् वा वस्तु त्यो चाहिँ घूस हो। यो कुरा तिमीलाई पनि थाहा भएकै कुरा हो। अब मेरो साथीले ल्याइदिएको चकलेट उपहारको पछाडि त्यस्तो आशय कतैबाट झल्किँदैन। किनभने न ऊ कुनै लाभको आशले मकहाँ आएको हो न म चोक्टा नियालिरहेर त्यसैको वरिपरि घुमिरहेर मौका पाउनेबित्तिकै चोक्टामा झम्टा हाल्न तयार भएर बस्ने मान्छे हुँ। म त त्यस्ता क्रियाकलापविरुद्ध अवाज उठाइरहेको र उठाइरहने मान्छे हुँ। यो कुरा पनि तिमीलाई राम्ररी नैं थाहा छ।’
यो कुरा मेरो मित्रले सोह्रै आना ठीक भनेका हुन्। यसमा मैले कुनै प्रश्न उठाउने कुरै भएन। त्यसैले आफ्नै कुरा राखें ‘हेर, मेरो मान्छेले पनि घूस खाने कुराको कटु विरोध गरेर भनेका हुन्, हामी भात खान्छौं, रोटी खान्छौं घूस खाँदैनौं ।’ तिमी भ्रष्टाचारी भन्ने ठब्बा लाउँदै बेकारमा उनको विरोध गर्छौं । उनको घूस नखाने घोषणा पछि अब त उनलाई भ्रष्टाचारी भन्दैनौ होला नि।’
मेरो अनुहारमा हेरेर मुस्कुराउँदै उनले भने ‘हेर, यो संसारमा घूस कसैले पनि खाँदैन।’
मलाई आनन्द लाग्यो। घूस कसैले खाँदैन उनले नैं भनिदिएपछि आनन्द मान्नु परेन त ? मेरो मान्छे जोगिइहाले नि। म मुस्कुराएँ।
मलाई हेर्दै उनी पनि मुस्कुराए र भने ‘हेर, घूस खाद्य वस्तु होइन भन्ने सबैलाई थाहा छ। त्यसैले घूस कसैले खाँदैन त्यो त लिने वस्तु हो। अब लिने कुरा चाहिँ कसले कति लिन्छ, कसरी लिन्छ, लिएको वस्तु कहाँ राख्छ त्यो कुरा विचारणीय छ। थोरै नगद लिनेको खल्तीमा अटिहाल्छ। खल्ती भुक्क उक्सिन्छ। सबैले थाहा पाइहाल्छन्। त्यसैले ऊ पक्राउ परिहाल्छ। अलि धेरै लिनेले बैंकमा राख्छ। खोजतलास गर्न समय त लाग्छ। तैपनि पत्ता लागिहाल्छ। अनि ऊ पनि पक्राउ पर्ने नै भो।’
मैले कुरा काट्दै भनें ‘तिम्रो कुरासँग म सहमत छैन।’
कुरा सुन्दै त जाऊ भनेर उनले थपे ‘अब धेरै नगद लिनेले बोरामा ठुसेर बाहिरियालाई थाहा नहुने तवरले घरमा लुकाएर राख्छ वा विदेशी बैंकमा राख्छ। त्यसैले घूस लिएको थाहा भएर पनि ऊ पक्राउ पर्दैन। किनभने प्रमाण नै पाइँदैन। अर्को कुरो पनि छ। कसैले घूस जग्गा दानबापत लिन्छन्। अब दानलाई घूस कसरी भन्ने ? दान दिन लिन पाइँदैन भनेर भन्न मिलेन क्या र !’
मलाई मेरै मान्छेलाई उनले व्यंग्य कसेका त हैनन् भन्ने कताकता शंका लाग्यो र अलि कडा शब्दमा सोधें ‘क्या हो, तिमीले मेरै मान्छेलाई इंगित गरेका त हैनौं ? ’
उनले सजिलै जवाफ दिए ‘तिमीलाई किन त्यस्तो लाग्यो ? मैले कसैलाई इंगित गरेको होइन। यथार्थ कुरा राखेको मात्र हुँ। दान लिँदा धेरै विरोध भयो भने त्यो त हाम्रो परिवारकै मान्छे हो किनभने हाम्रो आनीबानी, रहनसहनदेखि सबै कुरा एउटै छ। परिवारको मान्छेले दिएको दान पनि घूस हुन्छ ? घूस हो भन्नेहरू पाखण्डी हुन् भनेर प्रचार गरिदिए भै गो, क्या आनन्द !’
अब त यिनले मेरै मान्छेलाई भनेका हुन् भन्ने मलाई लाग्यो। बजाइदिउँ कि जस्तो नलागेको हैन। चकलेट खाइसकेको छु कसरी बजाउनु ? हुन त चकलेट खाने कति मान्छेले चकलेट खुवाउनेलाई समेत आवश्यक पर्दा बजाएको उदाहरण पनि हाम्रो समाजमा छ। त्यसभन्दा बढी उनी मेरो साथी पनि भएकोले बजाउन सकिनँ। त्यसैले चुपचाप म त्यहाँबाट हिँडें।