संसदीय समितिका सभापति र प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
काठमाडौं : संघीय संसद्अन्तर्गतका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकको बैठक सुरू भएको छ। सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन बिहान ११ : ३० बजे दफावार छलफलका लागि विधेयक रहेका समिति सभापतिहरूलाई बोलाएका थिए।
बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।
दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति,अर्थ समितिमा विधेयक रहेका छन्।
अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएको सचिवालयको भनाइ छ।