विचाराधिन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधिन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् ।
समितिका सभापति र दलका प्रमुख सचेतकहरूसँग आज छलफल गर्दै सभामुख घिमिरेले संसदीय समितिहरूमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका हुन् ।
छलफलपछि पत्रकारहरूसँग कुरा गर्दे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर सभामुखले चासो देखाएको जानकारी दिए।
यता एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० वटा विधेयकमा १७ वटा पारित भएको र बाँकी विधेयकलाई छिटो टुंगो लगाउने विषयमा सभामुखको ध्यानाकर्षण गराए। सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिएको उनले जानकारी गराए।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयकहरुलाई व्यवस्थित गरेर कसरी अगाडि बढाउने बताए । संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सभामुख घिमिरेलाई सुझाव दिएको बताए । पाण्डेले समितिमा अडकिएका विधेयकहरुको जवाफदेहिता अब समितिहरुले लिनुपर्ने बताए।
आज भएको छलफलमा ५ समितिका सभापति र चार दलहरुका मुख्य सचेतक, उपसभामुख तथा कानुनमन्त्रीको उपस्थिति रहेका थिए।