सुनकोशी नदीको बेलिब्रिजले जोड्यो सिन्धुली–रामेछाप, पुल बगाएको २४ दिनपछि यातायात सञ्चालन

सुनकोशी नदीको बेलिब्रिजले जोड्यो सिन्धुली–रामेछाप, पुल बगाएको २४ दिनपछि यातायात सञ्चालन
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६, भलुबाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले पक्की पुल बगाएपछि नेपाली सेनाले १५ दिनमा अस्थायी मोडुलर प्यानल ब्रिज (एमपीवी) जडान सम्पन्न गरेपछि मंगलबारबाट यातायात सञ्चालनमा आएको हो। 

उत्तरी रामेछाप र दोलखा जिल्लाकै लाइफलाइनका रूपमा रहेको खुर्कोट पुल सुनकोशी नदीमा आएको बाढीले रामेछापतर्फको ५१ मिटर बगाएको थियो।

बाढीले बगाएको ५१ मिटरमा नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले सोमबारसम्ममा एमपीवी राखेर भारवहन क्षमतासमेत मापन गरेपछि मंगलबारबाट अस्थायी रूपमा यातायातका साधन सञ्चालन गर्ने अनुमति दिइएको हो।

पुल बगाएको १५ दिनमा नै नेपाली सेनाले निर्माण सम्पन्न गरेको अस्थायी बेलिब्रिजको मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मासहितको टोलीले अनुगमन तथा निरीक्षण गरेपछि यातायातका साधन सञ्चालन गर्न दिइएको हो।

उक्त अवसरमा सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरूलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मानसमेत गरेका थिए।कार्यक्रममा मन्त्री दाहालले गत असोज १२ गतेको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सेनाका प्राविधिक सहितको टोलीलाई सम्मान गरेका हुन्।

‘विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको पात्र बन्नु भएको छ,’ मन्त्री दाहालले भने।

नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले गत असोज २२ गते बुधबारबाट एमपीवी जडानको काम सुरु गरेको हो। काम सुरु भएको नवौं दिनमा असोज ३० गते बुधबार नै बेलिब्रिज जडानको प्रारम्भिक काम सकेर दुई जिल्लालाई जोडेको नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागार्इंले बताए।

बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गसँग जोडिने खुर्कोट–मन्थली–तामाकोशी सडकअन्तर्गत एडीबीको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधा भाग सुनकोशी नदीमा आएको बाढीले बगाएर क्षति गरेको थियो। ३ सय ६० फिट लम्बाइको खुर्कोटको पुलमा बाढीले १ सय ८० फिट अर्थात् आधा भाग नै बगाएपछि २४ दिनदेखि खुर्कोट–मन्थली यातायात सेवा अवरुद्ध भएको थियो।

मंगलबारबाट सञ्चालनमा आएको बेलिब्रिजमा तत्कालका लागि १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउनेछन्। सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालका अनुसार प्राविधिक स्टिमेटअनुसार उक्त पुलको भारबहन क्षमता २२ टन भए पनि कार्यालयले सोमबार मात्र उक्त पुलको भारबहन क्षमता जाँच गरेकाले तत्कालका लागि १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न दिने तयारी गरिएको बताए।

उनले भने, ‘पुलको डिजाइन क्षमता २२ टन हो, स्पान बगेको हुनाले हाललाई १५ टन क्षमता कायम गरिएको छ। १५ टन क्षमताका गाडी मात्र हाललाई वारपार गर्न सक्ने छन्।’ एसियाली विकास बैंकको १७ करोड रुपैयाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले गत आर्थिक वर्ष २०७१÷०७२ मा सुनकोशी नदीमा दुइटा स्पान निर्माण गरेर उक्त मोटरेवल पुल निर्माण सम्पन्न गरेको थियो।

तर, निर्माण सम्पन्न भएको ९ वर्ष नबित्दै सुनकोशी नदीमा आएको बाढीले पुलमा क्षति पु¥याएपछि पूर्वी नेपाल र तराई मधेसका साथै छिमेकी राष्ट्र भारतबाट रामेछाप र दोलखा जिल्ला आउने यात्रुका साथै सरसामान ओसारपसारमा समस्या भएको छ।

खुर्कोट मन्थली जोड्ने यस पक्की पुल रामेछाप र दोलखा जिल्लाको विकासका लागि मेरुदण्डका रूपमा लिइएको थियो। उक्त स्थानमा रहेको झोलुंगे पुलसमेत बाढीले बगाएको छ। रामेछापेली नागरिकको उत्साह बोकेको खुर्कोट पुल बगेसँगै रामेछाप र दोलखाको विकासको सम्भावनासमेत बगेको थियो।

उत्तरी रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बुलगायतका पहाडी जिल्लाका भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान सावित भएको थियो। सुनकोशी नदीमा लामो प्रतीक्षापछि मोटरेवल पुल निर्माण भयो।

योसँगै रामेछाप र दोलखा जिल्ला सिन्धुलीको खुर्कोटस्थित बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गसँगको सम्पर्क जोडिएको थियो। जसका कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारबाट संघीय राजधानी काठमाडौं जान ७५ किलोमिटर दूरी छोटिएको थियो।

सुनकोशी नदीको पक्की पुलका कारण रामेछाप र दोलखा जिल्लालाई मात्र नभएर सिन्धुलीको खुर्कोटलाई समेत निक्कै ठूलो सहयोग पुगेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)ले जनाए।

उनले भने, ‘सुनकोशी नदीको पुलका कारण खुर्कोट–रामेछाप जोडिँदा खुर्कोट व्यापारिक केन्द्र बनेको थियो। यहाँ ठूला होटल, हस्पिटल तथा व्यापारिक केन्द्र बन्दै थियो। यसले दुवै जिल्लालाई ठूलो फाइदा पुगेको थियो। तर, नदीको बाढीले पक्की पुल बगाउँदा निक्कै निराश भएका नागरिकलाई नेपाली सेनाले २४ दिनपछि फेरि खुसी फकाइदिएको छ।’

सुनकोशी नदीमा बेलिब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध पुनः जोडिएको उनको भनाइ छ। बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग हुँदै तराई र हिमाललाई छोटो दूरीमा जोड्ने खुर्कोट पुलका तराईका जिल्लाबाट रामेछाप र दोलखा जिल्लाका लागि आवश्यक पर्ने खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने एक मात्र नाका हो।

बाढीले सुनकोशीको पुल बगाउँदा रामेछापबासी आवतजावत गर्न वैकल्पिक सडकका रूपमा दोलखा हुँदै र रामेछापकै सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्न बाध्य थिए। हाल निर्माण गरिएको बेलिब्रिज पुल पनि एकतर्फी सञ्चालन हुनेछ।

सुनकोशी नदीमा बेलिब्रिज निर्माण भएसँगै दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक लगायतका जिल्लाका स्थानीयलाई आवतजावतमा सहजता भएको छ।

पुल निर्माणमा सिन्धुली र रामेछापका संघीय तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाको उत्तिकै भूमिका छ। पुल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाली सेनाको १४ बाहिनी अड्डा गौचर काठमाडौंलाई सम्मानसमेत गरेको छ।

उता गत असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण सिन्धुली जिल्लामा मात्र १४ वटा पुलमा क्षति पुगेको छ। 
रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण सिन्धुली र काभ्रे, सिन्धुली र रामेछाप, सिन्धुली र ओखलढुंगा जिल्ला जोड्ने पुलमा क्षति हुँदा सर्वसाधारण नागरिक तथा गर्भवती र सुत्केरी महिला डुंगा र ट्युबमा सुनकोशी नदी वारपार गर्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.