पूर्वकमलरी चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

पूर्वकमलरी चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
अमेरिकामा अवार्ड ग्रहण गर्दै उर्मिला चौधरी ।
सुन्नुहोस्

दाङ : पूर्वकमलरी उर्मिला चौधरीले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएकी छन ्। झन्डै १२ वर्ष साहुको घरका कमलरी जीवन बिताएकी उर्मिला कमलरी मुक्तिपछि ‘मुक्ति अभियान’मा लागेकी थिइन् । 

दाङको गढवाकी उर्मिला चौधरीले अमेरिकाका ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छन् । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ कमलरी अभियन्ता उर्मिला चौधरीलाई प्राप्त भएको हो । अमेरिकामा आयोजित कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्ड प्रदान गरेका हुन् । 

बाल्यकालमा आफैं कमलरी बसेकी चौधरीलाई कमलरी प्रथा उन्मूलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै यो अवार्ड दिइएको हो । ‘अवार्डले मलाई विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाका लागि काम गर्न थप हौसला दिएको छ, उनले भनिन्, ‘यो अवार्ड म सम्पूर्ण नेपाली तथा मसँगै उद्धार भएका र कमलरी प्रथा उन्मूलनमा सहयात्रा गरेका सम्पूर्ण साथीलाई समर्पण गर्छु ।’

दाङकी चौधरीसहित विभिन्न देशका ६ जना सामाजिक अभियन्ताले यो अवार्ड पाएका हुन् । 

उर्मिलासँगै अवार्ड पाउनेमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्स्का जोन लिरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुई ज्याकोमा छन् । यो अवार्ड गत वर्ष नेपालकै सरस्वती नेपालीले पाएकी थिइन् । सामाजिक कार्यकर्ताको रूपमा सीमान्तीकृत जाति, अपांगता भएका व्यक्ति र गरिबहरूको मानव अधिकारकालागि काम गरे बापत उनलाई अवार्ड दिइएको थियो ।

अमेरिकी सरकारले सन् २०२३ मा स्थापना गरेको यो अवार्ड विश्वव्यापी रूपमा नागरिक समाजका व्यक्तिहरूलाई उनीहरूले गरेको उदाहरणीय र साहसिक कार्य र योगदानका आधारमा दिइने गरेको छ । विश्वकै शक्तिशाली देशले दिने अवार्ड पाउनु गौरवको कुरा भए पनि न्याय र समानताका लागि अझै धेरै काम गर्न बाँकी रहेको उर्मीलाले बताएकी छन् । ‘सयौं मुक्त कमलरीको पुनःस्र्थापना हुन सकेको छैन, उनीहरूको पुनःस्थापना, न्याय र समानताका लागि लड्नु छ,’ उनले भनिन्, ‘यो अवार्डले अझै हौसला बढाएको छ ।’ 

कमलरी प्रथा उन्मूलनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै अवार्ड पाएकी छन् । ६ वर्षअघि नेदरल्यान्ड्सले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’ बाट सम्मानित गरेको थियो । प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यसअघि पाकिस्तानकी बाल अधिकार कार्यकर्ता मलाला युसुफजाई, आङ सान सूची, हुसेन इब्राहिम सलेह अल जस्ता व्यक्तिले पाएका थिए ।

अहिलेसम्म उनले ६ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन् । संयुक्त राष्ट्र संघको युथ करेज अवार्ड फर एजुकेसन, इन्टरन्नेसनल ह्युमन राइट्स अवार्ड पनि उनले पाएकी छन् । 

को हुन् उर्मिला चौधरी ?
दाङको गढवा गाउँपालिका–७ मानपुर निवासी फुलट चौधरी र खलसी चौधरीकी छोरी हुन्, उर्मिला आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले जमिनदारको जग्गा अधियाँ लिएर जीविका चलाउने गथ्र्यो । अधियाँ गरेबापत साहुको घरमा बँधुवा कामदारका रूपमा कमैया र कमलरी बस्नुपथ्र्यो । साहुको घरमा कमलरी राख्न उर्मिलालाई ६ वर्षकै उमेरमा काठमाडौं लगियो । कापी–कलम बोकेर स्कुल जाने उमेरमा उनको हातमा भाँडाकुँडा थमाइयो । उनले त्यति बेला घरयासी सबै काम गर्नु पथ्र्यो । 

पश्चिम तराईका जिल्लाबाट चलेको अभियान काठमाडौं पुग्यो । त्यही अभियानका क्रममा झन्डै १२ वर्षको कमलरी जीवनपछि उनले २०६३ माघ १ गते यसबाट मुक्ति पाएकी थिइन् । 

सबैतिरको दबाब स्वरूप २०७० असार १३ मा सरकारले कमलरी मुक्तिको घोषणा गर्‍यो । त्यसपछि हरेक वर्षको असार १३ गते कमलरी मुक्ति दिवस मनाइँदै आएको छ ।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.