सरकार निरंकुश हुँदैछ : नारायणकाजी

सरकार निरंकुश हुँदैछ : नारायणकाजी
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नारायणकाजी श्रेष्ठ ।
सुन्नुहोस्

विराटनगर : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार निरंकुश हुँदै गइरहेको दाबी गरेका छन् । 

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको आरोप लगाए । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्नु नै सरकार निरंकुशतातर्फ उन्मुख हुँदैछ भन्ने प्रमाण भएको उनको जिकिर छ । 

सरकारले निरंकुशता लादेर अन्य राजनीतिक पार्टीहरूलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप उनले लगाए । अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको श्रेष्ठको भनाइ छ । 

बाढी, पहिरोबाट पीडितहरूका लागि यो सरकारले राहत र पुनःस्थापाको काम प्रभवकारी ढंगले गर्न नसकेको भन्दै उनले जनताको पक्षमा उभिएर आफ्नो पार्टीले खबरदारी गरिरहेको बताए । विधि पुर्‍याएर निष्पक्ष अनुसन्धान गर्न पाउने अधिकार सरकारसँग भए पनि ‘इगो’ राखेर सहकारी ठगीका नाममा रवि लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ छ । 

‘रवि लामिछानेमाथि निष्पक्ष, स्वतन्त्र र भेदभावरहित अनुसन्धान हुन सकिरहेको छैन । सहकारी ठगीमा प्रत्यक्ष संलग्न सत्तारुढ पार्टीहरुकै नेताहरुलाई चैं किन अनुसन्धान गरिएन ?,’ प्रश्न गर्दै श्रेष्ठले भने, ‘अरुलाई कानुनको दायरामा किन ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । अहिले अनुसन्धान गर्ने कुरामा भेदभाव भइरहेको छ ।’

माओवादी नेता श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताए । सरकारले कुनै सकारात्मक काम गर्न नसकेका कारण समीक्षा गर्न मिहिनेत गर्नै आवश्यक नरहेको उनको तर्क छ । 

‘दुईवटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धति र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुईवटा पार्टी मिलेर निरंकुशतातिर जाने संकेत भएको भनेर हामीले सुरुमै भनेका थियौं । अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उनी भन्छन्, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचारविरुद्ध अभियान चलायौं । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषीलाई सफाइ दिने काम गरिरहेको छ ।’

उनले बाढी पहिरो र डुबानमा परेकाहरूको तत्काल उद्धार, राहत र पुनःस्थापना, पुननिर्माणको योजना बनाउने काममा सरकारले तदारुकता नदेखाएको बताए । माओवादीको ध्यान सरकारतिर नभएको श्रेष्ठको दाबी छ । 

देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराउने र जनताको पक्षमा काम गराउन दबाब दिने प्रतिपक्षीको योजना रहेको उनले सुनाए । श्रेष्ठले वर्तमान सरकारले काम गर्न नसके लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बन्नेतिर जानुपर्ने बताए । तर, मुलुकका वर्तमान राजनीतिक पार्टीले समीक्षा गरेर आफूलाई बदल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

माओवादीले सरकारमा हुँदा तुलनात्मक रुपमा राम्रो काम गरेको दाबी श्रेष्ठको छ । अझै पार्टी बदलिनुपर्छ भनेर काम गरिरहेको उनले बताए । आफूहरु बामपन्थी एकताको पक्षमा भए पनि तत्काल त्यो सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । कम्युनिस्टहरूलाई मिलाउन चीनले भूमिका खेलिरहेको कुरामा कुनै सत्यता नभएको दाबी उनले गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.