गुन्डु गाउँमा मखमली टिप्ने र माला उन्ने चटारो
भक्तपुर : तिहार नदिकिँदै गर्दा भक्तपुरस्थित गुन्डुमा किसानहरू मखमली फूल टिप्न र माला बुन्न व्यस्त छन् । यतिबेला सूर्यविनायक नगरपालिकास्थित गुन्डुमा खेतबारी मखमली फूलले ढपक्क ढाकेको छ।
किसानहरूले मखमली फूल काठमाडौंलगायत उपत्यका बाहिर पनि पठाउने गर्छन् ।
भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुदै आएका छन् । वर्षेनी मखमली फूलको खेती हुदै आएका गुन्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेको किसानको भनाइ छ । उपत्यकामा खपत हुने धेरै मखमली फूल गुन्डु क्षेत्रकै उत्पादन भएको किसानहरु बताउँछन् ।
केहि किसानले विदेशमा समेत मखमली फूल निर्यात गर्ने गरेका छन् । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहँदै आएको छ ।