चाडपर्वको मौका छोपेर बेनी–पोखरा रुटका ट्याक्सीको मनोमानी

चाडपर्वको मौका छोपेर बेनी–पोखरा रुटका ट्याक्सीको मनोमानी
सुन्नुहोस्

बेनी : बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वको मौका छोपेर गरेको मनोमानी भाडा असुलीका कारण यात्रु पीडित भएका छन्। सरकारले बेनी–पोखरा सडकमा ट्याक्सीमा प्रतियात्रु आठ सय ५० रुपैयाँका दरले भाडादर निर्धारण गरेको छ। चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा तीन हजार चार सय रुपैयाँ भाडा तिर्नुपर्छ।

केही समययता ट्याक्सीले रिजर्भ गर्दा चार हजारदेखि छ हजार रुपैयाँ र रिजर्भ नहुँदा प्रतियात्रु एक हजार दुई सय ५०देखि दुई हजार रुपैयाँका दरले भाडा असुल्ने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गरे। दसैं तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेका उनले बताए। 

पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कको ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फूलबारीकी कृपा शर्मालाई ग १ ज ३३०३ नम्बरको ट्याक्सीका चालकले चार हजार भाडा दिए मात्र चढाउने प्रतिक्रिया दिएका थिए। ‘काउन्टरमा पालोका ट्याक्सीले नै खुलेआम तोकिएको भन्दा बढी भाडा नदिए नजाने भनेर धम्काए,’  शर्माले भनिन् ‘काउन्टरमा ट्याक्सी नराख्ने र त्यही रहेका दलाल मार्फत यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउने रहेछन्।’

८३ किलोमिटर दूरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सय बढी ट्याक्सी छन्। उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र व्यावसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीवासीले ट्याक्सी प्रयोग गर्छन्। कास्कीपछि गण्डकीमा धेरै ट्याक्सी प्रयोग हुने जिल्लामा म्याग्दी पर्छ। मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरूको चाप पनि बढेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सघाएको बताए। तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताए। बढी भाडा असुल गर्ने सवारी साधनलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ। तर बढी भाडा असुल गर्ने कति वटा सवारी साधनलाई कारबाही भएको भन्ने जानकारी म्याग्दी ट्राफिकले उपलब्ध गराउन सकेनन्।

बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिँदै आएको बेनी यातायातका सञ्चालक भोजबहादुर थापा (कुमार)ले तोकिएको भन्दा बढी भाडा नलिन व्यवसायीहरूलाई सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिवद्धता जनाए। गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ। 

उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरू मर्कामा परेको पाइएको बताए। यातायात व्यवसायी, प्रशासन र प्रहरीलाई गुनासोको बारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.