जिम्बावेले तोड्यो नेपालको सर्वाधिक रन बनाउने रेकर्ड
काठमाडौं : जिम्बावेले टी-२० क्रिकेटमा नेपालको रेकर्ड तोडेको छ। नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोडेको हो।
बुधबार गाम्बियाविरुद्धको खेलमा जिम्बावेले ऐतिहासिक ३४४ रन बनाएको हो। टस जितेर ब्याटिङ गरेको जिम्बावेले ४ विकेटको क्षतिमा ३४४ रन बनाएको हो। जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक १३३ रन बनाए। ४३ बलमा ७ चौका र १५ छक्का प्रहार गरेका राजाले ३३ बलमा सतक बनाए।
त्यस्तै तडिवानासे मरुमानीले ६२, ब्रियन बेन्नेटले ५०, डियोन माइर्सले १२ र र्यान बुरीले २५ रन बनाए। क्लभ मदन्दले अविजित ५३ रन बनाए।
टी-२० विश्वकपको अफ्रिका छनौटअन्तर्ग भएको खेलमा गाम्बिया ५४ रनमा समेटिए गाम्बियाका लागि अन्ड्रे जर्जुले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। जितसँगै जिम्बावे ८ अंकसहित शीर्ष स्थानमा छ। ८ अकंसहित नै केन्या दोस्रो नम्बरमा छ।
यसअघि गत वर्ष चीनमा सम्पन्न एसियन गेम्सअन्तर्गत मंगोलियाविरुद्ध नेपालले ३१४ रन बनाएर रेकर्ड कायम गरेको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरीले पनि ९ बलमा अर्धसतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए। उक्त खेलमा मंगोलिया ४१ रनमा समेटिएको थियो।