तिहार लक्षित ५ दिने फ्लोरा एक्स्पो हुँदै
काठमाडौं : फूलैफूलको पर्व मानिने तिहार नजिकिंदै गर्दा राजधानीमा तिहार फ्लोरा एक्स्पो २०८१ हुने भएको छ। ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले कात्तिक ९ गते देखि १३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो गर्ने भएको हो।
एक्सपोका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ। आयोजकका अनुसार मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहने छ।
एक्सपो अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेठ नागरिकका लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ। दोस्रो तिहार फ्लोरा एक्सपोको प्रवर्द्धक संस्थाहरूमा पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ भने विशेष सहयोगी कम्पनीहरूमा शलोम एग्रिकल्चर, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर र ग्रिस्मा नर्सरी रहेका छन्। मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ।
मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरू लगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने बताइएको छ।
मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ। संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराइ व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्र सहित सम्मान गर्ने बताएको छ।
संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जन तिहारलाई लक्षित गरि गोदावरी, मखमली लगायत नर्सरी फलफूल कृषि वन तथा जडीबुटीहरूको प्रदर्शनी गरिने बताइन्। यस्तै नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिना नर्सरी र नर्सरीजन्य उत्पादनको आयात र परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादनलाई वृद्धि गर्न र तिहारका अवसरमा हुने फूलहरूको आयात कम गर्न पाँच दिने बृहत् फूल तथा नर्सरीजन्य प्रदर्शनीले सहयोग पुग्ने दाबी गर्छन्।