पहिलो ३ महिनामा साढे ३ खर्ब व्यापार घाटा

पहिलो ३ महिनामा साढे ३ खर्ब व्यापार घाटा
सुन्नुहोस्

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा व्यापार घाटा गत वर्षको तुलनामा ३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ छ । गत वर्षभन्दा व्यापार घाटामा केही सुधार देखिएको छ ।

नेपालको अर्थतन्त्र लामो समयदेखि आयातित वस्तुमै निर्भर रहँदै आएको छ । जसले गर्दा निर्यातको हिस्सा कुल आयातको करिब १० प्रतिशत हाराहारीमा मात्रै हुने गरेको छ । नेपालले १ लाख रुपैयाँको आयात गर्दा १० हजार रुपैयाँ मात्रै निर्यात हुन्छ । जसले गर्दा नेपालले सधैं व्यापार घाटा बेहोर्नु परेको हो । समग्रमा चालु आवको ३ महिनासम्ममा मुलुकको आयात, निर्यात दुवै घटेको छ ।

समग्रमा आन्तरिक उत्पादन बढ्न नसक्दा बर्सेनि मुलुकले व्यापार घाटाको सामना गर्दै आउनु परेको छ । आयातको तुलनामा निर्यातको आकार बढ्न नसक्दा व्यापार घाटाको आकार सधैं ठूलो छ । तर, पछिल्ला केही महिना आयात थोरै घट्दा व्यापार घाटा पनि केही कमी आएको छ । तर, यसले खासै अर्थ राखेको छैन । स्वदेशी उद्योगको उत्पादनको क्षमता दिन प्रतिदिन घटिरहेको व्यवसायीको गुनासो छ ।

पेट्रोलियम पदार्थ, मेसिनरी र मेकानिकल उपकरण, विद्युतीय मेसिनरी र उपकरण, सवारी र त्यसका पार्टपुर्जा, प्लास्टिकका सामान, फर्टिलाइजर, औषधि उत्पादन, तरकारी, कपडा र लुगा, खाद्यान्न लगायतले कुल आयातको सबैभन्दा बढी हिस्सा ओगटेका छन् । यस्ता वस्तु ठूलो मात्रामा भित्रिँदा समग्र आयातको आकार फराकिलो हुँदै आएको छ । तथापी गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा संकुचन आएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आवको असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड हाराहारीमा सामान आयात भएको थियो । तर, आर्थिक वर्ष २०८१/८२ को ३ महिनासम्ममा आयात ४.१७ प्रतिशतले घटेको छ । नेपाल भित्रिएका वस्तु तथा सेवा आयातबाट ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । जसमा ६६ अर्ब ९१ करोडको पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ । यो आयातको सबैभन्दा धेरै हिस्सा हो । दोस्रोमा फलाम र स्टिल ३३ अर्ब ११ करोड रुपैयाँ बराबर आयात भएको छ ।

कोभिडयता देशभित्र उत्पादित उद्योग तथा कलकारखानाको उत्पादन क्षमतामा कमी आउँदा निर्यात पनि सुधार हुन सकेको छैन । गत आवको तुलनामा चालु आवको असोजसम्ममा निर्यात ६.११ प्रतिशतले घटेको छ । नेपालबाट गत वर्ष ३ महिनामा कुल ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । यसपटक निर्यात उक्त दरले घटेर ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । कुल निर्यातित वस्तुमा चिया, कफी, मसला, कार्पेट तथा गलैंचा, हस्तकलाका सामानले बढी हिस्सा ओगटेको छ ।

  •     ३ खर्ब ९० अर्ब आयात हँुदा निर्यात भने ३८ अर्ब ३७ करोड
  •     अझ आयात, निर्यात दुवैमा संकुचन
  •     पेट्रोलियम पदार्थमा मात्रै ६६ अर्ब ९१ करोडको आयात
  •     नेपालमा आयातित हुने कुल वस्तु तथा सेवामध्ये ६० प्रतिशतदेखि ६५ प्रतिशतसम्म भारतबाट आयात हुने गरेको छ।
  •     नेपालले हाल १ सय ३२ ओटा मुलुकबाट आवश्यक वस्तु तथा सेवा आयात गर्ने गरेको छ।

नेपालमा यस्ता वस्तु उत्पादनले निर्यातको आकार बढाएर विदेशी मुद्रा आर्जन गर्न सहयोग पुगेको छ । ३ महिनामा मात्रै चिया, कफी र मसलाबाट ३ अर्ब ४५ करोड २४ लाख बराबरको निर्यात गर्न सफल भएको छ । दोस्रो बढी निर्यात मानव निर्मित स्टेपल फाइबरबाट ३ अर्ब २५ करोड २२ लाख बराबरको भएको छ । तेस्रो ठूलो निर्यात कार्पेट र अन्य कपडा भुइँ कभरिङ शीर्षकमा छ । जसको ३ अर्ब ७ करोड ७९ लाख रुपैयाँ बराबरको भएको छ । यसबाहेकका वस्तुको निर्यात ३ अर्बभन्दा कमका छन् ।

बढी आयात–निर्यात भारतबाटै : १३२ मुलुकबाट आयात गर्दा सय देशमा निर्यात

नेपालमा आयातित हुने कुल वस्तु तथा सेवामध्ये ६० प्रतिशतदेखि ६५ प्रतिशतसम्म भारतबाट आयात हुने गरेको छ । चालू आर्थिक वर्षको ३ महिनासम्ममा भारतबाट मात्रै २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । यो कुल आयातको ६२ प्रतिशत हो । यसबाहेकका आयात चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख रुपैयाँ बराबरको भएको छ । यसैगरी क्रमशः युक्रेनबाट ६ अर्ब ५१ करोड ५८ लाख, अस्ट्रेलियाबाट ५ अर्ब ६१ करोड ६६ लाख, अर्जेन्टिनाबाट ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएका छन् ।

नेपालले हाल १ सय ३२ ओटा मुलुकबाट आवश्यक वस्तु तथा सेवा आयात गर्ने गरेको छ । निर्यात भने विभिन्न १ सय मुलुकमा गरेको छ । सबैभन्दा बढी निर्यात पनि भारतमै छ । जहाँ असोजसम्ममा २४ अर्ब ८५ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यसैगरी दोस्रोमा बढी निर्यात गर्ने मुलुक अमेरीका हो । नेपालले अमेरीकामा ३ महिनामा ४ अर्ब ७७ करोड ४३ लाख ४० हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । यसपछि क्रमशः नेपालबाट जर्मनीमा १ अर्ब २३ करोड, बेलायतमा १ अर्ब ३ करोड, जापानमा ५९ करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.