झापा दुर्घटना : पीडित पक्षसँग चार बुँदे सहमतिपश्चात् १२ घण्टापछि राजमार्ग सुचारु, १२ जना घाइते

झापा दुर्घटना : पीडित पक्षसँग चार बुँदे सहमतिपश्चात् १२ घण्टापछि राजमार्ग सुचारु, १२ जना घाइते
सुन्नुहोस्

झापा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ स्थित केर्खामा भएको दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु पश्चात् उत्पन्न विवाद १२ घण्टापछि साम्य भएको छ । 

पीडित पक्षसँग भएको चार बुँदे सहमतीपश्चात् अवरुद्ध बनेको राजमार्ग करिब १२ घण्टापछि सञ्चालनमा आएको हो। तनावपूर्ण स्थिति साम्य पार्न गए राति ९ बजेदेखि आज बिहान साढे २ बजेसम्म कमल ३ का वडाध्यक्ष अग्नि कोइरालाको घरमा भएको सर्वपक्षीय बैठकमा चार बुँदे लिखित सहमती भएको जनाइएको छ । 

सहमति अनुसार पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउन प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कारबाही लागि माग गर्ने, त्रिपक्षीय सहमतीलाई कार्यान्वयन गर्ने र कानुनी प्रक्रिया पूरा गर्नका लागि भइरहेको अवरोध हटाइ अगाडि बढ्ने सहमती गरिएको छ । 

सो बैठक कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा भएको थियो । उक्त सहमतीपश्चात् आज बिहान ३:५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ । 

हिजो साँझ काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा स्थानीय मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बू मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । 

मृतक बालिकाको जन्मदिन परेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्री बसले उनीहरूलाई ठक्कर दिएको थियो । बस र बस चालक शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

दुई वटा प्रहरी विटमा आगजनी, १२ प्रहरी घाइते 

दुर्घटनापछि तनावग्रस्त बनेको केर्खामा १० प्रहरीसहित १२ जना घाइते भएका छन् । आक्रोशित भीडले ढुङ्गा प्रहार गर्दा डियुटीमा खटिएका प्रहरी घाइते भएका हुन्।

घाइते हुनेहरूमा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ५ जना रहेका छन् । ढुङ्गाले लागेर घाइते हुनेहरूमा नेपाल प्रहरीतर्फ प्रहरी सहायक हवल्दार नवीन गडतौला, प्रहरी सहायक हवल्दार सुमित्रा कार्की, प्रहरी जवान सुजन बिक, प्रहरी सहायक निरीक्षक शिवशक्ति राई र प्रहरी सहायक हवल्दार विजय विश्वकर्मा रहेका छन् । त्यस्तै सशस्त्रतर्फ सशस्त्र प्रहरी हवल्दार रमेश खत्री, सशस्त्र प्रहरीहरू जवान उपेन्द्र यादव, प्रकाश चौहान, महेश यादव र कृष्ण भुजेल भएका छन् । 

त्यस्तै सर्वसाधारणतर्फ दुईजना घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गर्दै गरेका बुद्धशान्ति –६ बस्ने ३३ वर्षीय नवराज गौतम र सोही मोटरसाइकलमा सवार उनकी श्रीमती ३२ वर्षीया कविता घिमिरे गौतम घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै अक्रोशितहरुले केर्खा ट्राफिक बिट र नेपाल प्रहरी बिट जलाउँदा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै प्रहरी चौकी केर्खामा रहेको सिसिटिभीको मनिटर ६४ इन्चको २ थान पूर्ण रुपमा फुटेको छ भने प्रहरी चौकी केर्खाको कार्यालय भवनको झ्यालको १६ वटा सिसा पूर्ण रुपमा फुटेको छ । कार्यालय कक्षको टेबल सिसा एक थान, गेटमा भएको प्रहरी चौकी केर्खा लेखिएको डिजिटल बोर्ड एक थान तोडफोड भएको छ ।

त्यस्तै कार्यालय कम्पाउन्डमा राखिएको कमल गाउँपालिकाको दमकलको अगाडीको सिसा र कार्यालय अगाडी राजमार्ग सुरक्षामा राखिएको दुई वटा सिसी क्यामेरा फुटाएका छन् । त्यस्तै प्रहरी सहायक निरीक्षक शिवशक्ति राईले बोकेर गएको डीएसएल क्यामेरा भीडले तानी तोडफोड गरेको छ । 

ठक्कर दिने प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको बसको अगाडिको सिसा फुटेको छ भने दायाँ र बायाँपट्टिको सिसा सबै फुटेको छ । त्यस्तै मे १ ख २७४४ नम्बरको न्यु सूर्योदय यातायातको बसको दायाँ र बायाँपट्टिको २० वटा झ्यालको सिसा फुटेको र प्रदेश १–०१–००१ ख ४०३७ नम्बरको बसको बायाँ साइडको पछाडिको २ वटा झ्यालको सिसाहरू फुटेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २९ सेल अश्रुग्याँस प्रहार गरेको थियो । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्याँस प्रहार गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.