सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा नख्खु खोलाको पानी ल्याइयो
काठमाडौं : बाढीले मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ । बाढीले ललितपुरको नख्खु खोलामा बगाएको ४०० एमएमको करिब २५० मिटर नयाँ पाइप जडान गरि आज बिहान सुन्दरीघाट पानी प्रशोधन केन्द्रमा पानी ल्याइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार प्राविधिकलगायतको टोलीले आज बिहान पानी ल्याउन सफल भएको हो। बाढीका कारण फोहर भएको खानेपानीका टयाङ्की सफा गरी तत्काल पानी प्रशोधन गरेर वितरण गरिने उनले बताए।
यस अगाडि खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप तत्काल नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएका थिए।
अहिले सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा दैनिक ६५ लाख लिटर पानी आइरहेको छ।