चीन जोड्ने कोदारी राजमार्ग २६ दिनपछि सञ्चालन, तातोपानी नाका हुँदै भित्रन थाल्यो कन्टेनर

चीन जोड्ने कोदारी राजमार्ग २६ दिनपछि सञ्चालन, तातोपानी नाका हुँदै भित्रन थाल्यो कन्टेनर
सुन्नुहोस्

सिन्धुपाल्चोक : चीन जोड्ने कोदारी राजमार्ग २६ दिनपछि सञ्चालनमा आएको छ। असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो।

अविरल वर्षाले भोटेकोशी नदीको बेलिब्रिज र लिपिङ खोलाको पुल बगाएपछि नेपाल–चीन जोड्ने तातोपानी नाकासँग सडक सम्पर्क टुटेको थियो। सडक डिभिजन, स्थानीय सरकार र तातोपानी नाकामा क्रियाशील व्यापारीको लगानी र दिनरातको खटाइपछि सडक खुलाइएको हो। बाढीपहिरो गएको १० दिनभित्रै ह्युमपाइप हालेर सडक सञ्चालन गरिए पनि कोप्लाङ र कोदारीको पहिरो पन्छाउन बढी समय लागेको थियो। 

पहिरोले बगाएको सडक मर्मत भएसँगै बिहीबारदेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए। ‘लिपिङ खोलामा गएको पहिरो पुरिएको छ, योबीचमा कुनै समस्या नआएमा पूर्ण रुपमा सडक सञ्जाल सञ्चालनमा आउने छ’, उनले भने, ‘अहिले अस्थायी मात्र हुने गरी काम भएको छ। यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्छ।’

क्षतिग्रस्त बाटोलाई अस्थायी रूपमा मर्मत सम्भार गरी गाडी आवतजावतका लागि तयार पारिएको काफ्लेले बताए। १० किलोबाट ढुंगागिटी र बालुवा लगेर पहिरो पुरेर सडकको लेबल मिलाइएको उनको भनाइ छ। राजमार्ग आसपासका सडकमा धेरै समस्या रहेको हुँदा जुनसुकै बेला अवरुद्ध हुने अवस्था रहेकाले जोखिम अझै हटिनसकेको काफ्लेले बताए।
 
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ खोलामा ह्युमपाइप राखेर २० मिटर खाल्डो पुरेपछि कोदारी सडक मित्रराष्ट्र चीनसँग जोडिएको हो। सडक सुचारु भएपछि तातोपानी नाकाबाट मालबाहक कन्टेनर धमाधम भन्सार यार्डमा आउन थालेका छन्। 

तातोपानी नाका सञ्चालन भएसँगै केरुङमा रहेका ४० कन्टेनर फलफूल र रेडिमेड सामान खासा ल्याउन लागिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजूले बताए। केरुङमा गोदाम गरिएका र कन्टेनरमा लोड गरिएका फलफूल कुहिएको गन्ध बाहिरै आउन थालेपछि व्यवसायीले कन्टेनर खासातर्फ फर्काउन लागेका हुन्। 

भन्सार नाका अवरुद्ध भएपछि चीनबाट सामान ल्याएर व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरू ठूलो नोक्सानी व्योहोर्न बाध्य भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए। कार्कीले व्यापारीहरूले भोगेको नोक्सानीको यकिन नभएपनि अस्थायीरूपमा बाटो खुलेबाट व्यापारीहरूलाई केही राहत मिलेको महशुस भएको बताए।

तत्कालका लागि अस्थायी रूपमा बाटो निर्माण गरी यातायात खुलाउने काम भए पनि यसको स्थायी उपाय खोज्न नेपाल हिमालय सीमापार वाणिज्य संघले सरकारसँग माग गरेको छ। 

लिपिङखोलामा हाल्न ल्याइएको बेलिब्रिज फाउन्डेशन तयार पारेर सकभर छिटो जडान गर्ने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ। बेलिब्रिजको फाउन्डेशन तयार गर्न लिपिङ वारिपारि रहेका दुईवटा घर भत्काइएको छ। सडक निर्माणमा स्थानीय सरकार, तातोपानी नाका भएर व्यापार गर्ने संघसंस्था र ट्रान्सपोर्ट कम्पनी क्रियाशील छन्। 

तिहारको सामान आउने

दसैंका लागि चीनबाट काठमाडौं ल्याउन लागिएका लत्ताकपडा तथा फलफूल बोकेका ट्रक र कन्टेनर राजमार्ग अवरोधका कारण खासामै रोकिएका थिए। तर तिहारको सामान ल्याउने तयारी भइरहेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीले बताए। ‘दसैंमा सामान भित्राउन नसके पनि तिहारमा नयाँ सामान दिने योजना हाम्रो छ’, उनले भने– ‘दसैंका लागि चीनबाट ल्याइएका फलफूललजन्य मालसामान कुहिएर खेर गयो, जसका कारण व्यापारीहरूले धेरै नोक्सान बेहोर्नु पर्‍यो। अब त्यस्तो हुन नदिने प्रयत्न हाम्रो रहने छ।’ 

दसैंको मुखमा सडक अवरोध भएपछि केही फलफूल भरिया लगाएर ल्याइएको भएपनि धेरै परिमाणमा सामान उतै अड्किएको कार्कीको भनाइ छ। फलफूल लगायतका कुहिएर जाने मालवस्तुका अतिरिक्त अन्य मालवस्तु निर्धारित समयमा नआइपुग्दा ती वस्तुको लागत बढ्ने भएर पनि व्यापारीहरूलाई नोक्सानी भएको वाणिज्य संघको तर्क छ। तर अब तिहारका लागि झिकाइएका झिलिमिली बत्तीका सामान र फलफूलको ल्याउन थालिएको उनले बताए।

चीन क्षेत्रको सडकमा कति गाडी रोकिएका छन् भन्ने यकिन तथ्यांक भन्सार कार्यालयसँग नरहेको जनाइएको छ। यद्यपि खासाभन्दा माथि ७० देखि ८० वटा र खासामुनि १५ देखि २० वटा गाडी रोकिएको अनुमान छ। सडक सञ्जाल जोडिएसँगै रोकिएका गाडीलाई पहिलो चरणमा पार गराउने र पछि अन्य गाडी पनि विस्तारै भित्राउने भन्सार कार्यालयको तयारी छ। नाकाबाट फलफूलजन्य सामान, लत्ताकपडा र विद्युतीय सामान आउने गरेको छ। 

भूकम्पपछि लगातार चार वर्ष पूर्ण रूपमा बन्द भएको तातोपानी नाकाबाट हुने व्यापार दुई वर्षयताबाट बढ्दै गएको थियो। सरकारले चालु वर्षमा तातोपानी नाकाबाट २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।  ‘विपद् नभएको भए लक्ष्य पूरा हुने थियो’, भन्सार अधिकृत काफ्लेले भने– ‘लक्ष्यअनुसार दैनिक सरदर १ अर्ब ८० करोड राजस्व संकलन गर्नुपर्ने भन्सार झण्डै एक महिना सुनसान बन्यो।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.