महोत्तरीमा २८ लाख बढीको सामग्री बरामद
महोत्तरी : भन्सार छलेर नेपालतर्फ ल्याइरहेको अवस्थामा महोत्तरी प्रहरीले लाखौंको सामग्री नियन्त्रणमा लिएको छ। जिल्लाको सम्सी गाउँपालिका-४ र एकडारा गाउँपालिका-३ कोल्हुवा वगेवाबाट प्रहरीले २८ लाख १२ हजार ३ सय ६० रुपैयाँ बराबरको सरसमान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सम्सी गाउँपालिका-४ बाट प्रहरीको गस्ती टोलीले ७४ बोरामा प्याक गरी राखेको लसुन बरामद गरेको हो। सो लसुनको मूल्य २ लाख ३२ हजार ३ सय ६० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै प्रहरीको टोलीले एकडारा गाउँपालिका कोल्हुवाबाट ३ सय १० थान कार्टुनमा प्याक गरी राखिएको डिस्पोजल ग्याँस लाइटर बरामद गरिएको हो। जसको मूल्य २५ लाख ८० हजार रहेको प्रहरी स्रोतले जनाएको छ।
बरामद गरिएको उक्त समानहरू उपर आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जैसवारले बताए।