कोशीमा कांग्रेसको भागको मन्त्रालय कांग्रेसलाई नै जिम्मा

कोशीमा कांग्रेसको भागको मन्त्रालय कांग्रेसलाई नै जिम्मा
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई।

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा नेपाली कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसलाई नै जिम्मा लगाएका छन्।

कांग्रेसबाट भूपेन्द्र राईले २ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। राई यसअघि एउटा मात्रै मन्त्रालयको जिम्मेवारीमा थिए। कांग्रेसभित्रको आन्तरिक विवादका कारण डा. शेखर कोइरालाले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री कार्कीले कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसकै मन्त्रीलाई जिम्मा लगाएका हुन्। 

कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री राईलाई बिहीबार जिम्मा लगाइएको छ। राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यसअघि उनी भौतिक पूर्वाधार विकासमन्त्रीमात्रै थिए।

स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेका थिए। ‘स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेका कारण सरसल्लाहमै उहाँहरूलाई दिइएको हो,’ कार्कीले भने, ‘यति भएपछि सरकारले पूर्णता पनि पायो।’ मुख्यमन्त्रीनिकट स्रोतका अनुसार कांग्रेसको कोइराला समूहले गुनासो गरेपछि कांग्रेसको भागको मन्त्री कांग्रेसलाई नै जिम्मा लगाइएको हो। 

‘उहाँहरूले नाम पठाउन सक्नु भएन। नपठाएपछि अर्काको भागको मन्त्रालय धेरै समय किन राख्नु? भन्ने मुख्यमन्त्रीलाई लागिरहेको थियो। आन्तरिक भागबन्डाको विषय अब उहाँहरूले नै मिलाउनुहुन्छ,’ स्रोतले भन्यो। कांग्रेस र नेकपा (एमाले)को नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा दुवै दलले १-१ वटा राज्यमन्त्री पाउने सहमति भएको थियो। कांग्रेसको भागमा परेको ४ मध्ये २ मन्त्रालयमा डाक्टर कोइरालाले दाबी गरे। 

एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूह सहमत भएन। मन्त्रीको नाम पठाएन। कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए।

डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएसँगै एमालेबाट मुख्यमन्त्री बनेका कार्कीले सम्हाल्दै आएको मन्त्रालय कांग्रेसलाई नै जिम्मा लगाइएको हो। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए। दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए। यता कोइराला समूह भने दुईवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताउँदै आएको छ।

कोशीमा एमालेबाट मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरुमध्ये आर्थिक मामिला तथा योजनामा रामबहादुर मगर, सामाजिक विकासमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा उर्जामा एकराज कार्की र आन्तरिक मामिला तथा कानुनमा लिलाबल्लभ अधिकारी छन्। 

कांग्रेसबाट भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमा खगेनसिं हाङगाम र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डल रहेका छन्। राज्यमन्त्रीमध्ये एमालेकी सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कांग्रेसका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.