पुस्तक यात्रा : क्वीन्सब्रिज पार्क न्यूयोर्कदेखि इटहरीसम्म
अमेरिकी प्रसिद्ध लेखक उपन्यासकार जर्ज आरआर मार्टिनले भने, 'एक पाठक मर्नुअघि हजारौं जीवन बाँच्छन्। कहिल्यै नपढ्ने मान्छे एउटै मात्र जीवन जिउँछ।'
एक वर्षअघि 'नेपालका सुरुङ युद्ध, रत्नकुमार बान्तवाको संघर्ष र बलिदानको वृत्तान्त' पुस्तक मञ्जरी पब्लिकेशनद्वारा प्रकाशनपछि नै हामी लेखक अर्जुन उप्रेती जी र म निकै खुशी भयौं। वर्षौंपछिको मेहनत र प्रतीक्षाको परिणाम पुस्तक हाम्रो हातमा थियो। नेपालमा सुरुङ युद्धको नाममा रत्नकुमार बान्तावाको जीवनी एक दशकको मेहनतपछि हाम्रो सामु पुस्तकको रूपमा हेर्न पाउँदा ठूलै युद्ध जितेको महसुस भएको थियो। भलै हामी सिद्धहस्त कहलिएका लेखक थिएनौं तर पनि हामी लेखककै सपनाबाट उत्प्रेरित त्यो प्रहर रत्नकुमार बान्तावाको पुस्तकमा बाँचेको जीवनको खुसियालीमा रमेको थियौं। भलै अर्जुन जी भौगोलिक रूपमा नेपालको जाज्वल्यमान शहर इटहरीमा प्राध्यापनमा व्यस्त थिए, म भने सात वर्षदेखि न्युयोर्कको ज्याक्सन हाइट हाजीरामा व्यस्त।
हामीले फेसबुकको आफ्नो भित्ताहरूबाट खुशी सार्वजनिक गर्यौं। हामीसँग त्योभन्दा बढ्ता अरु कुनै साधन नै थिएन। केही आफ्ना चिनेजानेका पत्रकार साथीहरूको हातमा पुस्तक थमाएर पढ्न अनि आम पाठकहरूको लागि लेखिदिन अनुरोध गर्यौं। मित्र पत्रकारहरूले माया र सम्मानमा पुस्तक प्रकाशनको बारेमा लेखिदिए। यतिकैमा पनि आनन्द भइरहेको थियो। अझ बाँकी जीवनको सुन्दर रफ्तार छँदै थियो। राम्रै काम गरिएछ भन्ने मनमा थियो। अनलाइन समाचार र फेसबुकको चर्चापछि पुस्तकको बारेमा निक्कै सोधी खोजी फेसबुक मै भयो। कहाँ पाइन्छ ? प्रश्नहरूले म्यासेन्जर अनि फेसबुक भरिएको थियो। यही मौकामा न्युयोर्कमा किराँत राईहरूको वार्षिक कार्यक्रममा पनि पुस्तकले प्रवेश पायो।
पुस्तक यात्रामा न्युयोर्क क्विन्सब्रिज पार्क
“नेपालमा सुरुङ युद्ध रत्नकुमार बान्तावाको संघर्ष र बलिदानको वृत्तान्त” चर्चा अनलाइनबाट बाक्लै भएपछि २०२४ को मे महिनाको २६ तारिख किराँत राईहरूको उभौली सांस्कृतिक कार्यक्रम न्युयोर्क क्वीन्सब्रिज पार्कमा भएको थियो। आयोजक चिनेका भाइले 'दाजुको भर्खरै प्रकाशित रत्नकुमार सम्बन्धी पुस्तक पनि कार्यक्रम राखौं है ' भने। यो सुनेर सात वर्षको न्युयोर्क बसाइमा मभित्र उम्रिएको नयाँ लेखक हुनुको मन कसो मोहित नहोला र ? भाइले थपे ,'नेपालबाट पनि केही पुस्तकहरू मगाइरहेका छौं। साथै राख्नुपर्छ विक्री पनि हुन्छ।'
पुस्तक किराँत राईहरूको साकेला उभौलीमा राख्दा सांस्कृतिक महोत्सव त भयो नै त्यसमाथि पुस्तक पनि राखिने भएकोले अझ बौद्धिक अनि भव्य हुन्छ। अझ साकेला संस्कृतिमा पुस्तक प्रदर्शनी वा बिक्री हुनु बहुआयामिक पनि हुने भन्ने कुा भयो। मन पनि फुरुङ भयो। पुस्तकले मानौँ आफ्नै जात भेट्टायो। 'हो त नि। आफ्नै समुदायमा कतिले खोजी रहेका होलान् रत्नकुमार बान्तावाको जीवनको बारेमा बुझ्न, तर पाइरहेका छैनन्' रत्नकुमार बान्तावा न्युयोर्कको साकेलामा भव्य सजिनेछ वा अझ भनौं बिक्री हुनेछ। केही चिनेजानेका मेरो विद्वान मित्रहरूले पुस्तक उक्त कार्यक्रममा राखिँदा गज्जब नै हुने प्रतिक्रिया दिए। अझ आयोजक भाइले मलाई लेखक भनेर चिनेर नै अनुरोध गरे।
पुस्तक निकालेको फेसबुकका केही जिग्रीहरूलाई थाहा छ अरु कसैलाई थाहा छैन। पुस्तकको बारेमा म निक्कै उत्साहित थिएँ। पुस्तक जहाँ राखिनु पर्ने हो, त्यहाँको म आफैं सदस्य पनि भइसकेपछि न्युयोर्कका किराँत राईहरूको कार्यक्रममा २० प्रति पुस्तक त हाताहाती कसो नजाला ? जान्छ भन्ने मेरो अनुमान थियो। यतिले पुगेन भने घरमा केही थान छ ट्रेनमा कुदेर गएर ल्याउनु पर्ला भन्ने योजना मनमा बनाइसकेको थिएँ।
कार्यक्रम भव्य सम्पन्न भयो। १० डलर दाम राखेको त्यो पुस्तक साँझ पखसम्म यौटा मात्रै बिक्री भयो। कसले किन्यो ? त्यो पनि थाहा भयो। ग्राहक जो मेरै पुरानो न्युयोर्क कै रुममेट थिए। म उसको उदारताको लागि अनुग्रहित भई अलि बढ्तै मुस्कुराएँ। मैले सोधें, “किनेछौ खुशी लाग्यो ?” भनी नसक्दै उसले भन्यो, 'हैट कसैले किनेन अनि लाजै भो नि यार तिम्रो पुस्तक त्यही भएर मैले किनेँ। त्यो पनि तिम्रो भनेर।” उनको इमानदार जवाफले गालामा अप्रत्यासित शक्तिशाली झापड भेटेको अनुभूतिले रनन हुने गरी फ्रेस भएँ। भलै त्यो दिन मेरो टाउकोदेखि पाइतालासम्म गलेको दिन थियो।
उक्त क्वीन्सब्रीज पार्कमा भएको साकेला उभौली कार्यक्रममा मेरो लगायत नेपालबाट लेखक नाम चलेका लेखकका किताबहरू पनि थिए जो किराँत राई सांस्कृतिक र मुन्धुमसँग सम्बन्धित नै थिए। जो विक्री भए भन्ने मलाई लाग्दै लागेन किनकि त्यहाँ लेखकको उपस्थिति थिएन। म नव लेखक मात्रै थिइँन किराँत राई सोसाइटी अमेरिकाको यौटा सदस्य पनि थिएँ। जम्मा जम्मी यौटा विक्री भयो। त्यो पनि कसैको दयामा परेर। “यौटै विक्री भएन अब त लाजै हुन्छ।” भनेर किनेको साथीको इमानदार प्रतिक्रिया पाउँदा चकमन्न लागेको भएको थियो । ह्यारी पोटरका सिरीज, बेलायती लेखक जेके रोलीङले भनेको पनि सम्झिएँ, 'यदि तपाई पढ्न मन पराउनुहुन्न भने तपाईंले सही पुस्तक फेला पार्नु भएको छैन।' सायद रत्नकुमार बान्तावाको जीवनी भनेर लेखेको पुस्तक ती साथी पाठकको लागि हुँदै हैन। अझ यसरी भनौं, यो अहिलेको हाम्रो समाजको वास्तविक छायाँ चित्र पनि थियो।
त्यो पुस्तक पढ्नको लागि किनिएको थिएन। कसैले नकिनेपछि किनिएको थियो, कसैको मन राख्नका लागि मात्रै किनिएको थियो। किनेर पढ्छु पढेपछि प्रतिक्रिया दिने हिसाबले नकिनिएको प्रष्ट भएपछि मनमा कोही त छ इमानदार रहेछ भन्ने लागेको थियो।
फेसबुक, ट्वीटर, टिकटक, इन्साटाग्राम, युट्युबहरूको सन्जालमा जाबो यौटा पुस्तकको दुर्घटनामा मृत्यु भए जतिकै भयो। जो असली पाठकको हातमा पुग्नै सकेन। सायद यति बेला त्यो पुस्तक कतै दुर्गन्धित कुनाको साङ्लेहरूको बासस्थानमा परिणत भइसक्यो होला। तर फेरि पुस्तकप्रति मेरो भने अगाध विश्वास छ। भर्जिनिया वुल्फले भने जस्तै “पुस्तकहरू आत्माको दर्पण हुन्।”
पुस्तकको नेपाल यात्रा
अमेरिका न्युयोर्क बसाइको लामो सात वर्षपछि एक महिनाको लागि नेपाल जाने साइत जुर्यो। म न्युयोर्क मै हुँदा धरानका विद्रोही मित्र पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋशी राईले पुस्तक वार्ता कार्यक्रमको खाका बनाइसकेका थिए। मित्र लेखक अर्जुन उप्रेतीको पनि इटहरीमा भव्य पुस्तक सम्बन्धी कार्यक्रम गर्ने योजना थियो। लगभग दुई कार्यक्रम तय थिए। काठमाडौंमा पनि गर्ने कि भन्ने सम्म हाम्रो दुवैको मत सकारात्मक थिए तर कसरी गर्ने मेसो थिएन।
रत्नकुमार बान्तावाको डकुमेन्ट्री “सेक्रिफाइस नेभर डाइस” १० वर्षअघिको निर्माणको क्रममा इलामतिरको यात्रासँगै अर्जुन उप्रेतीसँग पुस्तकको यात्रा सुरुवात भइसकेको थियो। हाम्रो मित्रताको २५ वर्षको इमानदार दस्तावेज पनि हो यो पुस्तक। हामीले भनेका थियौं, 'यौटा डकुमेन्ट्री अनि यौटा पुस्तक।' “सेक्रीफाइस नेभर डाइस” रत्नकुमार बान्तावाको डकुमन्ट्री सन् २०१५ को अन्त्यतिर निस्कियो। हामीले सँगै काम गरेका थियौं । राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रदर्शन पनि भयो। तर बाँकी थियो पुस्तक। पुस्तक प्रकाशकको लागि नौ वर्ष कुर्नुपर्यो। पुस्तकको पाण्डुलिपि लेखिसकेपछि प्रकाशनको माया र छायाँमा करिब पाँच वर्ष भौतारिनु पर्यो। यसको कथा छुट्टै बन्छ। आज चै नेपालतिरको पुस्तक यात्रामा निस्कौं।
पुस्तक यात्रा विराटनगरमा
अमेरिकन कर्नर विराटनगरमा अमेरीकन लायब्रेरी अफ कंग्रेसको कार्यक्रम अगष्ट १२ मा थियो। पुस्तक पुर्याउने कार्यक्रममा हाम्रो पुस्तक पुर्याउनु थियो। अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारबाद र नेपालको मिश्रित व्यवस्थाविरुद्ध आवाज उठाउँदै गर्दा सहिद भएका कम्युनिस्ट जीवनको खोजमुलक पुस्तक हातमा बोकेर कमरेडी शैलीमा हामी दुबै कार्यक्रममा पुग्न हतारिएका थियौं। हतार हतार, सहिद मार्ग तीन पैनी स्थित अमेरिकन कर्नरको कार्यालय ठिक १ बजे पुग्यौं।
विराटनगरमा अमेरिकन कर्नर खुलेको दुई दशक भइसकेको रहेछ। यो अमेरिकी दूतावास काठमाडौं र मोरङ उद्योग चेम्बरको सहकार्यमा सन् २००३ मा स्थापना भएको रहेछ। यसले अमेरिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, जीवनको बारेमा नेपाली जनलाई जानकारी दिँदो रहेछ। अमेरिकाको इतिहासको बारेमा नेपालीलाई बुझाउन पुलको काम अमेरिकन कर्नरले गर्ने रहेछ।
वासिंङटन डीसीमा रहेको संयुक्त राज्य अमेरिकाको कंग्रेस पुस्तकालय सन्सारको सबैभन्दा ठूलो पुस्तकालय हो। जसमा लाखौँ पुस्तक, चलचित्र र भिडियो अडियो, फोटो , समाचार पत्रिका , नक्सा र पाण्डुलिपिहरू समावेश छन्। नेपालको बारेमा छापिएको पुस्तकहरू पनि किन्ने अनि संकलन गर्ने काम लाइब्रेरी अफ कंग्रेसको रहेछ। अमेरिकन कंग्रेस लाइब्रेरीले, पुस्तक लिन कै लागि भनेर अमेरिकन कर्नर विराटनगरमा लेखकहरूलाई आफ्नो पुस्तकसहित निम्तो गरेका रहेछन्। लाइब्रेरीका प्रतिनिधि अमोद भट्टराईले अमेरिकन लाइब्रेरीको बारेमा जानकारी दिएपछि हामीले पुस्तक उनैको हातमा दियौं। उनले भने, 'यो पुस्तक त किनेर वासिङ्टन डीसी पठाई सकियो।' जुन काम गर्न आएका थियौ यो त पहिल्यै भइसकेको रहेछ। हाम्रो पुस्तक अमेरिकन लाइब्रेरी अफ कंग्रेसमा उहिले पुगिसकेको अमोद भट्टराईले जानकारी गराइसकेपछि हामी दंगदास थियौं।
आहा हाम्रो पुस्तकको चासो अमेरिकाको लाइब्रेरी अफ कंग्रेसलाई पनि रहेछ। केही वर्षअघिसम्म अमेरिकी साम्राज्य मुर्दावाद भन्दै मुठ्ठी कसेका यी हातहरू, कम्युनिस्ट पात्रकै जीवनी बोकेर अमेरिकन लाइब्रेरी अफ कंग्रेसलाई पुस्तक बुझाउन झन्डै विराटनगरको ४२ डिग्रीको गर्मीमा हामी उभिएका थियौं। पुस्तक दिनु नपर्ने भयो। प्रिय लेखक सीमा आभाससँग त्यही कार्यक्रममा भेट्यौं। उहाँलाई नै पुस्तक उपहार दियौं। अनि पढेर प्रतिक्रिया फेसबुकमा भए पनि लेखिदिन अनुरोध गर्यौं र फोटो खिचायौं।
पुस्तक वार्ता धरानमा
धरान नामै काफी छ धरानसँग प्रेम हुनुमा। पूर्वको “संघाई” नामले प्रसिद्ध कम्युनिस्टहरूको विचारको कारखाना सिद्धान्तको हिमायती भनेर देखेकै हो धरान। अझ लाहुरेहरूको मायावी सपनाको शहरको पहिचान बनेको थियो कुनै बेला धरान। आजकल धरानमा लाहुरे भेटिन मुस्किलै पर्छ केही सपनाहरूको थपनामा फेरि लाहुरेहरूको दोस्रो पुस्ता पनि बेलायत सरिसके। अनि धरानमा धराने सिद्धान्तनिष्ठ कम्युनिस्ट पनि बिरलै भेटिन्छन्। सद्धे कम्युनिस्टहरू कि जेलमा छन् अहिले सामाजिक बहिष्कारको सिकार भएर एकान्त अमुक जीवन बाँचिरहेका छन्।
अनि धरानमा पुस्तक पसल भेटिन मुस्किल रहेछ। भट्टी पसल त गोजीको आकार अनुसारको प्रकार भेटिन्छन्। पत्रिका र पुस्तकहरूको उपस्थिति न्युन भएपछि पत्रिका र पत्रकारहरू पनि अलमलमा रहेछन्। धरानमा सभा, सेमिनार र गोष्ठीमा भेला हुने मानिसहरू पनि भेटिन छाडेको रहेछन्। यस्तै बेला धरानमा पुस्तक वार्ता गरौं भनेर पत्रकार मित्र जनकऋषि राई तीन महिनाअघिदेखि तयार भएका थिए। पुस्तक वार्तामा जनक जी आफैं संयोजन गर्न तयार छन्। कार्यक्रमको लागि हल तयार छ। दुई युवा पाठक तथा युवा नेताहरू ताजुब लिम्बु अनि सुनिता किराँती “सी” बोल्न तयार छन्।
ताजुब लिम्बु धरानको अहिलेको जल्दा बल्दा चर्चित युवा नेता हुन्। सुनिता किराँती सी संखुवासभाबाट प्रतिनिधित्व गर्ने अखिल क्रान्तिकारीबाट राजनीति जीवन सुरुवात गरी नेकपा माओवादी हुँदै हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय प्रतिनिधि सदस्य तथा समाजवादी किराँत मुक्तिमोर्चाको संयोजक हुन्। अरुण ३ आयोजनामा बम विस्फोटन गराएको आरोपमा तीन वर्ष जेल जीवन बिताएकी सुनिता किराँती यो देशको जल्दो बल्दो युवा नेता हुन्।
हामी दुबै लेखक अनि दुई युवा नेताहरू पुस्तक वार्तामा बस्न तयार छौं। जनक जीलाई मैले भने मान्छे आउँछन् त ? भनेर सोध्दा “ किन नआउने ? हामीले पाठक तयार गर्नुछ। ईमान्दार पाठक।” भनी जनक जीले सटिक जवाफले मेरो शंकाको भूत कति उतारिदिएका थिए।
फेरी जनक जी ले थपे 'जति जना आउन्, एकै जना किन नहुन् त्यो एक जना हाम्रो असलमा पाठक हुन्।' नेपालमा पाठक छैन अभाव छ भन्छौ। हामीले पाठकलाई कहिले इमानदार लेखक भएर प्रभाव पार्यौं। पाठक हुनु भनेका लेखकको प्रेममा पर्नु नै हो। हामीले प्रेमी भएर कहिले लेखेनौं। हामीले कहीले लेखनलाई प्रेम अनि पाठकलाई प्रेमी ठानेर विश्वासको पुल निर्माण नै गरेनौं। पाठ्यपुस्तकको घोकन्ते सिद्धान्तभन्दा पर पुस्तकप्रतिको प्रेमलाई हृदयको आवाज नै बनाउन चाहेनौं।
पुस्तक वार्ता कार्यक्रममा पाठक आउँछन् भन्नेमा म विश्वस्त भने थिइनँ। अहिले पनि न्युयोर्कको किराँत राई सोसाइटी अफ अमेरिकामा विक्री भएको एक प्रति पुस्तक र त्यसमा पाएको प्रतिक्रियाले घरी-घरी तर्सिरहेको थिएँ। जनकऋशी जीको जनसम्पर्कको कमाल नै भनौं, शब्द यात्राको आयोजनामा, भदौ १४ गते पुस्तक वार्ताको दिन धरानको ९ स्थित होटल रत्न इनको हल भरिएको थियो। तीन युवाहरू मञ्चमा थिए। बाँकी सबै दर्शक, सबै आउनेलाई स्वागत गरियो। पुस्तक वार्ता ठिक समयमा सुरु भयो। पाहुनाहरू आउँदै थिए। कार्यक्रममा तीन युवा नेताहरू सुनिता किराँती सी, ताज्जुब लिम्बु र जनकऋषि राई पुस्तकको विषयमा बौद्धिक मन्थन गरिरहेका थिए। पुस्तक वार्ता ४५ मिनेटबाट बढेर एक घन्टा हुँदा पनि दर्शक पाहुना गज्जबले श्रव्यदृश्यको मजा लिइरहेका थिए। कार्यक्रमपछि छोटो पाठक र लेखकबीच पनि शालीन प्रश्नोत्तरहरू भए। पुस्तकको वार्ता थाहा नपाइ समाप्त भयो।
धरानको शालीन पाठकहरू फेरि एक ठाउँमा धेरैपछि भेटेर होला कार्यक्रम पछि पनि अत्यधिक गर्मीको बावजुत पनि कार्यक्रम हलमा पाहुनाहरू आआफ्नो गफमा मस्त थिए। धरानमा बौद्धिक पाठकको बलियो उपस्थिति देखेको केही सहभागीहरूले प्रतिक्रिया दिएपछि अनि मनलाई केही शान्त भयो। फेरि पनि प्रकाशन हाउसका बजार प्रमुखलाई उक्त स्थानमा पुस्तक विक्रीका लागि हामीले अनुरोध गरेका थियौं। पुस्तक पसललाई पनि भनेका थियौं। धरानका पुस्तक पसले अनि प्रकाशन गृहका बजार प्रमुखले किताबको माग पुर्याउन सकेनन्। उनीहरू यो दुनियाँको सबैभन्दा बोरिङ जिन्दगी बाँच्ने जीवित मानिसहरू हुन् जस्तो लाग्यो। पुस्तक वार्तामा पुस्तक किन्न नभेटिनु अनि पुस्तकको माग बढ्नुले पुस्तक वार्ता सफल भयो। पाठकले पुस्तक वार्ता हेरे अनि सुने पुस्तकको बारेमा जिज्ञासा जाग्यो तर पुस्तक भेटिएन। सहभागी पाठकहरूले भने। “पुस्तक खै ?”
एक महिनापछि पनि धरानको पुस्तक पसलमा पुस्तक थिएन यसो विचारेर ल्याउँदा धरानेहरूको पुस्तकप्रतिको रोमान्स धरानको सामाजिक सञ्जालहरूमा चर्चा बटुलिरहनुपर्ने केही बेवकुफहरूको हल्ला माझ हराएकै हो।
मोहन बान्तावा उर्फ कृष्णकुमार राई
धनकुटामा देशभित्रै शरणार्थी जीवन बाँचिरहेका रत्नकुमार बान्तावाको माइला भाइ मोहन बान्तवासँग दश वर्षअघि देखीको चिनजान हो। अहिले उनलाई उनको सक्कली नाम मोहन बान्तावा भनेर भेट्न सकिन्न। नक्कली नाम र पहिचान कृष्णकुमार राई भनेर घरछिमेक अनि यो देशको नागरिकता दिनेले चिन्छ। बास्तवमा उनी सहिद रत्नकुमार बान्तावाको साख्खे भाइ भएर कहिले चिनिएनन्।
रत्नकुमार बान्तावाको भाइको नाताले चिनिएका भए उनी पनि कुनै चोकमा वर्षमा एक माला चढाउने मूर्ति भइसक्ने थिए। मोहन वान्तवा जिउँदो सहिद हुन्। रत्नकुमार बान्तावाको सफाया गरिसकेपछि उनलाई पनि पञ्चायतले मार्नै पर्ने पात्र हुन् तर उनी देशभित्रै गुमनाम नक्कली पहिचानमा कृष्ण वान्तवा भएर बाँचिरहेका छन्। उनी एक ऐतिहासिक पात्र हुन्। पुस्तक वार्तामा होस या विमोचनमा मैले उनलाई धनकुटाको देब्रेबासबाट धरान र इटहरीसम्म ल्याउन फोन गरेको थिएँ। तर उनी दमको रोगी भइसके छन्। उनले भने, 'म कोशिश गर्छु। मेरो त ज्यान घटेर अहिले त ३५ केजी मात्रैको “फुकी ढल” भएको छु। अझ पानी पर्यो भने मलाई सार्हो पार्छ। मौसम अनि स्वास्थ्यले साथ दिए म अवश्य आउँछु', भनेर आफ्नो स्वास्थ्य समस्याको बारेमा भने। मैले धरानमा भन्दा पनि इटहरीको पुस्तक विमोचनमा मोहन बान्तावाको उपस्थिति चाहन्थे|। प्रमुख अतिथिलाई भेटाउन चाहन्थे। जसले मुख्यमन्त्रीको शपथ खायो उसको त्यो शपथमा कृष्णकुमार राई अर्थात मोहन बान्तावाहरूको रगत पसिना अनि आँसुको ठूलो भूमिका छ भन्न चाहन्थे। उनलाई बिमार र मौसमले साथ दिएन। उनी धरान त आएनन् आएनन् इटहरी पनि नआउने भए। धरान र इटहरीको दुबै कार्यक्रम हुनु अघिसम्म उनको सम्झना आइरह्यो।
पुस्तक विमोचनमा इटहरी र मुख्यमन्त्री
धरानमा पुस्तक वार्तापछि भोलिपल्ट शनिबार दिनको ठीक तीन बजे इटहरीमा त्यही पुस्तकको विमोचन कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने तय थियो। हिक्मत कार्कीसँग कुनै व्यक्तिगत परिचय थिएन। खाली धरानमा जनवादी साङ्गीतिक तथा सांस्कृतिक समूह “हिमायती”को डकुमेन्ट्री बनाउँदा हिमायतीका कलाकार दाजुदिदीहरूले कलाप्रेमी भनेर चिनाएका थिए। चालीसको दशकमा धरान बसेर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार पढ्दा हिमायतीको सांस्कृतिक तथा सांगीतीक कर्ममा प्रभावित भएका थिए। सन् २०१७ मा उनी कोशी प्रदेशको सांसद थिए क्यार त्यो बेला हिमायतीलाई कार्कीले व्यक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग पनि गरेका थिए। त्यसको साक्षी म पनि थिएँ। प्रत्यक्ष बोलचाल र परिचय भने थिएन।
पुस्तक विमोचनको सबै पाटोको जिम्मा मित्र अर्जुन उप्रेती र आयोजक संस्था संगीत साधना प्रतिष्ठानका दाइ राजु केसीले लिएका थिए। कार्यक्रम आत्मिय र नजिकका साथी भाइ चिनेजानेको मित्रहरूको बीचमा भएको थियो। यसरी नै हुन्छ कि हुँदैन भनेर चिन्ता लागिरहेको थियो। त्यो दिनको चिन्ताको अर्को विषय थियो इटहरीको गर्मी। तापक्रम ४२ डिग्री त पुगेको थियो। तीन बज्न बाँकी थियो। हल कार्यक्रम गर्न पूर्वरूपले तयार भइसकेको थियो। डा.अस्मिता विष्ट एक घन्टा अगाडि आएर पुस्तक माथि टिप्पणी गर्न तयार छन्। अर्को टिप्पणीकार डा. दिवाकर रेग्मी पनि पुस्तक अध्ययन गरेर दिमागलाई धारिलो बनाएर गर्मीको एक कुनामा बसेका थिए।
बाँकी थियो प्रमुख अतिथि मुख्यमन्त्रीको आगमनको पर्खाई। घडीले तीन बजाइसकेको थियो मुख्यमन्त्रीको कुनै खुटखबर थिएन। धरानको एक बजेको कार्यक्रम सकेर मात्रै इटहरीको तीन बजेको कार्यक्रममा सहभागी हुने मुख्यमन्त्रीको कार्यक्रम तय भएको रहेछ। त्यही दिन धरानको अत्याधुनिक हिरासत भवनको अपराधीहरूको लागि जो जनस्तरबाट नै करोडौँ खर्चेर बनेको थियो। सोही महँगो अनि आधुनिक भवन उद्घाटन गर्न मुख्यमन्त्री साढे १२ बजे नै गाडीको लावालस्कर लाएर धरान छिरेका इटहरी झर्दा भोटेपुलमा देखेको थिएँ।
धरानबाट इटहरी आँपगाँछी १५ किलोमिटर दूरीमा आइपुग्न लामै समय लाग्यो। सबै मुख्यमन्त्रीका सम्पर्कहरूमा फोन लगाइरहेका थिए। त्यो दिनको गर्मीले थिलथिलो इटहरीको कार्यक्रम स्थलबाट कोही फर्केर जाँदै थिए, कोही चट्टानझै पर्खिरहेका थिए। तीन बजेको कार्यक्रम पाँच बज्न दश मिनेट जाँदा सुरुवात भयो। प्रतिबद्ध आगन्तुकहरू मात्र बाँकी रहे क्यार। धन्य सुरुवात त भयो। लामो पर्खाइको प्रेसरले होला। कार्यक्रम सुरुवात पछि दौडिन थाल्यो। कार्यक्रममा पुस्तक विमोचन भयो। विमोचन पछि डा. अस्मिता विष्ट र डा. दिवाकर रेग्मीले पुस्तकको बौद्धिक पोष्टमार्टम गरे। सहिद रत्नकुमार बान्तवाको भाइ मोहन बान्तावाको उपस्थितिले अझ कार्यक्रम रोचक बनाउने थियो तर त्यसो हुन सकेन।
गज्जबको कुरा त पुस्तक विमोचनको प्रमुख अतिथि बन्ने निम्तो स्वीकार गरिसकेपछि पुस्तक पढ्ने र केही बोल्ने प्रतिबद्धता मुख्यमन्त्रीले गरेका थिए। पहाड खनिसक्दा केही नभेटिनुको सट्टा, मुसा मात्रै भेटिनु पनि राम्रै हो' , मुख्यमन्त्री हिक्मत कार्कीले पुस्तक नपढी आएको इमानदार जानकारी गराए। 'सबै पाठकहरू नेता होइनन्, तर सबै नेताहरू पाठक हुन्।' ह्यारी ट्रुम्यानको कथनलाई पनि मात ख्वाए प्रमुख अतिथिले।
यो पुस्तकमा केही त छ अनि म यहाँ छु भन्ने उनको झिनो विश्वास चै कतै थियो। मुख्य मन्त्रीले पुस्तक नपढी माफी माग्दै गर्दा मलाई पुस्तक नपढ्ने अनि कुरा मात्रै गर्ने हाम्रो सामाजिक रोग पुरानै हो भन्ने लागी रह्यो। धरानमा अत्याधुनिक हिरासत भवन उद्घाटन गरेर आएका मुख्यमन्त्रीले पुस्तकको बारेमा केही बोल्दै बोलेनन। बिना प्रसंग अमेरिकाको नीतिलाई भने गाली गर्न भ्याए। किन गरे केका लागी गरे अनि कुन प्रसंगमा गरे यो लेखकलाई चै थाहा हुन सकेन। हुन त मै मूला पनि अमेरिका नआउँदासम्म भारतको विस्तारवाद अनि अमेरिकी साम्राज्यवादको भरमार विरोध नगरेको हैन। अमेरिकाबाट पुस्तक लेखेर नेपालमा पुस्तक विमोचन हैन पुस्तक लेखेर गाली खान गएको जस्तो लागी रह्यो। अनि मुख्य मन्त्री जीको प्रमुख प्रेस सल्लाहकार विक्रम लुइँटेल पनि नजिकै बसेर सुनि रहेका थिए कुनै बेला हामी यौटै संगठनमा बसेर पूर्वको पत्रकारितामा सहकार्य गरेका थियौ।
पुस्तक तीसवटा जति बाहिर बेच्नलाई तयार थिए। विमोचनपछि विक्रीको त परै छोडौं त्यो पुस्तकको चाङ हलचल भएको नै देखिएन। कमसेकम इमानदार पाठक त इटहरीमा भेटिए। अरुजस्तो पढ्छु भनेर देखाउनको लागि पुस्तक कहिल्यै किनेनन्। सायद सत्तासँग आजकल इमानदार पुस्तक हैन बेइमानहरूको सिमाहीन सर्तहरू बिक्री हुन्छन्। सायद आजकल भीडभाडमा पुस्तक बोकेर हिँड्न लाज हुन्छ क्यार। मुख्यमन्त्रीको पुस्तक नपढी दिएको प्रवचन नै काफी छ जो विमोचन हुने पुस्तकको विषय सुचि र लेखकको भनाई धरी नपढी नै विमोचन भएको थियो। मुख्यमन्त्रीको त्यस दिनको धरानको काम अपराधी राख्ने अत्याधुनिक हिरासत भवन उदघाटन गर्न जति सजिलो थियो पुस्तक विमोचन गर्न त्यति नै अरुचिकर र अपराधबोधगम्यको चरित्र चित्रण भै रहेको थियो किनकी पढेर आउँछु भनेर पढन्ते देखिएका मुख्यमन्त्री पुस्तकको बारेमा भन्दा अमेरिकालाई गाली गर्न सजिलो मानि रहेको थिए। हिरासत भवन उद्घाटन गरेर फर्किंदा जति फ्रेस देखिन्थे तर पुस्तक विमोचनमा भने उनी उदास देखिएका थिए। मानौं रिस पोख्ने अमेरिका पन्चिङ ब्याग हो उनले रिस पोखे।
अमेरिकाको क्वीन्सब्रीज पार्क होस्, धरान या इटहरी जहाँ हामी पुस्तकको बारेमा कहिल्यै सकारात्मक हुन सकिन्न। किनकि हामी परीक्षा आउँदा मात्रै रातभर पुस्तक पढेर कण्ठ गरेर बिहान परीक्षा लेख्न बस्ने सुगा मानसिकताबाट हुर्किएको हुनाले पुस्तकलाई हामी हाम्रो लाज ढाक्ने एक टुक्रा ज्ञान मात्रै ठान्छौं। पढाइले दिमागलाई ज्ञानको सामग्रीले मात्रै सुसज्जित अनि सुन्दर पार्छ। पुस्तकको खडेरी हैन वर्षात हुनुपर्छ। कुन पानीमा भिज्ने भन्ने चाहिँ पाठकको मानसिक अवस्थामा भर पर्छ। पुस्तक आत्मको कथन हुनुपर्छ। अनि मानिस मानिस भएर बाँच्छ नत्र हामीले भोगेको सन्सार पनि साँघुरो पारामा बाँच्ने सोचको ब्रेन ड्रेनको लयमा जीवन एकनासले चली नै रहनेछ।
रत्नकुमार बान्तावाको पुस्तकको यो यात्रा टुंगिएको छैन। यो पुस्तकले धेरै हन्डर र बबन्डर भोग्नु छ। विक्री र यसको क्रेज जनमानसमा छैन। किनकी क्रान्तिकारीहरू यो देशमा अन्यमा भ्रष्टाचारी अनि व्यभिचारी भएर निस्केको उदाहरण खोज्न टाढा जानै पर्दैन। त्यही भएर पुस्तक विक्रीका लागी मैले कसैलाई दिइनँ पढ्ने र विशेष पात्रलाई मात्रै पुस्तक दिएँ।
मुकुम्लुङ एक आन्दोलनमा एक प्रति पुस्तक
नेपाल बसाईको अन्तिम दिन असोज ७ गते प्रतिनिधिसभा सदस्य माननीय सुशीला श्रेष्ठ दिदी र दाजु माननीय अशोककुमार राईसँग मुकुम्लुङ नाटक सँगसँगै हेरौं भन्ने आह्वान प्राज्ञ लेखक राजन मुकारुङले गरेका थिए। त्यही ७ गते सोमबार साइत पारेर शिल्पी थिएटर बत्तीसपुतली पुगियो। नाटक सांस्कृतिक आस्थासँग ऐतिहासिक जीवनका धनुहरूसँगै समसामयिक तर्कसँग जोडिएको बेजोड नाटक रहेछ। हेरिसकेपछि थिएटरको बाहिर माननीय सुशीला श्रेष्ठ दिदीसँग भेटें।
पुस्तक दिदीको हातमा राखिदिएँ। रत्नकुमार वान्तावाको पुस्तक हेरेर उत्सुक देखिनु स्वभाविक थियो। तर दिदीले त्यो बेला पनि त्यो पुस्तक हेरेर ४६ वर्षअघि चैत २७ गतेको ईभाङको झिसमिसे बिहानीको ताप्लेजुङको यात्रामा निस्किएको तीन यात्रीहरू राममाया, रत्नकुमार बान्तावा अनि आफैंलाई सम्झना गरेको हुनुपर्छ। ईभाङको त्यो ओर्हालो घुम्तीबाटोको मोड, देउमाई किनारमा आफ्नै अगाडि गोली लागी ढलेको सहयात्री रत्नकुमार बान्तावालाई सम्झेको हुनुपर्छ। केही क्षण दिदी केही नबोली भावुक पनि देखिइन। सम्झनाको लागि यौटा फोटो पनि लियौं। रत्नकुमार बान्तावाको अन्तिम क्षणका साक्षी दिदीलाई यो पुस्तक काठमाडौंमा नै भव्य विमोचन कार्यक्रम गरेर हात लाउने मन थियो। त्यसको लागि मसँग न श्रोत न समय काठमाडौंलाई न भोक न भकारी।
यौटा पात्र जसले यो देशको राजाविनाको गणतन्त्रको कल्पना गरेर इलामको यौटा कुनाबाट शासकहरूलाई प्रश्न तेर्साएका थिए। त्यो प्रश्नले पञ्चायत शासनको आसनमा रहेको देशको जग हल्लाएको थियो। जसलाई मार्नु शिवाय अर्को कुनै उपाय नै थिएन। रत्नकुमार वान्तवाको हत्यापछि वैशाख २९ गते उनको अर्को भाइ बम वान्तवाको साखेजुङमा हत्या भयो। रत्नकुमार मारिनुभन्दा अघि निमा शेर्पालाई चमैतामा गोली हानी मारियो। दुबै जना यौटै कारणबाट मारिएका हुन्। दुबैलाई शहिद भन्न र गन्न अनि सहिद नाम दिन नेपालका कम्युनिस्टहरू आइतबार पर्खिरहेछन्? यही प्रश्न हामीले पुस्तक मार्फत तेर्साएका छौं। अझ आन्तरिक शरणार्थीको रूपमा धनकुटा देब्रेबासमा बिरामी र थिलथिलो जीवन बाँचिरहेका मोहन वान्तवा उर्फ कृष्णकुमार राईको अवस्थामा किन परिवर्तन आउँदैन ? पुस्तकले प्रश्न गरेको शासकलाई सायद मन पर्दैन। सिसेरोले भनेका छन् 'पुस्तक बिनाको कोठा आत्मा बिनाको शरीर जस्तै हो।' जुन देशमा पुस्तकको इज्जत हुन्न त्यो देश पुस्तकको इज्जत विनाको देश पनि विना आत्माकै रहन्छ। देशमा विक्री नहुने पुस्तक कहाँ गएर बेचौँ ?