उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन गरियो : उपमहासचिव यादव
वीरगञ्ज : जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण जनता समाजवादी पार्टी गठन गरिएको बताएका छन्।
शुक्रबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले जसपा नेपालको नेतृत्वले धोका दिने बानी बसालेर पार्टीको मूल उद्देश्यलाई कमजोर बनाएको दाबी गरेका हुन्।
उनले भने, ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससँग दर्जनौँ पटक धोका गरे। पार्टीमाथि तानासाह जस्तो एकलौटी शासन गरे। असह्य भएर हामीले पार्टीबाट छुटिन निर्णय गर्यौँ।’
खानेपानी मन्त्रीसमेत रहेका यादवले मधेसमा मात्र सीमित रहने योजना नभएको भन्दै जसपा समग्र नेपालमा स्थायी रूपले स्थापित हुने दृढता व्यक्त गरे। उनले भने, ‘अब हामी मधेसको मुद्दालाई मात्र होइन, नेपालभरिका नागरिकहरूको हितका लागि पनि काम गर्नेछौँ। जसपाको नीति र दृष्टिकोणले समाजमा नयाँ प्रकारको सकारात्मक परिवर्तन ल्याउनेछ, जहाँ युवा, महिला, र अन्य समावेशी समूहको सहभागिता महत्त्वपूर्ण हुनेछ।’
पर्सा जिल्लामा मात्र नभई मधेसभरि जसपा नेपालको छिट्टै अन्त्य हुने उनको दाबी छ। उनले भने, ‘जसपा नेपाल विभाजन हुनु अनिवार्य थियो, किनकि वर्तमान नेतृत्वले मधेसको मुद्दालाई कमजोर बनाउँदै आएको थियो। अब हामीले स्थापित गरेको जसपा जनताको भावनालाई सम्बोधन गर्दै देशभरि सशक्त रूपमा अघि बढ्नेछ।’