क्षतिको विवरण बुझाए नर्सरी व्यवसायीलाई राहत

क्षतिको विवरण बुझाए नर्सरी व्यवसायीलाई राहत

काठमाडौं : तिहारका लागि होस् वा घर सजाउनका लागि होस् यतिबेला काठमाडौंको भृकुटीमण्डपमा रोजीरोजी एकै ठाउँबाट फूल किन्ने अवसर जुरेको छ। 

तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ असोज ९ गतेदेखि १३ गतेसम्म तिहार फ्लोरा एक्स्पो– २०८१ सुरु भएको छ। मेलामा ६५ वटा फूल तथा नर्सरीको व्यावसायिक स्टल तथा परामर्श कक्षको व्यवस्था गरिएको छ।

शुक्रबार एक्स्पोको उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले असोजको दोस्रो साताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेस गरे राहतका लागि सहयोग हुने पनि जानकारी दिएका छन्। 

यससँगै उनले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाएका छन्। उनले पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने समेत बताए। उनले भने, ‘रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्व बजारमा लैजाने गरी उत्पादन गर्न जोड दिँदै, यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिनेछ।’ यसै क्रममा उनले प्राकृतिक फूलको प्रयोग गरी प्लास्टिकजन्य फूलको प्रयोग पूर्ण रूपमा निषेध गर्न सुझाव दिए।

यता वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लास्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको बताए। उनका अनुसार सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवर्द्धन गर्न जरुरी छ। गत वर्ष आयातित सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फुड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण भएको उनले जनाए। यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको महानिर्देशक राईले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भए पनि सरकारले भने यिनको प्रवर्द्धनमा ध्यान नदिएकामा गुनासो गरे। यता नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निर्यात प्रवर्द्धन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवर्द्धन गर्न सकिने बताए। कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपाल अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले विदेशी फूल बिरुवा आयातलाई निरुत्साहित गर्न र स्वदेशी फूल नर्सरी तथा जडीबुटीको प्रवर्द्धनका लागि मेला साझा प्लाटफर्म भएको बताए।

प्रदर्शनको पहिलो दिन मेला संयोजक एवं नर्सरी व्यवसायी संघ नेपालको उपाध्यक्ष लक्ष्मी महर्जनले पाँच दिनसम्म चल्ने एक्स्पोमा ७० लाख बढीको कारोबार हुने अपेक्षा राखेको बताइन्। एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थी र ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ। मेलको पहिलो दिन फूल तथा नर्सरीका पारखीहरू र अवलोकनकर्ताहरूको भीडभाड रहेको छ।

फूलका ७ विधामा उत्कृष्टलाई सम्मान

मेलामा संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन भन्दै ७ विधामा उत्कृष्ट भएकालाई सिल्ड, नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको छ। सयपत्री विधामा उत्कृष्ट अलटपिकल प्लानट हाउस, गोदावरी विधामा दीक्षा नर्सरी, मखमली विधामा गुह्येश्वरी नर्सरी फ्रुट प्लान्ट विधामा दीक्षा नर्सरीलाई नगद पाँच हजारसहित सम्मान गरियो। त्यस्तै, मेलामा राखिएका स्टलको प्रतिस्पर्धामा तेस्रो खड्का नर्सरी, दोस्रो अल टपिकल प्लान्ट हाउस र पहिलो गुह्येश्वरी नर्सरीलाई क्रमशः ५ हजार ८ हजार र १० हजार नगदसहित संघले सम्मान गरेको छ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध सात सय बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ। साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.