डेंगु लागे सिटामोल खानू, पेनकिलर नखानू
काठमाडौं : ‘दुःखाइ के हो र कस्तो हुन्छ ? भन्ने महसुस गर्न डेंगु पो हुनु पर्दो रहेछ,’ डेंगु संक्रमित एक चिकित्सकले आफ्नो उपचारमा संलग्न सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग अनुभव बाँडे,‘ पकाएको खाना देख्यो कि इरिटेसन (चिडचिडाहट) हुँदो रहेछ। खानाप्रतिको भय (फियर अफ फुड) पो अनुभव भयो।’
ती फिजिसियनको संक्रमण अनुभव सुनेर डा. पुन फिस्स हाँसे। खानपानमा ध्यान दिन सुझाव दिँदै डा. पुनले भने, ‘तनाव नलिनुस्, डा.साब। आराम गर्नु। खानपानमा चाहिं ध्यान दिनुस् है।’ डेंगुलाई निको पार्ने ठ्याक्कै औषधि छैन। एन्टिडेंगु औषधि नभएकोले लक्षणका आधारमा उपचार गरिने चिकित्सकहरू बताउँछन्।
डेंगु हुँदा सुरुमै ज्वरो आउँछ। ज्वरो आउँदा पारासिटामोल सेवन गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। बान्ता हुँदा बान्ता रोक्ने औषधि सम्बन्धित विज्ञ चिकित्सकको सिफारिसमा मात्र खानुपर्छ। दुखाइको महसुस हुन्छ। त्यो बेला पेनकिलर औषधि भने सेवन गर्नु हुँदैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुन भन्छन्, ‘डेंगुमा पेनकिलर (एनएसएआईडीएस समूह) र एन्टिबायोटिक औषधिको भूमिका छैन।’ कतिपय संक्रमितले दुखाइ निको पार्न भन्दै पेनकिलर औषधिहरू फ्लेक्सन, निम्स, ब्रुफिनजस्ता औषधिहरू माग्ने गरेको औषधि पसलका सञ्चालकहरू बताउँछन्। पेनकिलर औषधि सेवन गर्दा रक्तस्रावको जोखिम र ग्यासट्राइटिसको समस्यासमेत देखिन सक्ने चिकित्सकहरूको भनाइ छ।
सेता रक्तकोष र प्लेट्लेट्स घट्न सक्छ
डेंगु संक्रणले आइतबारदेखि थलिएकी प्रतिमा अधिकारीको रगत जाँच गर्दा सेता रक्तकोष (डब्लूबीसी) घटेको पाइएको छ। उनको डब्लूबीसी ११ हजार पाइएको छ। प्लेट्लेट्सको संख्या भने १ लाख ७३ हजार छ। ‘दिनमा एक पटक बान्ता हुन्छ,’ अधिकारीले भनिन्, ‘पकाएको खानाप्रति फिटिक्कै रुचि छैन।’ डा. पुनका अनुसार, सेता रक्तकोष एवं प्लेटलेट्स घट्दैमा आत्तिइहाल्नु पर्दैन। ‘प्लेटलेट्सको संख्या २० हजारभन्दा तल आएको अवस्थामा चिकित्सकको निगरानीमा रहनुपर्छ,’ डा. पुनले सुझाए,‘ डब्लूबीसी वा प्लेटलेट्स घट्दा कतिपयले जथाभावी रूपमा मेवाको पातको रस खाने गरेको पाइएको छ। आफन्तको सल्लाहमा जथाभावी रूपमा मेवाको पातको रस खानेहरूको अवस्था झन् जटिल भएको देखिएको छ।’
के खायो भने डब्लूबीसी र प्लेटलेट्स बढ्ला ? यो प्रश्न संक्रमितहरूले गरिरहन्छन्। झोलिलो र सजिलै पचाउन सक्ने खानाले नै डब्लूबीसी र प्लेटलेटको संख्या वृद्धि गर्ने चिकित्सकहरूको सुझाव छ। ‘पातलो जाउलो, दाल, चनाको रस खान सकिन्छ,’ डा. पुन थप्छन्, ‘बेला–बेलामा नरिवल पानी, जीवनजल पनि पिउन सकिन्छ।’ घरपरिवारको पर्याप्त स्नेह र सहयोगसँगै खानपानमा ख्याल गर्ने हो भने संक्रमितलाई तंग्रिन सहज हुने चिकित्सकहरूको भनाइ छ।
आराम गर्नु, काम नगर्नू
यस वर्ष मुलुकका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, २२ हजार ८२ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ। जसमध्ये ११ जनाको ज्यान गएको छ।
यस वर्ष सबैभन्दा बढी संक्रमित गण्डकी प्रदेशका छन्। यस प्रदेशमा ९ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भइसकेको छ। जुन कुल संक्रमणको ४३ दशमलव २ प्रतिशत हो। सबैभन्दा न्यून संक्रमण कर्णाली प्रदेशमा पाइएको छ। यस प्रदेशमा तीन सय जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमणको १ दशमलव ४ प्रतिशत हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी पनि संक्रमितहरूले ज्वरो कम गर्न र दुःखाइको लागि सिटामोलबाहेक अन्य दबाई नखान सुझाउँछन्। ‘पचाउन गाह्रो हुने, चिल्लो पदार्थ, चिसो पेयपदार्थ र जंक फुड खानु हुँदैन,’ डा. बुढाथोकी भन्छन्, ‘पर्याप्त फलफूल, रेसादार खाद्यपदार्थ र झोलिलो खानेकुरा खानुपर्छ। संक्रमणको अवस्थामा शारीरिक वा मानसिक धपेडीको काम गर्नु हुँदैन।’ संक्रमणको बेला शारीरिक वा मानसिक थकानको काम नगरी आराम गर्नु सुझाव चिकित्सकहरूको छ।
जटिल हुन सक्छ, ख्याल गर्नू
संक्रमितमध्ये कतिपयलाई ज्वरो आउने, तारन्तार बान्ता हुने हुन्छ। कतिपयको दुखाइ भइरहने, गिजा र नाकबाट रक्तस्रावसमेत हुन सक्छ । यस खालको जटिल अवस्थाका संक्रमितलाई यथाशीघ्र नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानुपर्ने चिकित्सकहरूको सुझाव छ।
यदि परिवारमा कसैलाई डेंगु संक्रमण भएको छ भने अन्य सदस्यलाई पनि डेंगु लाग्न नदिन पनि विभिन्न उपायहरू अपनाउनु पर्छ। डा. बुढाथोकीका अनुसार, संक्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउनु गर्नुपर्छ। संक्रमितको हेरचाहमा खटिँदा पूरा बाहुला भएको लुगा लगाउनु पर्छ। लामखुट्टे धपाउन धुुप, कोइला वा लिक्विड बाल्नुपर्छ। त्यस्तै घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्यालढोकामा जाली लगाउनु पर्छ। घरवरिपरि पानी जम्न दिनु हुँदैन।
सहरी क्षेत्र बढी प्रभावित
डेंगुबाट विशेषगरी सहरी क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, यस वर्ष पनि काठमाडौंलगायतका शहरी क्षेत्रका बासिन्दाहरू संक्रमणको मारमा परेका छन्।
सबैभन्दा बढी काठमाडौंका बासिन्दा संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, संघीय राजधानी काठमाडौंमा २ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। काठमाडौंले मात्रै कुल संक्रमणको १६ दशमलव ३ प्रतिशत बोझ ओगटेको छ। त्यस्तै, काठमाडौं पछि कास्कीमा बढी संक्रमित पाइएका छन्। कास्की जिल्लाका ३ हजार १ सय ८८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ। कास्कीमा १४ दशमलव ४ प्रतिशत संक्रमणको मार खेपेको छ।
सबैभन्दा बढी संक्रमित भएको तेस्रो जिल्लामा तनहुँ रहेको छ। तनहुँमा २ हजार १ सय ९५ जना संक्रमित पाइएका छन्। चौथोमा पर्वत जिल्ला रहेको छ। पर्वतमा १ हजार ५ सय ८८ जना संक्रमित पाइएका छन्। पाँचौंमा चितवन रहेको छ। चितवनमा १ हजार २९ जना संक्रमित पुष्टि भएका छन्। छैटौंमा ललितपुर जिल्ला रहेको छ। यस जिल्लामा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। सातौंमा बागलुङ जिल्ला परेको छ। यस जिल्लामा ८ सय २१ जना संक्रमित पुष्टि भएको छ। आठौंमा गोरखा जिल्ला रहेको छ। यस जिल्लामा ७ सय ७२ जनामा संक्रमण देखिएको छ। नवौंमा भक्तपुर जिल्ला संक्रमितहरू रहेका छन्। यस जिल्लामा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। दसौंमा कैलाली जिल्ला प्रभावित भएको छ। कैलालीमा ४ सय ८ जनामा संक्रमित भइसकेका छन्।
जोखिम कहिलेसम्म ?
मुलुकमा डेंगुको संक्रमण बाह्रैमास हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, आगामी मंसिर महिनासम्मै डेंगुको जोखिम रहेको छ। ‘डेंगु संक्रमण १२ वटै महिनामा देखिएको छ,’ डा. बुढाथोकी भन्छन्, ‘संक्रमणको जोखिम मंसिर मसान्तसम्मै छ। सबैजना सतर्क र सजग रहनुपर्ने देखिएको छ।’
संक्रमणको जोखिमबाट बच्न घरको छाना वा अन्य स्थानमा जथाभावी फालिएका सवारीसाधनका टायरहरूमा पानी जम्न दिनु हुँदैन। डा. बुढाथोकीका अनुसार, टायरभित्र जमेको पानीमा डेंगु फैलाउने लामखुट्टेले फुल पार्ने हुँदा पानी जम्न नपाउने गरी छोपेर राख्ने वा आकाशेपानीको पहुँचबाट टाढा राख्नुपर्छ। पानी जम्मा गरी राखिएका पानीट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्नुपर्छ। घर वरपर, कार्यस्थल र सार्वजनिक स्थलहरूमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य भाँडा एवं सामग्रीहरूलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्ने डा. बुढाथोकीको सुझाव छ।
‘घरभित्र वा बाहिर राखिएका फूलका गमला एवं गमलामुनिका प्लेटहरूमा जमेको पानी कम्तीमा हप्ताको एक पटक फालेर गमला तथा प्लेटलाई राम्रोसँग सफा गर्नुपर्छ,’ डा. बुढाथोकी भन्छन्, ‘घरमित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल तथा ढोकाहरूमा ससानो जाली प्वाल भएको जाली प्रयोग गर्नुपर्छ। बिहान, दिउँसो र राति जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ। संक्रमणबाट जोगिन पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएको लुगा लगाउनु आवश्यक छ। शरीरको खुल्ला भागमा लामखुट्टे भगाउने मल्हमको पनि प्रयोग गर्न सकिन्छ।’
लामखुट्टे ‘खोज र नष्ट’ अभियान सुरु
प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न समाजका सबै वर्गको सक्रिय सहभागिता रहेको उल्लेख गर्दै लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार भिडियो सन्देशमार्फत देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। संघीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियन्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन्।
डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्ने उनको सुझाव छ। सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ। त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु।’
सरकारले डेंगुको प्रकोप फैलन नदिन शुक्रबारदेखि नै देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सुरु गरेको हो। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजेदेखि मुलुकभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, डेंगु संक्रमण बढ्न नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्न थालिएको हो। यस अभियानमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरिएको डा. बुढाथोकीले जानकारी दिए।
२० मध्ये १ जनालाई जटिल हुन सक्छ
डा. प्रकाश बुढाथोकी, डा. बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुन सक्ने पाइएको छ। त्यस्तै मृत्यृदर १ देखि २ प्रतिशत देखिन्छ। गर्भवती, साना बालबालिकाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउन सक्छ।
क्लासिक डेंगु सामान्य प्रकारको हो र आफैं निको हुन्छ। यसबाट मृत्युको सम्भावना कमेै हुन्छ। यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएमा समयमै स्वास्थ्य संस्थामा पु¥याउनु पर्छ। समयमै उचित उपचार नगरे मृत्युसमेत हुन सक्छ। तारन्तार बान्ता, असाध्य पेट दुख्ने, अति आलस्य, रक्तस्राव (जस्तै गिजा, नाक आदिबाट रगत बग्ने) तथा रगतमा प्लेटलेटको संख्यामा तीव्र गतिले घट्ने अवस्था गम्भीर अवस्था हो।
डेंगु विषाणुको संक्रमणबाट हुने रोग हो। यसको रोग विरुद्ध रामबाण वा जादुको छडी झै तुरुन्तै ठिक पार्ने औषधि हु“दैन। यसको उपचार लक्षणको आधारमा गरिन्छ। एस्प्रिन र बु्रफिनजस्ता औÈधि सेवन गर्नु हुँदैन। प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिनुका साथै छिट्टै उपचार गर्दा लक्षणमा कमी आउँछ। यसका साथै रोगको जटिलताबाट हुने मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ।
‘वाकिङ डेंगु’ प्रवृत्ति घातक छ
डा. शेरबहादुर पुन, डा.पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक
मुलुकमा २०६१ सालदेखि नै डेंगुको संक्रमण देखिन थालेको हो। २०८० सालमा त मुलुकका सबै ७७ वटै जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको थियो। यस वर्षमात्रै ७६ जिल्लामा संक्रमण देखिएको छ। डेंगुलाई हेर्ने दृष्टिकोणमा अहिले परिवर्तन भएको छ। पहिलापहिला ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्थामा जँचाउन आउँथे। अहिले त घरमै बस्नेमात्र होइन कतिपयले डेंगु भएको थाहा पाउँदापाउँदै पनि हिँडडुल गर्ने गरेको पाइएको छ। कोही कोही त काममा जाने गरेको पाइएको छ । मैले त यसलाई वाकिङ डेंगुको संज्ञा नै दिएको छुँ। डेंगु संक्रमण भएको थाहा पाएर पनि बाहिर हिँडडुल गर्नु (वाकिङ डेंगु) घातक छ।