केराखेतीलाई वरदान बन्दै थोपा सिँचाइ प्रविधि
टीकापुर : कैलालीको टीकापुर नगरपालिका— १ का किसान विनोद साह कुनै बेला ८० बिघामा केराखेती गर्थे। भाडाको जमिनमा फरकफरक ठाउँमा रहेका ८ वटा केराबारीमा सिँचाइ गर्न साहले प्रत्येक बारीमा ६÷७ जना कामदार वर्षैंभरि खटाउनु पथ्र्यो।
दिनभर बोरिङ (पानी तान्ने मेसिन) चलाउनु पथ्र्यो तर पनि मुस्किलले दिनभरिमा एक बिघा जमिन सिँचाइ हुन्थ्यो। लगानीको ठूलो हिस्सा कामदारको ज्यालामै जान्थ्यो। हाल झन्डै ३२ बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका साह थोपा सिँचाइ प्रविधिबाट केराखेती गर्न थालेपछि सिँचाइको झन्झटबाट मुक्त भए। सिँचाइकै लागि थप कामदार राख्न परेन, ज्याला खर्चमा कटौती भयो।
‘थोपा सिँचाइको मेसिन चलाइदिने हो, केही सेकेन्डमै बारीका प्रत्येक बोटमा थोपाथोपा गरेर पानी पुग्छ।’ थोपा सिँचाइका फाइदाबारे साहले भने ‘थोपा सिँचाइको मेसिन हेर्ने एकजना भए पुग्छ, ज्याला रकम पनि धेरै खर्च भएन, पहिले बारी पूरै सिँचाइ गर्न सात, आठ दिन लाग्थ्यो भने अहिले दुई दिनमै सबै बारीमा सिँचाइ पर्याप्त हुन्छ।’
टीकापुरमा २०५८ सालबाटै केराखेती गर्दै आएका साह थोपा सिँचाइ प्रविधिले केराको उत्पादनमा समेत वृद्धि भएको बताउँछन्। ‘थोपा सिँचाइ प्रविधिबाट पानीमात्रै नभएर केरालाई चाहिने मलखाद्य, पोषक तŒव, रोग किरा नियन्त्रणका लागि चाहिने विषादीसमेत समान रूपले प्रत्येक बिरुवामा पठाउन वितरण हुन्छ’ किसान साहले भने ‘सामान्य सिँचाइ गर्दा प्रत्येक बोटमा १२ देखि १४ दर्जनसम्म केरा फल्छ भने थोपा सिँचाइबाट २० देखि २२ दर्जनसम्म केरा फल्छ, सिँचाइ, मलखाद्य, पोषक तŒव बोटमै पुगे उत्पादन त्यसै बढ्छ।’
टीकापुर नगरपालिका वडा नं. ५ का केरा किसान शेरबहादुर साउद थोपा सिँचाइ प्रविधि जडान गर्न सुरुवातमा लागत बढी लागे पनि कामदारको ज्यालामा हुने कमी र उत्पादनमा हुने वृद्धिले यो प्रविधि व्यावसायिक किसानका लागि निकै उपयोगी भएको बताउँछन्।
‘थोपा सिँचाइको मुख्य सिस्टमलाई पाँच लाख जति खर्च हुन्छ भने बोटसम्म पानी पुर्याउने पाइप केराबारीअनुसार लाग्ने हो।’ ६ बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका साउँदले भने ‘सुरुमा मैले पनि कुलाबाटै सिँचाइ गरेको हो, पछि थोपा सिँचाइ जोडेको छु, थोपा सिँचाइले कुलाभन्दा झन्डै ३० प्रतिशतले बढी उत्पादन दिन्छ।’
कैलालीमा व्यावसायिक रूपमा केराखेती गर्दै आइरहेका किसानहरूमा थोपा सिँचाइ प्रणाली लोकप्रिय बन्दै गएको छ। डिप बोरिङ गरेर झिकिएको पानीमा मेसिन जडान गरेर मसिनो पाइपको माध्यमबाट हरेक बोटमा थोपा थोपा गरेर पानी चुहिने यो प्रविधिले औषधि र खाद्यतŒव पुर्याउन सकिने भएकाले लोकप्रिय बन्दै गएको हो। बोटभन्दा बाँकी रहेको जमिनमा सिँचाइ नहुने हुनाले बारीमा घाँस, झारपात उम्रने समस्यासमेत नहुने किसानहरू बताउँछन्।
के हो ? थोपा सिँचाइ प्रविधि
बोरिङ (पानी तान्ने मेसिन) देखि पाइपमार्फत बिरुवाको जरासम्म थोपाथोपा चुहाएर सिँचाइ पुर्याउन प्रयोग भइरहेको नवीनतम प्रविधि हो। पोलिट्युबको माध्यमबाट हरेक बिरुवाको जराजरामा आवश्यक मात्रामा समान रूपले पानी, बिरुवाका लागि पोषक तŒव, जैविक झोल तथा घुलनशील खाद्यपदार्थ पुर्याउने यो प्रविधि निकै प्रभावकारी मानिन्छ। नियमित र सन्तुलित रूपमा बोटबिरुवामा सिँचाइ पुग्ने हुनाले बिरुवाको वृद्धि विकास राम्रो हुन्छ। सन् १९६० मा इजरायलका कृषि वैज्ञानिक सिम्का ब्लास्टले थोपा सिँचाइ प्रविधिको विकास गरेका हुन्। सिँचाइका लागि पानीको स्रोत सीमित भएको इजरायल कृषिमा थोपा सिँचाइ प्रविधिको प्रयोगले विश्वमै उदाहरणीय देश मानिन्छ। यो प्रविधि नेपालमा नेपालमा २०६७ पछि मात्रै भित्रिएको हो। सिँचाइको पर्याप्त सुविधा नभएको ठाउँका लागि पानीको खपत कम गर्न यो प्रविधिले मद्दत पुर्याउँछ। सामान्यतया टनेल खेतीमा समेत आधुनिक थोपा सिँचाइ प्रविधिको प्रयोग भइरहेको छ।
केराखेतीमा थोपा सिँचाइ प्रविधि जडानका लागि पम्प, वाटर फिल्टर, रेगुलेटर वा दबाब नियन्त्रण गर्ने भल्ब, हाइड्रोलिक वाल्स, पाइप फिटिंग्स र ठूलो पाइप, कम मोटाइ भएको पोलिट्युब र ब्याक वाटर रोक्ने यन्त्र आदिको प्रयोग हुन्छ। नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डा. श्रीमत श्रेष्ठका अनुसार थोपा सिँचाइ प्रविधिले ३० देखि ७० प्रतिशतसम्म पानीको बचत गर्न सकिन्छ। ‘थोपा सिँचाइमा पानीलाई बिरुवाको फेदसम्म थोपाको रूपमा पठाइने हुँदा थोरै पानीबाट पनि बढी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ, ट्यांकीबाटै मलखाद राखेर सिँचाइ गर्दा मलखादको व्यवस्थापनलाई सहज बनाउँछ’ डाक्टर श्रेष्ठले भने ‘विषादीलाई बिरुवाको जराजरासम्म पुर्याउन स्प्रे गर्न नपर्ने हुनाले किसानको स्वास्थ्यमा पनि सहयोग पुग्छ।’
यो प्रविधिबाट सिँचाइ गर्दा रोग, कीरा तथा झारको प्रकोप कम हुने, असमतल क्षेत्र, पानी कम हुने क्षेत्र, बलौटे तथा ढुंग्यान क्षेत्रमा समेत सजिलै खेती गर्न सकिने श्रेष्ठले बताए।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ८ सय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ भने गत वर्ष १ अर्ब ७० करोड ९ लाख बराबरको २६ हजार ७ सय ७३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ।
कैलालीमा केराखेती गरिरहेका दुई दर्जन बढी किसानहरूले सयौं बिघामा थोपा सिँचाइ प्रणालीबाट केराखेती गरिरहेका छन्। केराको पकेट क्षेत्रका रूपमा विकास भइरहेको टीकापुरमा २०७० सालमा टीकापुरका किसान दीपेन्द्र चौधरी र रामबहादुर कुँवरले थोपा सिँचाइ प्रणाली भिœयाएका थिए।
राष्ट्रिय गौरवको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाइले थोपा सिँचाइ प्रणालीमा कृषकलाई ५० प्रतिशत अनुदान दिँदै आएको छ। आयोजनाको अनुदान कार्यक्रमले समेत थोपा सिँचाइ प्रविधितर्फ किसानहरूको आकर्षण बढ्दै गएको यस क्षेत्रका केरा किसानहरू बताउँछन्।