बर्दियामा धान किन्दै खाद्य कम्पनी
गुलरिया : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्दियाको राजापुरमा धान खरिद गर्ने कार्य सुरु गरेको छ। सरकारले निर्धारण गरेको धानको समर्थन मूल्यअनुसार धान खरिद कार्य सुरु गरेको हो।
बर्दियामा यस वर्ष एक लाख क्विन्टल धान खरिद गर्ने कम्पनीको लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरका प्रमुख केशवराज बुढाले बताए। जिल्लाका विभिन्न पालिकाहरूबाट धान खरिद गर्दै लक्ष्य पूरा गर्छौं। गत वर्ष समयमै धान खरिदको प्रक्रिया सुरु नगर्दा लक्ष्यअनुसार धान खरिद हुन नसकेपछि यस वर्ष कम्पनीले समयमै काँटा लगाएको उनले बताए।
सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको प्रमुख बुढा बताउँछन्। गत वर्ष मोटा धानको मूल्य ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ कायम गरिएको थियो। गत वर्षको तुलनामा यस वर्ष धानको समर्थन मूल्य बढेको छ।
कम्पनीको आफ्नै अत्याधुनिक चामल कारखाना सञ्चालनमा रहेकोले खरिद गरिएको धानबाट चामल उत्पादन हुने गरेको छ। बर्दियामा उत्पादित चामल खाद्य आपूर्तिको लागि रुकुम, रोल्पा, जाजरकोटलगायतका पहाडी जिल्लाहरूमा निर्यात हुने गरेको कम्पनीले जनाएको छ।
कम्पनीले धान खरिद नगर्दा स्थानीय व्यापारीले सस्तो मूल्यमा किसानबाट धान खरिद गर्दै आएका थिए। किसानलाई धानको मूल्यमा राहत दिनका लागि सरकारले बर्सेनि समर्थन मूल्य निर्धारण गर्ने गर्छ।