ओडारदेखि एआईसम्म

समीक्षा

ओडारदेखि एआईसम्म

राजनीतिक परिवर्तन भए तापनि नीति, संस्कृति र प्रणालीगत रूपान्तरण नहुँदा आज मुलुक पछाडि परेको छ।

अब प्रकाश विकल्पको नाम वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र राजनीतिक क्षेत्रमा मात्रै सीमित रहेन। एकपछि अर्काे कृति प्रकाशन भएसँगै उनी एक कुशल लेखकका रूपमा परिचित छन्। ‘देश किन बनेन ?    ‘र ‘समृद्धिको रोडम्याप’पछिको उनको तेस्रो कृति ‘एन्टिथेसिस’मार्फत ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मको चिरफार गरेका छन्। अहिलेको मुद्दा नै एन्टिथेसिस भएकाले राज्यका नीतिनिर्माणमा बस्नेहरूले खुल्ला रूपमा नै मुद्दा, मर्म र मन्थनको कोणबाट बहस, छलफल र संवाद गर्नुपर्ने कुरा उनले उल्लेख गरेका छन्। उनले पुस्तकमार्फत समग्र ब्रह्माण्डदेखि पृथ्वीमा मानवजातिको विकासक्रम व्याख्या गरेका छन्।

मान्छे सफल बन्न, देश समृद्ध बनाउन र पृथ्वीको मात्र होइन, ब्रह्माण्डकै रक्षाका लागि मान्छेको कर्तव्य र भूमिका कस्तो हुनुपर्छ भन्ने भाव, तथ्य र वैज्ञानिक तर्कद्वारा स्पष्ट खाका कोरेको देखिन्छ पुस्तकमा। यस्तै, हिजो, आज र भोलिको समाज, राजनीति, राज्य नीति, प्रणाली र समयको गतिलाई एन्टिथेसिसका कोणबाट हेर्ने जमर्काे पाइन्छ। पृष्ठ ११ मा अग्रगमन र पुनरुत्थानवाद दुवै शक्तिलाई गहिरो रूपमा चिरफार गरिएको छ। लेखकले परम्परावादी अवैज्ञानिक विचार, कार्य र प्रणालीमाथि निर्मम भएर प्रश्न गरेका छन्। आजको २१औं शताब्दीमा पनि अन्धविश्वास, रुढीवादी परम्परा र धर्म संस्कारमाथि विश्वास गरेर बस्नु हुँदैन भनेका छन्। त्यसको सट्टा वैज्ञानिक खोज अध्ययन, अनुसन्धानमा लाग्नुपर्ने बहस गरेको पाइन्छ।

पुस्तक कुनै नेता, शासक, धर्मगुरु वा अनुयायी र कतिपय पाठकलाई क्षणिकका लागि अपाच्य लाग्न सक्ला तर दीर्घकालीन हितलाई मध्यनजर गर्दै समग्र तथ्य र तथ्यांकमा आधारित भएर लेखिएको छ। ओडारमा बस्ने मान्छेलाई यहाँसम्म ल्याउन योगदान गरेकाहरूलाई महान् मान्छे होइन, धार्मिक विश्वासका विरुद्ध खडा हुने अपराधी, समाज भडुवा, हत्यारो, जंगली आदि भन्दै चर्को स्वरमा गाली गरियो। 

फरक यत्ति मात्र हो, हिजो बाबुबाजेलाई गाली गरिन्थ्यो भने आज छोरानातिलाई। ब्रह्माण्डसम्बन्धी वैज्ञानिक अवधारणा अगाडि सार्ने निकोलस कोपर्निकस र ग्यालिलियो एवं विकासवादी सिद्धान्तका प्रणेता चाल्र्स डार्बिनलाई तत्कालीन पादरी र चर्चका अनुयायीले गाली गर्नुमा के नै भिन्नता छ र ?    आजसम्म जति पनि मान्छेले नोबेल पुरस्कार पाएका छन्, ती सबैले नयाँ अवधारणा विकास गरेकाले नै पाएका हुन्।

अझै पनि हामीकहाँ भने भिजन पटक्कै नहुने अनि देशलाई पछाडि फर्काउने ‘टेस्टेड’ मुद्दा बोकेर राजनीति गरिरहेछन्। त्यसकारण सुशासन, विकास र धर्म संस्कृतिको आवरणमा प्रकट हुने रुढिवादी पश्चगामी राजनीतिसँग आजको मानव सचेत हुनुपर्छ।

अब देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने मुद्दामा सशक्त प्रतिस्पर्धा हुनुपर्ने कुरा पुस्तकमा छ। लेखकमा परिवर्तनप्रतिको व्यग्रता बढी नै देखिन्छ। उनले मानव जातिलाई समयसापेक्ष परिवर्तन हुन आग्रह गरेका छन्। जीवन सफल बनाउन सबैभन्दा पहिला त मान्छेको चेतना र दृष्टिकोण एन्टिथेसिसमा आधारित हुनुपर्ने कुरा प्रस्ट पारेका छन्।

पुस्तकमा यदि मानिसको जीवन सोचेजस्तो छैन भने बाटो बदल्नु पर्छ। त्यसका लागि महिना होइन, अहिल्यै बदल्नुपर्छ भनिएको छ। अर्थात् आफूलाई बदल्ने र सफल बनाउने हो भने आजबाटै समयलाई सबैभन्दा सानो इकाई सेकेन्डमा बदल्नुपर्छ। तबमात्र परिवर्तनकारी मान्छेमा निराश र बेचैन हुँदैन भन्ने अब्बल दृष्टान्त किताबमा छ। नेपालले धेरै राजनीतिक क्रान्तिमा आफ्नो ऊर्जामय समय खर्च गरिसकेको छ।

राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भए पनि नेतृत्व आजसम्म परिवर्तन हुन नसक्नु दुःखद् हो। बारम्बारको खराब परिणामले नागरिक निराश र बेचैन भएका छन्। त्यसैले लेखकले कविताको माध्यमबाट पनि चोटिलो प्रहार गरेका छन् :

बिउँझ ए, निदाएका मान्छे !
राजनीतिका नाममा देशलाई बन्धक बनाइसके 
समृद्धि दिन्छु भन्दै विकृतिमा डुबाइसके 
सुशासनको भाषण गर्दै चरम भ्रष्टाचार गरिसके 
आफन्त र नातागोतालाई सांसद र मन्त्री बनाइसके
सत्ताका लागि राष्ट्रघाती सन्धिसम्झौता गरिसके 
गुण्डा, कालोबजारी र चेलीबेटी बेच्नेलाई जोगाइसके (पृ. २८४)। 

अर्थात्, राजनीतिक परिवर्तन भए तापनि नीति, संस्कृति र प्रणालीगत रूपान्तरण नहुँदा आज मुलुक पछाडि परेको छ। वर्तमान आधुनिक शिक्षाबाट दीक्षित मान्छे चलाएको राज्यमा त विकृति, विसंगति, चरम भ्रष्टाचारलाई प्रारम्भिक स्रोतमै हस्तक्षेप गर्ने आँट गर्दैनन्। नेपालजस्तो गरिब देशको मुख्य विडम्बना त के भने चेतनाका हिसाबले आज पनि प्रायः नागरिक धार्मिक चेतनाबाट माथि उठ्न तयार नै छैन। 

शिक्षित मान्छेले गर्ने केवल रचनात्मक जमर्को गरेको पाइँदैन। विश्वचर्चित दार्शनिक हुन् वा वैज्ञानिक, राजनीतिज्ञ हुन् वा अभियन्ता, लेखक हुन् वा व्यवसायी सबैले गरेका र गर्ने भनेको जमर्को नै हो भनी पुस्तकमा छ। तर, हामीकहाँ त्यसो हुन सकेको छैन। आजको विज्ञान प्रविधियुक्त ज्ञान प्राप्त शिक्षित मान्छे स्वभावैले यो प्रश्न उठाउन सक्नुपर्छ।

आफ्नो समाज वा देशभित्रका समस्याका बारेमा मात्र होइन, आजको मानव चेतनाले पृथ्वीको जुनसुकै कुनाको समस्याका विरुद्ध आफूलाई खडा गर्नुपर्छ। कहाँ, किन, कसरी, कहिले, कसले आदि इत्यादि प्रश्न गरेर नै मान्छेले उत्कृष्ट जीवन प्राप्त गर्न सक्छ। ज्ञान, चेतना, विचार, प्रयोग आदिमा विपरीत दृष्टिकोण पेस गर्ने सिद्धान्त नै एन्टिथेसिस हो। प्रश्न नै एन्टिथेसिसको मेरुदण्ड हो लेखकले भनेका छन्। ‘एन्टिथेसिस’को मुख्य आशय नै यही हो कि मान्छे भएर जन्मनुको अर्थ प्रमाणित गर्न खोज्नुपर्छ। त्यसका लागि फरक चिन्तन शैली, सोच्न, विचार र स्पष्ट दृष्टिकोण हुनुपर्छ।

विशेषगरी लेखहरूले भ्रष्टाचार, विकृति, बेथिति र विसंगतिको चिरफार गर्दैै प्रगतिशील विचारधारा व्यक्त गरेको पाइन्छ। उनको विशेषता भनेको नै विषयवस्तुको सबल पक्ष र दुर्बल पक्षलाई सकेसम्म मसिनो ढंगले चयन गर्नु हो। यो पुस्तकले दुनियाँका अधिकांश मान्छे जहाँ अन्धविश्वास, रुढीबादी सोच र चिन्तनमा फसेका छन्, त्यहाँबाट बाहिर निकाल्न ठूलो योगदान पु¥याउने छ। 

नेपालको खम्बा, भविष्यका देश हाँक्ने जमातलाई तिमी मान्छे हौ भनेर चिनाउन अनेक प्रयास गरेको छ। सँगसँगै सफल मान्छे बन्ने उपाय, सल्लाह, सुझाव पनि अगाडि सारेर पुस्तकले राम्रो मार्गनिर्देशन पनि गरेको छ। अनि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक विषयवस्तुको गहिरो चिरफार गरिएको छ।

पुस्तक युवादेखि वृद्धसम्म, नेतादेखि कर्मचारीसम्म, बौद्धिक वर्ग, प्राज्ञिक वर्ग, अभिभावक र विद्यार्थी वर्ग सबैका लागि उत्तिकै संग्रहणीय छ। पुस्तकमा उठान गरिएका विषयवस्तु विश्वविद्यालयका थेसिसका ठेलीहरूमा उठाउन सकेमा झनै राम्रो हुनेछ। अझ यो पुस्तकलाई विशेषगरी विद्यालय तहको शिक्षामा समावेश गर्न सकेमा बालबालिकालाई राम्रो ज्ञान हासिल हुन सक्छ। विषयवस्तुका कोणबाट हेर्दा पुस्तकले दीर्घकालीन मुद्दाका कुराहरू उठान गरेको पाइन्छ। पुस्तक पठनीय र संग्रहणीय छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.