कर्णालीमा अर्गानिक प्रदेशको कसरत, रासायनिक विषादीमा रोक

कर्णालीमा अर्गानिक प्रदेशको कसरत, रासायनिक विषादीमा रोक
सुन्नुहोस्

सुर्खेत : कर्णालीमा २०७४ सालयता चारवटा सरकार बने। ती सबै सरकारले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने नारा छुटाएका छैनन्। पहिलोपटक गठन भएको प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले नै कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्ने निर्णय गरेको थियो। त्यसयता प्रदेश सरकारका हरेक नीति तथा कार्यक्रममा अर्गानिक प्रदेशको नारा समावेश गरिएको छ।  तर, अर्गानिक प्रदेशको योजनाले गति लिन भने सकिरहेको छैन। 

यद्यपि प्रदेश सरकारले भने अब कर्णालीमा रासायनिक विषादीको प्रयोगमा रोक लगाउने तयारी भइरहेको जनाएको छ। यसका लागि प्रदेश सरकारसँग मुख्य गरी २ वटा रणनीति छन्। पहिलो बाहिरबाट कर्णालीमा विषादीयुक्त खाद्यवस्तु र उत्पादन भित्रिन नदिने। दोस्रो कर्णालीमा गरिने उत्पादनमा रासायनिक विषादी र मलको प्रयोगलाई रोक्ने। यही रणनीतिका आधारमा कर्णालीलाई विषादीमुक्त बनाइने प्रदेश सरकारले जनाएको छ। 

कर्णालीमा हाल भारत र अन्य प्रदेशबाट तरकारी, फलफुल र खाद्य वस्तुको आयात हुन्छ। ती खाद्य बस्तुमा विषादी मिश्रणको जोखिम कायमै छ। त्यसैगरी प्रदेशभित्र पनि खेतीमा विषादीको प्रयोग भइरहेको छ। यस्तो अवस्थामा कर्णालीलाई विषादीरहित अर्थात् अर्गानिक प्रदेश बनाउन सहज भने छैन। तर, प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह भन्छन्, ‘प्रदेश सरकार आफ्नो योजनामा प्रतिबद्ध छ, हामी नागरिकलाई कुनै पनि हालतमा विषादी खुवाउन दिन्नौं। यसका लागि बाहिरबाट आउने विषादीयुक्त खाद्य बस्तुलाई प्रदेश भित्रिने मुख्य नाकामै रोक्छौं, प्रदेशभित्रै पनि खेतीमा रासायनिक विषादीको प्रयोगलाई निरुत्साहित गर्दै रोक्ने छौं।’ कर्णालीमा उत्पादन हुने तरकारी, फलफूल र खाद्यवस्तुमा रासायनिक विषादी र मलको प्रयोग रोक्न सरकारले किसानलाई पहिलो चरणमा सचेत बनाउने मन्त्री शाहले बताए। रासायनिक मल र विषादीको विकल्पमा जैविक मल र विषादीको प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्ने योजना प्रदेश सरकारको छ। 

‘रासायनिक विषादी प्रयोग भएका तरकारी र फलफूलका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या देखिएका छन्’ मन्त्री शाहले भने, ‘सबैभन्दा ठूलो मावन स्वास्थ्य हो, अत्याधिक विषादीको प्रयोगले वातावरणमा पनि क्षति पुगेको छ। त्यसकारण पनि सरकारले अर्गानिक प्रदेशको योजना ल्याएको हो, सबैको सहयोगमा कर्णालीलाई अर्गानिक प्रदेश बनाउँछौं।’ कर्णालीलाई विषादीमुक्त प्रदेश बनाउनका प्रदेश र स्थानीय सरकारले सहकार्य गर्ने भन्दै उनले अब अर्गानिक खेतीलाई प्रोत्साहन गरिने योजना सुनाए।

मुख्य नाकामा विषादी परीक्षण गरिने

कर्णालीमा विषादीको प्रयोग रोक्न प्रदेश भित्रिने मुख्य नाकामै विषादी परीक्षण गरिनेछ। यसका लागि कर्णाली भित्रिने मुख्य नाका सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला संचालन गर्न लागिएको हो। यी दुवै नाकामा विषादी परीक्षणका लागि प्रदेश सरकारले भवन निर्माण गरिसकेको छ। बाहिरबाट भित्रिने खाद्यवस्तुमा विषादी मिश्रण हुने भएकाले त्यसलाई रोक्न नाकामै परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्न लागिएको हो। यो वर्षभित्रै दुवै नाकामा प्रयोगशाला सञ्चालनमा ल्याएर बाहिरबाट विषादीरहित खाद्यवस्तुमात्र आयात गर्ने योजना प्रदेश सरकारले बनाएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहले भने, ‘प्रदेशलाई विषादीमुक्त गर्न सबैभन्दा पहिला बाहिरबाट आउने विषादीयुक्त वस्तु रोक्नुपर्छ, त्यसका लागि हर्रे र कपुरकोटमा भवन बनेका छन्। अब यो वर्षभित्रै त्यसलाई सञ्चालन गर्ने गरी काम भइरहेको छ, बजेट र जनशक्तिको पनि व्यवस्थापन भएको छ।’ हाल यी नाकाबाट विषादीयुक्त तरकारी र फलफूल बढी आउने गरेको भन्दै उनले अब नाकामै परीक्षण गरेर विषादी मिसिएका वस्तु कर्णालीमा आउन नदिइने बताए। बाहिरबाट आउने विषादीयुक्त वस्तुलाई प्रतिबन्ध लगाउने र प्रदेशभित्र विषादीको प्रयोगलाई रोकेर कर्णालीलाई चाँडै अर्गानिक प्रदेश बनाइने उनको भनाइ छ। 

सरकारले विषादीको प्रयोग रोक्न किसानलाई जनचेतना र अनुगमनको कामलाई सँगसँगै लैजाने भएको हो। यस्तै विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाही गर्न र विषादीको प्रयोग रोक्न प्रदेश सरकारले विषादी व्यवस्थापनसम्बन्धी कानुन निर्माण गर्न लागेको समेत मन्त्री शाहले जानकारी दिए।

वीरेन्द्रनगरमा विषादी प्रयोगशाला स्थापना

यसैबीच प्रदेश राजधानी वीरेन्द्रनगरमा विषादी प्रयोगशाला स्थापना भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको केन्द्रीय कृषि प्रयोगशालाले वीरेन्द्रनगरमा प्रयोगशाला स्थापना गरेको हो। वीरेन्द्रनगरमा यो प्रयोगशाला सञ्चालनमा आएसँगै अब यहाँ आउने तरकारी तथा फलफुलको नमुना परीक्षण गरिने छ। 

यो प्रयोगशालाले वीरेन्द्रनगरमा तरकारी वितरण हुने बुलबुले हाटबजार र नजिक रहेका क्षेत्रमा रहेको तरकारी तथा फलफूलमा विषादीको परीक्षण गर्ने छ। अब विषादी परीक्षणको नतिजा नआउँदासम्म तरकारी बिक्री गर्न पाइने छैन। नमुना परीक्षणमा विषादी भेटिएमा उक्त तरकारी र फलफुल नष्ट गरिनेछ भने विषादीको मात्रा नभएमा मात्र बिक्री गर्न दिइनेछ।

 केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले भने, ‘हामीले तरकारी र फलफूल खाने हो, तर विषादी पनि खाइरहेका छौं। यसलाई रोक्न यो प्रयोगशाला स्थापना भएको हो, अब खान योग्य बस्तुमात्र बजारमा जानेछन्।’ उनका अनुसार परीक्षणको क्रममा ४५ प्रतिशत भन्दा बढी विषादीको मात्रा भेटिएमा त्यो बस्तु नष्ट गर्नुपर्ने छ। वीरन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले विषादीरहित खाना खानका लागि किसानलाई नै सचेत बनाउनुपर्ने बताए। जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले किसानलाई रासायनिक मल र विषादीको साटो जैविक मल र विषादीको प्रयोगमा आकर्षित गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.