ठाँटीका सुत्केरीका सारथि सुँडेनी

ठाँटीका सुत्केरीका सारथि सुँडेनी
सुन्नुहोस्

गोरखा : सधैँ रमिता गर्न रुचाउने ठाँटी साहिँलालाई स्थानीयबासीले ‘भेलुबाजे’ भनेर हौस्याउँछन्। हाँस्यव्यङय र वाकपटुताकै कारण उनलाई सबैले न्याउली झुराएझै झुराउँछन्। 

उनकै साथ संगतमा रमाउँदैछिन् जीवन साथी ५८ वर्षकी सुकमाया गुरुङ। नाम पनि जुराएरै राखेका छन्, ठाँटी साहिँलाले। आफ्नो नाम सुकबहादुर गुरुङ अनि जीवनसाथी सुकमाया।

ठाँटी साहिँलाको प्राय समय सिस्नेरी गोठमा बित्छ, आक्कलझुक्कल घर पनि आउँछन्। सुकमाया भने घरधन्धा र मेलापात सम्हाल्दैमा व्यस्त हुन्छिन्। त्योभन्दा पनि उनको ठूलो काम छ सुँडेनीको। 

धार्चे–७, साबिक लापु गाविसमा पर्ने ठाँटीगाउँ गाउँपालिकाकै सबैभन्दा दुर्गममा रहेको बस्ती हो। यहाँबाट वडाको केन्द्र लापुगाउँ पुग्न सातदेखि आठ घण्टा लाग्छ। नजिकको गाउँघर क्लिनिक रहेको ठाउँ भीरकुना पुग्न चारदेखि पाँच घण्टा लाग्छ। त्यसैले यहाँ स्वास्थ्य सेवाको निकै अभाव छ। गर्भवती, सुत्केरी, नवजात शिशुको चेकजाँच गर्ने ठाउँ छैन। नियमित खोप, भिटामिन ए क्याप्सुल, पोलियो थोपाका लागि तीन घण्टा हिँडेर अर्को गाउँपालिकाको स्वास्थ्य संस्था जानुपर्ने बाध्यता छ।

यस्तो बस्तीमा सुँडेनी बनेर सिंगै गाउँभरिका गर्भवती, सुत्केरी महिलालाई सघाउँदै छिन् ५८ वर्षकी सुकमाया। ‘४० वर्षको उमेरदेखि मैले सुँडेनीको काम गर्न थालेको हुँ’, उनी भन्छिन्, ‘हामी त दुर्गमको मान्छे, गाउँ पनि सानो छ, मान्छे पनि धेरै छैनौं। अहिलेसम्म जम्मा सात जनालाई सुत्केरी गराइसकेको छु।’ सुत्केरीको पीडामा साथी बन्न पाउँदा खुसी लाग्ने उनी बताउँछिन्। ‘ढिँडो ओडालेर खान मात्र लागेको बेला पनि जानपर्‍यो, जानपर्‍यो भन्दै आउँछन्। एक÷दुई गाँस मात्र खाएर पनि हातै नधोइ दौडिनै पर्‍यो’, सुत्केरी गराउन मद्दत गरेको क्षणको सम्झना गर्दै उनी भन्छिन्, ‘कहिले डोको, डालो बुनेर ओयाकतिर बेच्न जाँदा पनि उही आएर जानुपर्‍यो, नगई भएन भन्न आउँछन्। 

त्यो डोको, डालो त्यहीँ थन्क्याएर सुत्केरी गराउन गाउँ फर्केर आएको छु। त्यतिबेला जति दुख भए पनि कसैलाई यो संसारमा जन्माउन मद्दत गरेको, कसैको पीडा साम्य पारेको सम्झँदा आनन्द आउँछ।’

केही लाभ पाउने आशामा कसैलाई सुत्केरी गराएको नभई परोपकारको उद्देश्यले सहयोग गरेको सुकमाया बताउँछिन्। ‘सुत्केरी गराएबापत मैले कसैसँग केही पाउने आशा गर्दिन। कसैले लुंगी दिन्छन्, लिन्छु’, उनले भनिन्, ‘आफूले सघाएर जन्मिएको बच्चा ठूलो भएको देखेर खुसी लाग्छ। त्यति भए मलाई पुगिहाल्छ।’ आजभोलिका गर्भवतीहरू भने सुत्केरी हुने मितिनजिक आएपछि गोरखा बजारमा गएर डेरा लिएर बस्ने गरेको उनी बताउँछिन्। ‘मैले छवटा सन्तान गोठमै जन्माएको हो, तर आजभोलि भने सुत्केरी हुने दिननजिक आएपछि कोही–कोही त गोरखा बजारमा डेरा लिएर बस्न जान्छन्’, उनी भन्छिन्, ‘एक जनाको चाहिँ पेटभित्रै मरेको बच्चा जन्मिएको थियो। नत्र मैले सहयोग गरेको सुत्केरीहरू सबैको राम्रै भएको छ।’ 

गाउँमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नहुँदा गाउँलेले समस्या झेलिरहनु परेको उनको भनाइ छ। ‘जोरो आयो भने नाप्ने थर्मोमिटर पनि गाउँमा छैन। तेरो घरमा सिटामोल छ ?   भन्दै सोध्दै घरघरै हिँड्नुपर्छ। कतै म्याद गुज्रिसकेको सिटामोल भेटियो भने त्यसैले चित्त बुझाउनुपर्छ’, उनी भन्छिन्, ‘नत्र, कि दुईघण्टा हिँडेर अर्को आरुघाट गाउँपालिकाको स्वाँरा गाउँ जानुपर्छ।’ प्राथमिक उपचारको तालिम पाएका महिला स्वास्थ्य कार्यकर्ता, ग्रामीण स्वास्थ्य कार्यकर्ता राखिदिए पनि केही राहत हुने उनको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.