दलहरूमा सैद्धान्तिक विचलन
भारतीय चर्चित अभिनेता नवाजुद्दिन सिद्दिकीको ‘दी सेक्रेड गेम्स’ वेभसिरिजमा एक गज्जबको डाइलग छ, ‘अपुन हि भगवान् हे। अर्थात्, म नै भगवान् हो।’ सिरिजमा शक्तिको उन्मादमा पुगेका एक हिंस्र्रक पात्र सिद्दिकीको एक मात्र विकल्प हुन्छ ‘डु अर डाइ’ (गर या मर)। मादक शक्ति अभ्यासको चरम बिन्दुमा पुगेका पात्र सिद्दिकीको भगवानीय अवतार स्खलन तब हुन्छ , जब वैकल्पिक शक्तिको निर्माण हुन्छ त्यो पनि छोटो कालखण्डमा। जसको भूमिका नायक सैफ अलि खानले गर्न थाल्छन्। माथि भनिएजस्तै विद्यमान शक्ति वैकल्पिक शक्तिसामु कतिपय क्षणमा क्षीण भइदिन्छ। यसै प्रकारको भय नेपाली दलहरूमाझ वालेन र रवि फ्याक्टरले पारेको देखिन्छ , नेपाली डायस्पोरामा।
माथि वालेन फ्याक्टर मौन छ तर सञ्जलिय जनमत सहितको छ। रवि फ्याक्टर बोलक्कड, बेगिलो देखिन्छ तर उ टेस्टेड (परिक्षित) छ। वालेन फ्याक्टर नव युवाहरूको एक ट्रेण्ड ( प्रवृत्ति) हो भने रवि फ्याक्टर बिदेसिएका युवा जमातको फेसन हो। लाग्छ, वालेन ट्रेन्ड अबको केही समयमा एक अंकुुश शक्तिको पर्याय वन्न सक्छन्, फिलिपिनी नेता फर्डिनान्ड मार्कोस जस्तै। स्वतन्त्र अस्तित्व भएका फ्याक्टरका विशेषता फरक हुनु पनि एक प्रजातान्त्रिक मर्म पनि हो। काण्ड सबै दलका पर्याय र ब्रान्ड भएजस्तै नेपाली जनताको पर्याय सहनशीलता हो। फ्याक्टर्स तब बलिया हुन्छन् तब, उग्रराष्ट्रवादको नारा कम बहन थाल्छ, दोस्रो विश्वयुद्धमा एक्सीस पावर (धुरी शक्ति) मा रहेका जर्मन, इटाली र जापानले गरेजस्तै। यसै कारण पनि हिटलरको पतन भएको विश्वास गरिन्छ।
नेपाली दलका दलदलमा फस्न नेपाली युवा जमातको मोह छैन। युवाले राजनीतिलाई कि त पेसा कि त भ्रष्टाचारको ब्युह मान्द छन् हिजाआज। नेपाली राजनीतिका वादलाई प्रतिवाद गर्ने, जमात बरु पब्जी र फ्रि फायरमा रम्दछ विदेश मोहको चेतना नपलाउँदासम्म। के सैद्धान्तिक बिचलन नेपाली दलका दण्डहीनताका उपज हैनन र ? तैपनी दलीय उदण्डताका पराकाष्टा अझसम्म पनि कम भएको अनुभव गर्न सकिएको छैन। भनिन्छ, दीप झन् प्रगाढ बन्छ जब उसको अन्त्य पक्का छ। प्रगाढताको तय त्यहाँ रहेको ऊर्जा ( तेल) ले गर्छ, खै त ग्राउन्ड लेवलमा ऊर्जाको परिमाण ? कतै नेपालको शासकीय स्वरूपले पनि यही त खोजिरहेको छैन ? ऊर्जाको घनिभूतता र प्रखरताको मात्रामा बढोत्तरी गराउने वास्तविक जनमानसको अभावको राम्रै मोल मुलुकले भविष्यमा चुकाउनुपर्ने लगभग निश्चित प्रायः छ।
माथि उल्लेख भएजस्तै सन्दर्भकृत रूपमा लेखाजोखा गर्दा अपुन हि भगवान् हे को प्रवृत्तिको छिनोफानोको समय निम्तनबेर लाग्दैन जब नेपाली दलहरूले विद्यमान राजनैतिक सिद्घान्तमाथी क्षयीकरणको गर्न थाल्द छन् वा सिद्घान्तको नजरअन्दाज स्वतः हुन थाल्द छ, जुन प्रवृत्तिको सुरुवातको हिजाआज आभाष महसुस हँुदै छ। अब नेपाली दलमा आत्मिक क्षयीकरणको हिसाव लगभग बेगिलो बन्दै छ। के यो सैद्घान्तिक बिचलनको मुद्दा अम्भरिलो वन्दै जानु स्वाभाविक हो र ? कि यो बिचलनको हिस्साको भागिदार हामी स्वयं पनि बन्दै छौ ? यसर्थ पनि हरेक समूह वा पंक्तिको सामूहिकतालाई एकीकृत गर्ने आधारशीलाका रूपमा सिद्घान्त स्वयं पनि एक गतिलो आयाम हुनसक्छ, दुरगामी दलको। दुरगामिता वा दिगोपना हरेक व्यक्ति वा समूहको फस्टाउने औषधिसमेत होभन्दा फरक नपर्ला।
बिचलनको मोह कसैको पनि चाहना होइन, तर क्याटलिस्ट (प्रतिक्रिया कम वा बढी गर्ने वा उत्प्रेरक) को रूपमा स्वतः देखापर्ने एक असबाब हो , जसको ग्रहणशीलता हामी स्वयंमा भर पर्ने कुरा हुनसक्छ। ग्रहणशीलतको दायरामा घटी बढी, त्यो व्यक्ति वा दल आफैमा भर पर्ने कुरा हो। ग्रहणशीलता यस मानेमा कि सन् २०१० पश्चात् शेख हसिनाले वंगलादेशमा जमात ए इस्लामी (एक बंगलादेशी दल) लाई डेमो दिन (देखाउन ) पनि युद्ध अपराध र धर्म निरपेक्षताको अभ्यास गरेको बुझ्न सकिन्छ। विश्व राजनीतिमा प्रतिपक्ष लक्षित डेमो स्वाभाविक हो। सन् २०२४ अगस्टको सानो परिघटनाले निम्त्याएको व्यवस्था परिवर्तनमा सो डेमोको प्रतिक्रिया के हुन सक्ला भन्ने हेक्का सायद हसिनाले गर्न सकेको भए दशकांै कायम रहेको विरासत पलटकै स्थिति उनले बेहोनुपर्दैन थियो होला। धर्मकेन्द्रित मात्र हैन, अन्य राष्ट्रिय राजनीतिक सुधार र विषयवस्तुमा नेपाली सत्तासीन दलहरू पनि डेमो केन्द्रित गतिविधिमा सक्रिय नबन्दा गज्जब हुन सक्थ्यो।
विश्व भूराजनैतिक परिवेसमा अनुकूल सिद्धान्त सबै शक्तिका मुल मन्त्र हुन्। चाहे त्यो विकसित मुलुकमा होस्, विकासोन्मुख मुलुकमा होस् वा अतिकम विकसित मुलुकमा होस। अमेरिकी प्रमुख दल रिपब्लिकन पार्टीको प्रमुख राजनीतिक सिद्घान्त भनेको राज्यको कर प्रणालीमा सुधार, वित्तीय स्वतन्त्रतामा अनुकूलता, सरकारद्वारा प्रयोजित समाज सुधार कार्यक्रम, श्रमिकको दुरगामी हकहित जस्ता कुराजस्ता छन भने अर्को प्रमुख दल रिपब्लिकनको राजनीतिक सिद्घान्तमा आधुनिक उदारवाद, नागरिकका अधिकारमा थप सुनिश्चितता, विकेन्द्रीकरणका आयाममा थप सुधार, कूटनीतिको दायरामा अभिवृद्घि जस्ता कुराहरू छन्। माथि उल्लिखित विषयवस्तुमाथि घनिभूत छलफलपश्चात मात्र थप घोषणपत्रमा काम हुन्छ। जहाँ सिद्धान्तहरू निर्मल र यर्थाथमा आधारित हुन्छन्। नेपाली दलकै सिद्धान्तका कुरा गर्दा सिद्धान्तहरू क्लिष्ट छन्, कतिपयका सिद्धान्त लिगेसीमा (विरासत) आधारित छन् भने कतिपय दल सिद्धान्त बेगरका छन्। सिद्धान्तबेगरता एक मध्यमार्गी वा तटस्थताको स्टेट (अवस्था) हो, जसमा दिगोपनाको आधारलाई शून्यको संज्ञा दिन पनि सकिन्छ।
पछिल्लो समय नेपाली सबै दलका पर्यायका रूपमा समाजवाद सबैको साझा सिद्धान्त बन्दै छ, चाहे त्यो साम्यवादी होस् वा दक्षिणपन्थी होस् वा वामपन्थी होस्। विचार र वाद केवल देखाउने दाँत सावित बन्दै जानु कलियुगको आशीर्वाद हो भनेर नकार्न सकिने अवस्था छैन। दु्रत आर्थिक कायान्तरण हिजाआज सबैको सैद्धान्तिक मूल मन्त्र बन्नु स्वाभाविक हो, व्यवस्था र तत्कालिन दण्डहीनताको अवस्थामा। परिवर्तनका पक्षधर दलिय व्यवस्थामा फास्टट्र्याकमा कार्य सम्पन्न गर्न राज्यका सबै अंगहरू अब्बल हुनु पनि विकासको एक पक्ष सवल बन्नु नै हो। यसै मेसोमा राज्य प्रणालीका मूलभूत आधारस्तम्भका रूपमा रहेका आर्थिक कार्यप्रणालीलाई सुस्ताउन दिनु कदापी पनि गज्जब हैन।
प्रजातान्त्रिक अभ्यासमा सैद्धान्तिक शासकीय जटिलता स्वभाविक हो। परिवेश, अनुकूलता र प्रणालीमा आधारित शासन व्यवस्थामा सैद्धान्तिक बिचलनले ठूलै प्रभाव पार्न सक्छ, तर विरासतमा आधारित विचारले हालको युवा जमातको विचारलाई ड्राइभ गर्न (हाँक्न) नसक्ने लगभग निश्चितप्राय छ। यसलाई विश्वव्यापीकरण र साक्षरताको उपज हो भनेरभन्दा फरक पर्दैन। राजनीतिक चेत हिजाआजका युवावर्र्गले विकास गर्नु आवश्यक नै ठान्दैन। युवावर्गले सोच्न सक्ने र महसुस गर्न सक्ने राजनीतिक चेतनाको विकासपश्चात मात्र दलगत सिद्धान्तको कुरा गर्दा ठीक हुन सक्छ। यसै कारण पनि दलहरूले म नै राज्य हुँ भन्ने खालको भावनाको विकास हुनै नदिई परिवर्तनका पक्षधर शक्तिका रूपमा आफूलाई उभ्याएर आयामिक कार्य सम्पादन गर्न सक्दा बिचलनको दलदलवाट उम्कन सक्ने आधारशीला वन्न सक्छ , यसमा दुईमत नै छैन।