एनआरएनमा राजनीतिकरण नगरौं
एनआरएनका नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्। काठमाडौंमा गैह्रआवासीय नेपाल संघ (एआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकताको विषयमा देखा परेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले एनआरएनका जुनसुकै समस्याहरू समाधान गर्न सरकार तयार रहेको र त्यसका लागि प्रस्ताव लिएर आउन आग्रह समेत गरे। 'तपाईंहरूका समस्या के के छन् ? प्रस्ताव लिएर आउनुहोस् । हामी समस्या समाधान गरिदिन्छौं,तपाईंहरूलाई सुविधा दिन संसद्बाट त्यही कुरा पास गरौंला ,'उनले भने,'तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु, सरकारको तर्फबाट कुनै हस्तक्षेप हुनेछैन। सकेको सहयोग गर्छौं।'
प्रधानमन्त्री ओलीले संगठनलाई बलियो बनाउन एकतावद्ध हुन समेत आग्रह गरे। उनले भने, 'तपाईंहरूले संगठनलाई एकतावद्ध राख्न सक्नु भयो भने । त्यसपछि काम गर्न त सकिहालिन्छ। एकतावद्ध भएपछि काम गर्न सकिन्छ। आजको जवानमा काम गर्न चाह्यो भने छिटो काम गर्नका लागि मेसिन बनेका छन्। अझ छिटो बनाउनका लागि कम्प्युटर छन्। अझ पछिल्लो जेनरेसनमा एआई बनेको छ। मेसिनहरूले मानिसको लाइफ सहज बनाएको छ। यसैले गर्न नसकिने भन्ने छैन।'
प्रधानमन्त्री ओलीले नेपालमा विकासका लागि तमाम पूर्वाधारहरू बनेको बताउँदै लगानी गर्न सकिने बताए। 'पूर्वधारहरू बनेका छन्। बाटाघाटाहरू बनेका छन्। हवाई मैदानहरू बनेका छन्। केही जटिलताहरू छन्। तिनीहरूलाई समाधान गर्न सकिन्छ। विकास गर्न सकिन्छ,'उनले भने,अहिले दुर्गम भनेको न कुनै जिल्ला रह्यो न कुनै भूभाग । अब सगरमाथाका टुप्पाहरू खोज्न थाल्यो भने त दुर्गम दुर्गमजस्तो अलि गाह्रो भइहाल्छ। सबै ठाउँमा त बाटोबाटो संसारभरी कही हुँदैन।'
उनले एकतावद्ध भएर नेपालको विकासका लागि जुट्न आग्रह समेत गरे। प्रधानमन्त्री ओलीले भने, 'अब विकासका लागि हामीले कनेक्टिभिटीका हिसाबले सुगम बनाएका छौं। हामी एकजुट हुनुपर्यो। देशका लागि काम गर्नुपर्यो। समुदायका लागि काम गर्नुपर्यो। संगठनलाई बलियो बनाउनुपर्यो।'