आम्दानीको मुख्य स्रोत बन्दै मौरीपालन व्यवसाय
दोलखा : गौरीशंकर गाउँपालिकामा मौरीपालन व्यवसायबाट कृषकहरू आम्दानीका स्रोत बढाउँदै छन्। परम्परागत भन्दा पनि आधुनिक मौरीपालन व्यवसाय गरिरहेका किसानहरूको जीविकोपार्जनको स्रोत मौरीपालन बनेको छ।
गौरीशंकर गाउँपालिका-५ काप्तीका रामकुमार खड्काले २०७० सालबाट मौरीपालन गर्न सुरु गरेका हुन्। चार/पाँच घारबाट मौरीपालन व्यवसाय सुरु गरेका उनीसँग अहिले चालिस घार मौरी छन्। उनले महसँगै मौरीको घार पनि बेच्ने गरेका छन्।
वैदेशिक रोजगारबाट फर्केर आइसकेपछि अब के गर्ने होला भन्ने कुराले उनलाई पिरोलिरहेको थियो। यसैक्रममा कृषि विकास कार्यालय दोलखाले मौरीपालनको तालिम दिने भन्ने सुनेर उक्त तालिममा सहभागी भए। त्यहाँ सहभागीहरू धेरैले मौरीपालनबाट राम्रो आम्दानी लिन सकिन्छ भनेपछि उनले पनि मौरीपालन सुरु गरेका हुन्।
मौरीपालन व्यवसाय सजिलो, लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय हो। धेरै मेहनत पनि गर्न नपर्ने मौरीपालन व्यवसायबाट राम्रो आम्दानी पनि हुने हुदा युवाहरूका लागि धेरै सहज काम भएको खड्काको भनाइ छ। एउटा घारमा राम्रोसँग भयो भने पाँच केजीसम्म मह हुन्छ। मौरीलाई एक घारबाट चार घारसम्म बनाउन सकिने र गाउँतिरबाट वनमा आएको मौरीलाई पनि घारमा ल्याएर राख्न सकिन्छ। जेठ लागेपछि मौरीको घार सबै बेच्ने र आफूलाई आठ दश घार राख्ने गरिएको छ। ब्याडका रूपमा मौरी बेच्ने र रानी आफैले बनाउने उनले बताए।
मौरीको आयु ४० दिनको हुन्छ। मौरीलाई जति चराउन सक्यो त्यति नै बढि मह दिन्छ। असोज कात्तिकमा जन्मेका मौरीले धेरै कसरत गर्नुपर्ने हुँदा अलि बढी मौरीलाई दुख हुनाले आयु अलि छोटो हुन्छ।
मौरीले फूलबाट मह बनाउने भएकाले फूलबारी छेउमा भए राम्रो हुन्छ। घर नजिकै प्रशस्त फलफूल, तोरी, आरु, खुर्पानी, गोगन लगायतका विभिन्न रुखहरू भएकाले मौरी चरनको पनि समस्या छैन। मौरी चराउनकै लागि गाउँबाट अन्त लैजानुपर्ने अवस्था छैन,’ उनले भने।
गाउँमा जंगल प्रशस्त र मौरीका लागि उपयुक्त बोट बिरुवाहरू पनि गाउँमै छन् । त्यसैले चरनका लागि समस्या छैन,’ उनले थपे।
घर खर्च सबै कटाएर वार्षिक १० लाख बढी बचत हुने गरेको छ। सँगै किवि खेती र काठको फर्निचरबाट पनि थप आम्दानी हुन्छ उनले भने। गाउँमा अरूलाई पनि उनले नै मौरीको घार बेच्ने गरेका छन्।
मौरीले आफ्नो खाना आफैं खोज्छ तर फूल वा तोरीबारी र वन छेउमा छ भने यसलाई सजिलो हुन्छ। मह र मैनलाई औषधि बनाउन प्रयोग गरिन्छ। मैनलाई मैनबत्ती बनाउन, मूर्ति बनाउने जस्ता कार्यमा प्रयोग गरिन्छ। महलाई औषधिका रूपमा सेवन गरिन्छ। महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्त्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्।
पहिला मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुढा आदिमा राखेर पालन गर्ने गरिन्थ्यो। यही शिलशिलामा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भएको हो। मौरी ४० जातका हुन्छन्। सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पनि पालन गर्न सकिन्छ। मौरी किसानहरूका लागि मित्र कीरा हो।
मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ। मौरी बिना उचित परागसेचन नहुँदा खाद्यवस्तुको उत्पादनमा ह्रास आउँछ। विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न मौरीले पनि ठूलो भूमिका खेल्ने गर्दछन्। मौरी, मानव र प्रकृति बीच अनुपम सम्बन्ध छ।