अब मधेसका जनताले संघीयताको वास्तविक अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री सिंह
वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनेपछि जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिकाको सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।
मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरू आफ्नो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको उनले बताए । मुख्यमन्त्री सिंहले भने,‘संघीयताको वास्तविक अनुभूति अब मधेसका जनताले गर्न पाउँछन् । अबको ६ महिनाभित्रका मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूति गराउँछ ।’
विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने उनले बताए । उनले भने,‘ कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन । हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ।’
मुख्यमन्त्री सिंहले संघ सरकार र उसका मातहतका कर्मचारी संयन्त्रको असहयोगका बाबजुदपनि प्रदेश सरकारले ती चुनौतीलाई चिर्दै मधेसको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिर पनि गरे । युवाको विदेश पलायन रोक्न प्रदेश सरकारले मधेसमै रोजगारी र अवसरको सृजना गर्न कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए ।
मधेस सरकारले वीरगन्जमा आइटी पार्क , माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै उनले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।
कार्यक्रममा विभिन्न दलका गरी ६ सयभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको र उनिहरुलाई मुख्यमन्त्री सिंहले टीका लगाएर पार्टीमा स्वागत गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।