पर्सामा फेरि सुरु भयो गाँजाको खेती

पर्सामा फेरि सुरु भयो गाँजाको खेती
सुन्नुहोस्

वीरगन्ज : पर्सामा केही वर्षदेखि रोकिएको लागूऔषध गाँजाको खेती फेरि सुरु भएको छ। गाँजा खेती र कारोबारका लागि देशमै बदनाम भएको पर्सा जिल्लामा प्रहरी–प्रशासनको सक्रियताले विगत करिब एक दशक यता गाँजाको खेती रोकिएको थियो। मकवानपुर र धादिङ जिल्लाका दुर्गम पहाडी भेगमा उत्पादित तयारी गाँजा जंगलको बाटो हुँदै पर्सामा ल्याएर सीमा नाकाबाट भारत तस्करी हुँदै आएको थियो। खेती भने रोकिएको अवस्था थियो। 

तर अहिले फेरि पर्साका विभिन्न स्थानमा गाँजाका कारोबारी र किसानले नै लुकीछिपी गाँजाको खेती व्यापक रूपमा गरेको भेटिएको छ। ठोरी, पटेर्वा सुगौली, जिराभवानी र सखुवा प्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका जंगलसँग सीमा जोडिएका गाउँ र खोला छेउका सुनसान बगरमा गाँजा खेती व्यापक रूपमा गरिएको छ। 

एक साता यतामात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरी ८ बिघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेकाले पर्सामा फेरि गाँजाको खेती भइरहेको तथ्यलाई पुष्टि गरेको छ। गत बुधबारदेखि सोमबारसम्म गरी विभिन्न स्थानमा गरी करिब ८३ हजार वटा गाँजाको बोट प्रहरीले फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सोमबार मात्रै प्रहरीले पाँच बिघा जग्गामा लगाइएको करिब ७० हजार गाँजाको बोट फडानी गरेर नष्ट गरेको हो। सोमबार बिहान सखुवा पर्सौनी गाउँपालिका-१, सखुनियाको बिन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापन समिति र मनवा सबडिभिजन वन कार्यालय अन्तर्गत पर्ने राष्ट्रिय वनभित्रको ५ बिघा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो। राष्ट्रिय वनमा घाँस दाउरा लिन गएका स्थानीयले वनभित्रको जग्गामा गाँजा रोपिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा पुगेर गाँजा खेती फडानी गरेर नष्ट गरेको हो । 

बिन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापन समिति र मनवा सबडिभिजन वन कार्यालय अन्तर्गत पर्ने उक्त वनभित्रको करिब ६० हेक्टर जगामा गत वर्ष डिभिजन वन कार्यालय पर्साले तारजालीको घेराबार लगाएर वृक्षारोपण गरेको थियो। तर तारबार लगाएर वृक्षारोपण गरिएकै उक्त जग्गामा गाँजाका कारोबारी र स्थानीय किसानले अहिले पोहोर रोपिएका बिरुवाहरू उखेलेर त्यहाँ गाँजा रोपेको भेटिएको हो। 
डिभिजन वन कार्यालयले लाखौं रुपैयाँ खर्च गरेर तारबार लगाएर वृक्षारोपण गरेकै जग्गामा अहिले गाँजा खेती गरेको भेटिँदा यसमा वन कार्यालय र मातहतका कर्मचारीहरूको पनि मिलेमतो रहेको हुनसक्ने आशंका स्थानीयको छ। 

यस्तै गत शनिबार पनि प्रहरीले पर्सागढी नगरपालिका-१ गुलरिया र वडा नम्बर ३ झबराहामा गरी दुई बिघा जग्गामा लगाइएको करिब १५ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरेको थियो भने गत बुधबार पनि प्रहरीले पटेर्वा सुगौली गाउँपालिका-२ थरघाटी टोलमा एक बिघामा लगाइएको करिब ८ हजार वटा गाँजाको बोट नष्ट गरेको थियो।

पर्साका विभिन्न स्थानमा लुकीछिपी गाँजाको खेती भइरहेको सूचना आएपछि प्रहरीले फेरि केही दिन यतादेखि अभियान नै चलाएर गाँजा खेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए। उनले भने,‘ प्रहरीले आफ्नो तवरबाट पत्ता लगाएर गाँजा खेती नष्ट गर्दै आइरहेकै छ। यससँगै हामीले जनतासँग पनि अपिल गरेका छौं कहिकतै गाँजा खेती गरिएको रहेछ भने प्रहरीलाई सूचना वा खबर गरेर सहयोग गरिदिनु होला।’

अहिले पर्सामा मकवानपुरका दुर्गम पहाडी भेगबाट गाँजाका कारोबारीहरूले गाँजाको बिउ ल्याएर किसानहरूलाई खेतीका लागि उपलब्ध गराउँदै आएको पटेर्वा सुगौली गाउँपालिका-२ थरघटीका एक किसानले बताए। उनले भने, ‘पर्सामा त धेरै समयदेखि गाँजा खेती भएकै थिएन। त्यसका कारण अहिले गाँजाको बीउ मकवानपुरबाट ल्याएर यहाँ किसानलाई कारोबारीले दिन्छन्।’

एक वर्षअघिदेखि औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीमा लगाइएको प्रतिबन्ध सरकारले नै हटाउने बहस सुरु भएपछि पर्सामा अहिले फेरि किसानहरूले हौसिएर गाँजा खेती गर्न थालेको थरघटीका ती किसानले बताए। उनले भने, ‘पर्सामा पहिले जब गाँजा खेती हुन्थ्यो किसानहरू सुखी थिए। किनकी गाँजा खेतीबाट मनग्गे आम्दानी हुन्थ्यो। त्यही भएर अहिले किसानहरू फेरि त्यता लागेका छन्। किनकी सरकारले नै अब गाँजा खेतीमाथिको प्रतिबन्ध हटाउने भनेर हल्ला चलिरहेको छ।’   

तर पर्साका प्रहरी नायब उपरीक्षक भारतीले भने सोसल मिडिया वा बजारमा जे हल्ल चलेको भएपनि कानुनले गाँजा खेती, ओसार पसार र सेवनमा प्रतिबन्ध नै लगाएकाले प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिइरहेको बताए। पर्सामा फेरि गाँजा खेती सुरु भएकै हो त ? भन्ने प्रश्नमा भने जवाफ दिँदै भारतीले भने,‘ थाहा नपाउने, नदेखिने ठाउँमा लुकीछिपी गाँजा खेती गरेको भेटिइरहेको छ। त्यसैले हामीले जिल्लाभरका मातहतका प्रहरी पोष्टका इन्चार्जहरूलाई खोजी खोजी गाँजाखेती नष्ट गर्न निर्देशन नै दिइसकेका छौं। जिल्लामा गाँजा खेतीलाई निर्मूल नै पार्ने गरी हामी लागिरहेका छौं।’
   
नेपालको कानुनमा रहेको लागूऔषध (नियन्त्रण) ऐन २०३३ मा लागूऔषध गाँजा खेती रोकथाम सम्बन्धी व्यवस्था  छ। यो ऐनले गाँजा तथा अन्य लागूऔषधको उत्पादन, बिक्री, वितरण र सेवनलाई नियन्त्रण गर्ने कानुनी आधार प्रदान गरेको छ। यस ऐनमा गाँजाको खेती, ओसारपसार, बिक्री–वितरण वा सेवनमा संलग्न हुने कार्यमा दोषी देखिएकालाई दण्डनीय अपराधको रूपमा कारबाही गरिने पनि उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.