अख्तियार र भ्रष्टाचार निवारणसम्बन्धी ऐन सरकारको प्राथमिकतामा : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण,भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्णरुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे।
'प्रस्तुत विधेयक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ,'गृहमन्त्री लेखकले भने,'यी विधेयक प्राथमिकतामा छन्,तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।'
उनले आउँदो अधिवेशबाट पूर्णरुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे। 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसायिकरुपले परिमार्जन र संशोधन गर्न विधयेक प्रस्तुत गरिएका छन्, 'उनले भने, 'जुन समितिमा विचाराधीन रहेको अवस्था छ ।'