तिहार बिदा पनि सर्वोच्च अदालत खुला रहने
काठमाडौं : तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्न सर्वोच्च अदालत तिहार बिदामा खुला रहने भएको हो।
सर्वोच्च अदालत प्रशासनले आज एक सूचना जारी गर्दै कार्त्तिक १५ देखि १९ गतेसम्म (तिहार बिदा) अदालत बन्द रहने भएपनि बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने जानकारी गराएको हो।
'कार्त्तिक १५ देखि १९ गतेसम्म अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ,'सूचनामा भनिएको छ।
यसअघि दशैं बिदामा पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको थियो।