इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद
वासिंगटन डिसी : अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीहरूसँगै अमेरिकाका सांसदहरूले तिहार उत्सव मनाएका छन्।
सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय संसदका सदस्य कंग्रेसम्यान स्कट पेरी र उनको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरू डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोली सहितका जनप्रतिनिधिहरूले नेपाली मूलका बालबालिकाहरू र तिनका अभिभावकसँगै देउसीभैली एवं नेपाली सांस्कृतिक नृत्य र गीतमा रमाइलो गरेका थिए।
इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भएको सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग शहरको इन्ट्रा म्युजिक स्कूलका बालबालिकाहरूले नेपाली सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा तिनै बालबालिकाले देउसी भैलो खेलेर नेपाली सांस्कृतिक चाड मनाएका थिए।
कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई आफूहरू बसेका स्थानहरूमा जीवन्त राख्न र आफ्ना सन्तान दर सन्तानसम्म नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न फाउण्डेसनले अमेरिकाका विभिन्न सहरहरूमा सांस्कृतिक नृत्य तथा गायनका निःशुल्क कक्षाहरू सञ्चालन गरेको जानकारी दिए। नेपाली मूलका ११ सयभन्दा बढी बालबालिका एवं किशोर किशोरीले ती कक्षाहरूमा नेपाली सांस्कृतिक नृत्य र गायन सिकिरहेको उनले बताए।
आफ्नो संस्कृतिको पालना गर्न खोज्दा भुटानबाट लेखेटिनु परेको अवस्थाको स्मरण गर्दै उनले शरणार्थी भएर नेपाल बस्दा होस् वा पुनर्वासअन्तर्गत अमेरिका आएर होस् नेपाली संस्कृतिलाई जीवन्त राख्न र पुन्तान्तरण गर्न प्रयास गरिरहेको बताए। उनले नागरिकताले राष्ट्रियता फेरिए पनि नेपाली जातीय पहिचान कहिल्यै नफेरिने पनि बताए। कार्यक्रममा अमेरिकी संघीय संसदका सदस्य कंग्रेसम्यान स्कट पेरीले आ-आफ्नो संस्कृति स्वतन्त्र र सुरक्षित रूपमा मनाउन पाउनु पर्ने धारणा राखे। उनले आफ्ना पूर्वज कोलम्बियामा आएको, आफ्ना चिफ अफ स्टाफका पूर्वज इटलीबाट आएको बताउँदै नेपाल र भुटानबाट आएका नेपालीहरूको सांस्कृतिक उत्सवमा भाग लिन पाउँदा खुसी लागेको बताए।
वरिष्ठ बाँसुरीवादक सुशील विश्वकर्माले बाँसुरीबाट तिहारको धुन एवं कलाकारहरूले जहाँ छन् बुद्धका आँखा बोलको राष्ट्रिय गीतबाट सुरु गरिएको कार्यक्रममा नेपाली मूलका बालबालिकाले उत्साहपूर्ण प्रस्तुतिले दर्शकहरूले मनोरञ्जन दिएका थिए। दावा तामाङको स्वागत एवं ओमराज गुरुङको धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका बालबालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताएको बताएका थिए।
आयोजक संस्थाका वेदव्यास काफ्लेले दिएको जानकारीअनुसार कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायनका कक्षाको पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो।