चर्किएको छाती !
सुम्सुम्याउँदै गन्छिन् दस वटा पुगेछ । एघारौं मालालाई पर्खिरहेको भित्तोलाई हेरेर टोलाउँछिन् । फेरि दोहोरिएर आएको छ, तिहार । विगतका १० वटा तिहारहरूमा आफ्नै हातले उनेर राखेका मखमली फूलका मालाहरू भित्तामा अझै उस्तै छन् । आज काग तिहारको दिन, आफ्नो दाजुलाई मनपर्ने एक बिँडा पान, हरियो दूबोसहित सयपत्री र मखमली फूलले बेरेको बुकी र तोरीको तेल हातमा लिएर आज पनि आफ्नो घरको दैलोमा उभिएकी छिन् । के सोचिन् कुन्नि कोठामा फर्केर आइन् । आँखाबाट आँसु झरिरहेका छन् ।
७ वर्षको छोरा आमा रोइरहेको देखेर आमाको छेउमा आउँछ । ‘बुवाले हिजो फोन गरेर नरुनु है यसपालिको दसैं, तिहारसँगै मनाउन पाइनँ अर्को वर्षसँगै रमाइलो गरौंला’ भनेको होइन ! भनेर आमालाई सम्झाउँछ । दसैंमा छोराले मामाघर जाने भनेर जिद्दी गर्दा लान नसकेका दिनहरू सम्झिन्छिन् । विगतका दसैंमा छोरालाई केही न केही भन्दै टार्दै आएकी थिइन् । आज आफैंलाई टार्न भने गाह्रो परिरहेको थियो ।
उनी तीन वर्षकी हुँदा बुवा र आमा दुर्घटनामा परेर बित्नु भएको । बुवा बित्दा दाजु कमल १३ वर्षका थिए । तीन वर्षको उमेरदेखि दाजुको काखमा हुर्किएकी सीतालाई बाबाआमाको अनुहार त्यति सम्झना छैन । दाजुबाटै बाबुको माया पाउँदै लाडिएर हुर्किइन् । दाजुको विवाहपछि आमाको रूपमा भाउजूलाई पाएर खुसी थिइन् । भाउजू पनि नन्दलाई अति नै माया गर्थिन् ।
दिनहरू बित्दै थिए । घरबाट करिब एक घण्टाको दूरीमा रहेको विद्यालयमा कक्षा १ मा भर्ना भइन् सीता । विद्यालयसम्म दाजुले पुर्याउने र ल्याउने गर्दै ३ कक्षामा पुगिन् । गाउँकै रमेश पनि ३ कक्षामा सीता पढेकै विद्यालयमा भर्ना भयो । अब दुईजना भए एउटा गाउँबाट एउटै विद्यालय र एउटै कक्षामा पढ्ने । विद्यालयसम्म दैनिक २ घण्टाको पैदलयात्रा र सहपठनसँगै दुवैजनाले एउटै वर्ष एसएलसी पास पनि गरे । विद्यालयकै छेउमा रहेको निजी कलेजमा कमलले सीतालाई प्रवीणता प्रमाणपत्र तहमा भर्ना गरिदिए ।
रमेशको परिवार गरिब थियो । रमेशले आफ्नो उच्च शिक्षाको अध्ययनलाई निरन्तरता दिन सकेन। पढाइलाई बीचमै छोडेर बाबाआमालाई खेतीमा सघाउन थालिसकेको थियो । विद्यालय पढ्दासम्म सीतालाई कुनै अनुभूति थिएन । जब एक्लै कलेजको यात्रामा लागिन् अनि रमेशको साथ र विद्यालय आउने क्रममा पार गरेका ती बाटोहरूले पनि सताउन थाले । दिन जसोतसो बित्थ्यो । जति साँझ ढल्किन्थ्यो उति छटपटी बढ्दै जान्थ्यो । सायद यही थियो कि माया !
‘के उसलाई पनि मलाई जस्तै महसुस भइरहेको छ ? कतै एकोहोरो त होइन !’ यस्तै सोच्दै मनमनै डराउँथिन् पनि । न त रमेशलाई भेटेर सोध्नै सकेकी थिइन् । दाजु, भाउजूले आफ्ना लागि गरेको त्यागले सीमा उल्लंघन गर्न उनलाई रोकिरहेका थिए । दाजु र भाउजूको स्नेहले गद्गद् तर मनमा उर्लिएका भावनाहरूको भुँमरीमा भने दिनदिनै गाँजिदै थिइन् ।
एकदिन रमेश विद्यालयमा आफ्ना सर्टिफिकेटहरू लिन जाँदै थियो । संयोगले नै भनौं करिब एक वर्षपछि रमेश र सीतासँगै यात्रा गर्नेमा परे । यात्रामा छन् तर उर्लिएको मनमा बाँध लागेजस्तै । कलेज र पढाइका सामान्य कुरा । तर चाहना भने फरक थिए । सीतालाई रमेशसँग मनका कुरा गर्नु थियो तर कहाँबाट सुरु गर्ने बहानामा भने अन्योल थिइन् । यस्तैमा एक्कासि उनको खुट्टा बाटामा लडिरहेको ढुंगामा ठेस लाग्न पुग्छ । लडखडाउँदै लड्न पुग्छिन् । आफूलाई सम्हाल्दै भुइँमा थचक्क बसेकी सीताको दाहिने खुट्टाको चोरऔंलाबाट रगत बगिरहेको थियो । रमेशले आफ्नो बगलीबाट हाते रुमाल झिकेर सीताको खुट्टाको औंलाबाट बगेको रगत पुछ्दै ‘अलि राम्रोसँग हेरेर हिँड्नु पर्दैन ?वर्षौँदेखि हिँडिरहेको बाटोलाई पनि कसरी नचिनेकी ?’ रमेशका आँखाहरू सीताको खुट्टाको घाउमा थिए । आँखा नजुधेर होला सीतालाई वातावरण बनेझैं लाग्यो र भनिन् ‘तिमीले पनि वर्षौंदेखिको हाम्रो यात्रा र मनभित्रका व्यथालाई चिनेनौ नि !’
कतिखेर सीता रमेशको छातीमा टाँसिइन् र रमेश सीतातिर, दुवैलाई थाहा थिएन । सुनसान बाटोमा मुस्किलले आफ्नो बाटो पहिलाएझैँ निर्धक्क थिए । सीताका आँखाबाट झरेका आँसुले रमेशको कमिज भिजिसकेको थियो भने रमेशका आँखाबाट वर्षेका भेलले सीताको कुम । एकअर्कामा जुँधिरहेका नजरले वर्षौंदेखिको प्यास मेट्दै थिए । झरिरहेका आँसुहरू केही खुसीका थिए भने केही लामो समयसम्म एकले अर्कालाई मन नखोलेको दुःखेसोमा थिए । घण्टौंसम्म मन खोल्दै गर्दा समय बितेको पत्तो भएन । एकअर्कोमा समाहित हुँदै सँगै मर्ने र सँगै बाँच्नेसम्मका वाचा गर्न भ्याइरहेका थिए । सर्टिफिकेट लिन हिँडेको रमेशको विद्यालय बन्द भइसकेको थियो भने सीताको कलेजका कक्षाहरू बितिसकेका थिए । सर्टिफिकेट र कक्षाको पढाइको कुनै चिन्ता थिएन । बीच बाटोबाटै घर फर्किए युगल जोडी जीवनका महत्वपूर्ण निर्णयहरू बोकेर ।
घरमा पुगेर सीताले भाउजूसँग चाहनाको थैलो खोलिन् । ‘दाजुले मान्नु होला त ! दुई परिवारबीच हैसियतको ठूलो खाडल छ । नानी तपाईंलाई हेरेर हामीले सन्तानको मोह त्याग्यौं । छोरा भने पनि छोरी भने पनि तपार्इं नै हो । आफूलाई भन्दा बढी माया गरी हुर्काएको तपाईंको दाजुले कसरी एउटा गरिब केटाको हातमा तपाईंलाई सुम्पिन तयार होलान् !
मायाले मात्र जीवन चल्दैन नानी जीवनमा मायाबाहेक पनि धेरै कुराहरू छन् । गाउँ, समाजको कुरा आउला ! मान, प्रतिष्ठा त छँदैछ । तपाईंलाई ठूलो कुलघरानामा पठाउने तपाईंको दाजुको धोको छ । मैले नपढेर के भो र मेरी बहिनीले पढेकी छ । ऊ पढेर ठूली मान्छे भएर मेरो सपना पूरा गर्छे भन्नुहुन्छ । तपाईंको दाजुको सपनामा ठेस लाग्छ नानी ।
जीवनलाई सही बाटोमा डोर्याउन पहिला आफ्नो पढाइ सक्नोस् अनि कुरा चलाउँला ।’ भाउजूलाई आफ्ना कुरा राख्न सकेकोमा सीताको मन हलुका त भएको थियो तर दाजुले थाहा पाएपछि के हुने हो, पिरलो भने बढ्दै थियो । मनमा कुरा खेलाउँदै बिहानीको पर्खाइमा थिइन् सीता ।
सधैं बिहानको खाजा दाजु, बहिनीसँगै बसेर खाएरमात्र दैनिकी काममा जाने दाजुको स्वरले सीतालाई निद्राबाट बिउँझ्यायो । ‘त्यो सीते ठूली भइछे अब कलेज पढ्न जान पर्दैन भनिदिनू । आजदेखि घरबाट निस्कन नदिनू । के सोचेको थिएँ के बनेर निस्किईं ! त्यसलाई भनिदिनू म त्यसको दाजुमात्र होइन बाउ पनि हुँ । आँखाले देख्दादेख्दै म त्यसलाई खाल्डोमा हाम्फाल्न दिन सक्दिनँ र म बाचुञ्जेल त्यो बाटोमा जान पनि दिन्नँ ।’
न जात न धनी न गरिब ! गुँडमा बसेर हुर्किसकेकी चरी भने नीलो आकाश खोज्दै थिई । जहाँ न कुनै सीमाना छ न कुनै रेखा । न कुनै बन्धन । जीवनका खुसीसँग गाँसिएका रहरलाई बोकेर संसार हेर्ने सपनामा दुई प्रेमीले भने जीवनका निर्णयहरू गरिसकेका थिए । घरसँगै गाउँ नै छाड्ने ।
सीता र रमेशले गाउँ छाडेको हल्ला आगोसरी फैलिइसकेको थियो । कुरा काट्नेहरूले कुरा काट्दै थिए । बहिनीको मन दुखाउने कमलको चाहना थिएन । दाजुलाई सम्झिएर बहिनी आउँछे भन्ने आसमा दस वटा तिहारहरू आए, गए निधार सधैं खाली रह्यो । आज फेरि भाइटीकाको अघिल्लो साँझ एघारौं तिहारले जिस्काइरहेछ ।
‘कसैलाई मन पर्यो भन्दैमा मान, प्रतिष्ठा नाघेर भाग्नु नै पर्थ्यो र ! फेरि मैले कहिले उसले भनेको मानेको थिइनँ र ! गइहालेकी थिई त यतिका वर्षसम्म पनि दाजुलाई नसम्झने ? अब त उमेरले पनि नेटो काट्न थालिसक्यो । सुनौला वर्षहरू उसैका लागि समर्पण गरें । त्योबाहेक हाम्रो जीवनमा अर्को को छ र !’ बगलीबाट फोन निकाल्छ । ‘उसले चलाउने नम्बर त फेरेकी छैन होला नि !’ नम्बर थिच्दाथिच्दै रोकिन्छ ।
‘आ ... गर्दिनँ फोन सोन, बाबुआमालाई माया मारेर हिँड्ने सन्तानलाई के सम्झनु ! होइन..... उसले पो बुद्धि पुर्याइन .... मैले पनि उसैले जस्तो प्रतिक्रिया दिँदा मेरो अभिभावकत्व रहन्छ र ! उसको बाबु भने पनि आमा भने पनि म नै त हो । मैले पनि गरिब केटा भनेर नस्विकारेको त हो । केटामा अरू कुनै बैगुन त थिएन नि ! धनी र गरिबको खाडल बनाउनु ! कतै मेरै गल्ती त होइन ! के गर्दै होली ? आखिर उसलाई पनि मलाई जस्तै गाह्रो भइरहेको त छैन दाजुलाई फोन गर्न ! होइन म आफैंले फोन गर्नुपर्छ ।’
सीताको आँखा घरीघरी सिरानीमा राखेको फोनमा गइरहन्थ्यो । काखमा बसेको छोराले आमाको आँसु पुछिदिँदै थियो । अकस्मात, सिरानीमा राखेको मोबाइलको घण्टीले आमाछोराको ध्यान तान्छ। फोनमा आँखा लगाउँछिन् । दाजुको फोन आउँदा दाजुको फोटो पनि आउने गरी नम्बर सेट गरेर राखेकी सीताको नजर दाजुको फोटोमा पर्छ । आत्तिँदै अनि कता कता डराएझैं । फोन उठाउँछिन् । दाजुको उही स्वर । उताबाट आवाज आइरहेको थियो । सीते ..... ए सीते .... । सीताका आँखाबाट आँसु झरिरहेका थिए । आवाज निस्किरहेको थिएन । सायद एघार वर्षपछि दाजुको बोली सुनेर होला । दौड्दै चोटामा पुग्छिन् खुसीले रमाउँदै । गफ हुन थाल्छ । एकैछिन अगाडिका विरहका आँसुलाई खुसीका आँसुले छोपिसकेको थियो । अलापविलापको तलाउमा माया, ममता, सद्भाव र सम्मानले डुबुल्की मारिरहेको थियो । आखिरी १० वर्षपछिको बिहानीसँगै ११औं भाइटीकाले दाजुबहिनीको बिछोडलाई मिलनमा र पीडालाई खुसीमा बदल्दै थियो । दस वर्षसम्म मखमली फूललाई हेरेर चर्किएको दाजुबैनीको छातीमा आज मखमली फूल नै मलहम बनिरहेको थियो। बाँकी थियो त दुई प्रहर रात अनि बिहानीको पर्खाइ । छटपटाहट रोकिएको छैन । घरी झ्यालमा पुग्छिन् घरी भित्तोमा टाँगिएका मालामा हेर्छिन् । टाढा कतैबाट आवाज आइरहेझैं लाग्छ। झ्यालमा पुग्छिन् । कानमा गुञ्जिन्छः
छाती चर्कायो आँधीले मायाले छेकिएन
वचनले चिसियो मुटु मायाले सेकिएन
न तिमीले भन्यौ न मैले भनें¸
जलीरह्यौँ दुबैतिर तर धुवाँ किन देखिएन !