सन्धिखर्कमा प्लास्टिकका माला बेच्न नपाइने
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाएको छ।
सन्धिखर्क नगरपालिकामा चाडपर्व सहरी बजार व्यवस्थापन तथा यातायात सञ्चालन सम्बन्धी सरोकारवालाहरसँगको संयुक्त बैठकले स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए। स्थानीय उत्पादनको फूलमाला प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने नगरपालिकाको विश्वास छ।
नगर क्षेत्रभित्र दिपावलीको अवसरमा पटका/आतसबाजी लगायतका विस्फोटक पदार्थ पड्काउँदा बालबालिका/वृद्धवृद्धा र जैविक विविधतामा प्रतिकूल असर पर्ने हुनाले नगरक्षेत्र भित्र पटका/ आतसबाजी गर्ने कार्य बन्द गर्ने निर्णय सन्धिखर्क नगरपालिकाले गरेको राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताएका छन्। अटेर गरी कसैले पटका पड्काएमा कानुन बमोजिम कारबाही हुने भएको छ।
बजार क्षेत्रभित्र सडक पेटीमा जथाभाबी रूपमा सामान राखी व्यापार व्यवसाय गर्ने कार्य रोक्ने, बजार अनुगमनको कार्यलाई निरन्तरता दिँदै अनुमति विना/अनुमतिको बर्खिलाप गरी व्यवसाय सञ्चालन गरेको, अखाद्य वस्तुको बिक्री वितरण, लेबलिङ तथा म्याद गुज्रेका सामान राखेको र मूल्य सूची समेत नराखेको अवस्थामा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्ने निर्णय गरिएको राजस्व शाखा प्रमुख खनालको भनाइ छ।
सन्धिखर्क नगरपालिकाको यातायातलाई सहज र व्यवस्थित बनाउन पनि विभिन्न निर्णय गरेको छ। चारपाङ्ग्रे सवारी साधनहरू बसपार्कमा पार्किङ गर्ने जथाभाबी पार्किङ गर्न नपाइने निर्णय भएको नगरप्रमुख श्रेष्ठले बताए।