पञ्चकन्याले जित्यो नवौँ अरुण भ्याली फुटबलको उपाधि
खाँदबारी : नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको पञ्चकन्या युथ क्लबले जितेको छ। महेन्द्र माविको खेलमैदानमा सोमबार भएको फाइनल खेलमा धनकुटाको चुलाचुली युवा क्लबलाई १–२ गोल अन्तरले हराउँदै पञ्चकन्याले उपाधि हात परेको हो। उपाधि सँगै पञ्चकन्याले नगद दुई लाख सहित रनिङ शिल्ड प्राप्त गरेको छ।
पहिलो हाफसम्म ०–१ गोल अन्तरमा खेलेको पञ्चकन्याले दोस्रो हाफपछि लगातार दुई गोल गर्दै उपाधि चुमेको हो। खेलको अन्त्यतिर जीवन मगरले लगातार दुई गोल गर्दै पञ्चकन्यालाई विजयी बनाउन सफल भए। पञ्चकन्याले लगार दोस्रो वर्ष उपाधि हात पारेको छ।
पहिलो हाफमा १ गोलको अग्रता लिएको चुलाचुलीले दोस्रो हाफमा कमजोर खेलका कारण उपाधि गुमाउनु पर्यो। उपविजेता चुलाचुलीले नगद एक लाख रुपैयाँमा चित्त बुझाएको छ। त्यस्तैगरी सेमिफाइनल पुगेका सभापोखरी फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
उत्कृट गोल रक्षक चुलाचुली निकेश सुन्दास, सर्वोत्कृट खेलाडी पञ्चकन्याका जीवन मगर, सर्वाधिक गोलकर्ता पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लवका जोन जोरीले पाएका छन्। भण्डारी र जोरीले ३–३ गोल गरेका थिए। प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिएको छ।
एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा कात्तिक ७ बाट सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।