कार्तिक २७ गतेबाट दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुँदै
धनकुटा : चौबिसे गाउँपालिकामा गत वर्षदेखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुने भएको छ।
आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी धनकुटाले सोमबार पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो।
स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल क्लवसहित टिमको सहभागीता रहनेछ।
चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजक संस्थाका अध्यक्ष बिजु राईले जानकारी दिए।
४० वर्ष माथिका खेलाडी सहभागी रहने उक्त खेलमा विजेता टोलीले नगद एक लाख २४ हजार २४ रुपैयाँ र उप–बिजेताले ६४ हजार २४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। पत्रकार सम्मेलनमा हाल यूकेमा रहेका पूर्वफुटवल खेलाडी तथा भूतपूर्व सैनिक स्थानीय लोकबहादुर चेम्जोङ्गले यूकेस्थित विभिन्न व्यक्तिहरूबाट खेलका लागि संकलित दुई लाख पाँचहजार नगद रकम आयोजकलाई हस्तान्तण गरेका थिए।
प्रतियोगितको हरेक खेलमा म्यान अफ द म्याच र विधागत पुरस्कारको व्यवस्था गरिएको छ। भेट्रानतर्फ प्रदेशकै ठूलो प्रतियोगिता भएको आयोजकको दावी छ।
खेलसँगै गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि स्थानीय स्तरमा उत्पादित खानाहरूको परिकार, विभिन्न जातीय भेषभुषाहरुको फेसन–सो र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। जीवनको उत्तरार्धमा पनि खेलको माध्यमबाट स्वस्थ्य रहन सहयोग पुर्याउने यस प्रतियोगितामा आफ्नो सधैं सहयोग रहने भन्दै पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले खेल सफलताको शुभकामना दिए। कार्यक्रमको संचालन सविन अधिकारीले गरेका थिए।