सहकारीका सात सिद्धान्त
सहकारी राजनीति, पारिवारिक वा अन्य कुनै संकीर्ण स्वार्थपूर्तिका लागि प्रयोग हुनुहुँदैन ।
सहकारी भनेको सदस्य केन्द्रित व्यवसाय हो जुन विभिन्न व्यक्तिहरू स्वेच्छिक रूपमा एकजुट भई आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता तथा आकांक्षाहरू पूरा गर्नका लागि सञ्चालन गरिन्छ । यसमा सदस्यहरूको संयुक्त स्वामित्व हुन्छ र एक सदस्य एक मतका आधारमा यसलाई प्रजातान्त्रिक हिसाबले नियन्त्रण गरिन्छ । सर्वसाधारणलाई व्यवसायको संयुक्त मालिक वा व्यापार साझेदार बन्ने मौका दिने सहकारीका सदस्यहरूनै मालिक, निर्णयकर्ता तथा ग्राहक हुन ।
सहकारीका सिद्धान्तहरूको विकास सन् १८४४ मा बेलायतमा “राचडेल सोसाइटी अफ इक्विटेबल पायनियर्स”को नामले विश्वको पहिलो आधुनिक सहकारी संस्था स्थापना गर्ने राचडेल अग्रगामीहरूले गरेका हुन् । तिनीहरूले सहकारी सञ्चालन गर्नका लागि खुला सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, शिक्षाको प्रवर्द्धन, राजनीतिक र धार्मिक तटस्थता, व्यापारको आधारमा बचतको वितरण, पुँजीमा सीमित ब्याजको भुक्तानी र नगद व्यापारजस्ता सात नियमहरू तर्जुमा गरेका थिए ।
यी नियमहरूमध्ये कतिलाई जस्ताको तस्तै र कतिलाई परिमार्जन गर्नका साथै केही नयाँ सिद्धान्तहरू थप गरेर सन् १९९५ मा अन्तर्राष्ट्रिय सहकारी गठबन्धनले सहकारीका सात सिद्धान्तहरू प्रकाशमा ल्याएको थियो । जसको आधारमा विश्वभरका सहकारी संस्थाहरू सञ्चालन भैरहेका छन् ।
नेपालको सहकारी प्रणाली पनि सहकारीका विश्वमान्य सिद्धान्तका आधारमा तर्जुमा गरिएको भए पनि खासगरी केही ठूला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक/व्यवस्थापकहरूले ती सिद्धान्तहरूको व्यापक रूपमा उल्लघन गरेको पाइएको छ । र सरकारले त्यसको नियमन गर्न नसकेकोले मुलुकमा सहकारी समस्या विकराल भएको छ । सहकारीमा देखा परेका विकृति तथा बेथितिहरू हटाएर आगामी दिनमा सहकारीलाई सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तअनुसार सञ्चालन गर्ने वातावरण तयार गर्नु पर्दछ ।
राचडेल अग्रमागीहरूले सहकारीको सदस्यता सबैको लागि खुला हुनु पर्दछ भनेर विकसित गरेको मूल मान्तयाका आधारमा सहकारीको सेवा उपभोग गर्न र सदस्यतासम्बन्धी नियम पालना गर्न चाहने सबैका लागि सदस्यता खुला हुनुपर्दछ भन्ने सिद्धान्त विश्वभर फैलिएको छ । सदस्यता दिने सम्बन्धमा कसैलाई पनि जाति, वर्ण, धर्म, लिंग, राजनीतिक तथा आर्थिक स्थितिका आधारमा भेदभाव गर्नु हुँदैन । सहकारीमा सकेसम्म धेरैलाई आबद्ध गराउनका लागि यसको सदस्यता शुल्क न्यून हुनु पर्दछ ।
सहकारीको विकासको क्रममा सहकारीको सदस्यता स्वेच्छिक हुनु पर्दछ भन्ने मान्यताको पनि विकास भएको छ । सहकारीको सदस्य हुन कसैलाई बाध्य गराउन हुँदैन । सहकारीको सदस्य हुने वा नहुने र सदस्य भैसकेपछि कहिलेसम्म हुने भन्ने निर्णय सम्बन्धित व्यक्तिकै हुनु पर्दछ । सहकारीको कुनै सदस्यले सदस्यता त्याग्न चाहेमा सहकारीले निजलाई फिर्ता दिनु पर्ने रकम फिर्ता गरेर सहज रूपमा सदस्यता खारेज गर्नु पर्दछ ।
सहकारीको स्वेच्छिक र खुला सदस्यता सम्बन्धी सिद्धान्त नेपालका लागि पनि त्यत्तिकै सान्दर्भिक छ । नेपाल विभिन्न जात, वर्ण, धर्म र संस्कृतिको थलो हो । र मुलुकमा सुख, शान्ति र समृद्धि कायम गर्नका लागि सहकारीका माध्यमले विभिन्न समूहका व्यक्तिहरू एकआपसमा मिलेर सह कार्य गर्दै आफ्ना साझा आवश्यकताहरू पूरा गर्ने प्रचलनको विकास र विस्तार गर्दै जानु पर्दछ ।
सहकारी संस्थाको नियन्त्रण त्यसका सदस्यहरूद्वारा प्रजातान्त्रिक किसिमले हुनु पर्दछ भन्ने सहकारीको सुरुको मूल मान्यता अहिले पनि जस्ताको तस्तै लागु भइरहेको छ । सहकारी संस्थाका हरेक सदस्यको समान अधिकार हुन्छ । प्रारम्भिक सहकारी संस्थामा “एक सदस्य एक मत” को व्यवस्था हुन्छ । लगानीको आधारमा मताधिकार कायम हुँदैन । उदाहरणका लागि हजार, लाख, करोड जतिसुकै रुपैयाँको लगानी गर्नेको पनि एक मत हुन्छ । सहकारी संस्थामा गैरसदस्यले लगानी गर्न सक्ने भए पनि त्यस्तो लगानीकर्तालाई मताधिकार हुँदैन ।
सहकारीको दैनिक कार्य सञ्चालन गर्नका लागि सहकारीका सदस्यहरूले आफूमध्येबाट “एक सदस्य एक मत” का आधारमा सञ्चालक समितिको चयन गर्ने भएकाले सबै सदस्यको समान हैसियत हुन्छ र निर्वाचित अधिकारीहरू हरेक सदस्यप्रति उत्तिकै उत्तरदायी हुन्छन् । यदि कुनै निर्वाचित पदाधिकारीले सहकारीको सिद्धान्तअनुसार कार्य गरेन भने सहकारीका सदस्यहरूले निजलाई हटाउन सक्छन् ।
सहकारीलाई त्यसका सदस्यहरूले प्रजातान्त्रिक हिसाबले नियन्त्रण गर्ने पद्धति नेपालको लागि पनि त्यत्तिकै जरुरी छ । सहकारीमा सवै सदस्यहरूलाई तिनीहरूको मताधिकारको बारेमा जानकारी गराएर सक्रिय रूपमा मतदानमा भाग लिने वातावरण बनाउनु पर्दछ र सीमित व्यक्तिले हैकम जमाउने स्थिति रहनु हुँदैन । मुलुकमा शान्ति, समृद्धि, समानता तथा स्थिरता कायम गर्नका लागि नियमित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका माध्यमले सञ्चालक वा शासक चयन गर्ने प्रजातान्त्रिक अभ्यास प्रवर्द्धन गर्दै जानु पर्दछ ।
शिक्षा, तालिम र सूचनाः शिक्षाको प्रवर्द्धन पनि सहकारीको सुरुकै मूल सिद्धान्त हो र पछि गएर यसमा तालिम तथा सूचना पनि थपिएको छ । सहकारीले आफ्ना सदस्यहरू, निर्वाचित प्रतिनिधिहरू, प्रबन्धकहरू र कर्मचारीहरूलाई सहकारीसम्बन्धी विस्तृत शिक्षा र तालिम प्रदान गर्नु पर्दछ । जसले गर्दा तिनीहरू सहकारीको विकासमा प्रभावकारी रूपमा योगदान दिन सकुन् । यसैगरी सहकारीले आफ्नो कारोबारका वारेमा नियमित रूपमा सबै सरोकारवालाहरूलाई जानकारी गराउनु पर्दछ ।
केही सहकारीका सञ्चालक तथा व्यवस्थापकले सहकारीका सिद्धान्तको पालना नगरेको कारणले नेपालको सहकारी क्षेत्रले ठूलो समस्या भोग्न परेको छ।
सहकारीको नियमन गर्ने निकायका कर्मचारीहरूलाई सहकारी सञ्चालन व्यवस्थाका बारेमा जानकारी हुनु जरुरी छ । यसैगरी सहकारीले आम जनता र खासगरी युवा र सामुदायिक नेताहरूलाई सहकारिताको प्रकृति, फाइदा आदिका बारेमा जानकारी गराउनु पर्दछ । सहकारीसम्बन्धी शिक्षा, तालिम र सूचनाहरूको नेपालमा पनि त्यत्तिकै आवश्यकता छ । सहकारीका बारेमा सरोकारवालाहरूलाई जानकारी नदएिकोले हाल सहकारी समस्या देखा परेको छ । यस्तो स्थिति भविष्यमा नदोहोरियोस् भन्नको लागि सहकारीका मूल्य, मान्यता र सिद्धान्त र प्रक्रियाका बारेमा सहकारीका सदस्य, सञ्चालक, व्यवस्थापक, कर्मचारीलगायत सवै सरोकारवालाहरूलाई राम्रो जानकारी गराउनु पर्दछ ।
सहकारीको सदस्यको आर्थिक सहभागिता सम्बन्धी सिद्धान्त सहकारीको व्यापारको आधारमा बचतको वितरण गर्ने सहकारीको सुरुको नियमको विस्तारित रूप हो । यसअनुसार सहकारीका सदस्यहरूले सहकारीमा समान रूपमा योगदान दिन्छन् । र तिनीहरूले आफ्नो सहकारीको पुँजीलाई प्रजातान्त्रिक हिसाबले नियन्त्रण गर्दछन् ।
सहकारीको खुद आर्जनमध्ये केही रकम संस्थाको विस्तारलगायतका कार्यका लागि आरक्षित (रिजर्भ) गरिन्छ भने बाँकी लगानीको आधारमा नभै सदस्यहरूले संस्थामा गरेको कारोबार (मूल्य अभिवृद्धि) को आधारमा सदस्यलाई वितरण गरिन्छ । सहकारीमा सदस्यहरू नाफा वा घाटा दुवैका भागी हुन्छन् । “एकले सबैलाई र सबैले एकलाई” सहयोग गर्ने सहकारीको अवधारणाअनुसार सहकारीका सदस्यहरूले सहकारीको विकासका लागि मिलेर साधन जुटाउने र त्यसबाट सदस्यहरूको साझा आवश्यकता पूर्ति गर्ने पद्धति नेपालको लागि पनि त्यत्तिकै आवश्यक छ ।
सहकारी स्वायत्त र स्वतन्त्र संस्था हुन् । तिनीहरूमाथि सानो समूहको नभै सहकारीका सबै सदस्यको संयुक्त नियन्त्रण हुन्छ । सहकारीको सदस्यता सकेसम्म व्यापक होस् भन्नको लागि यसको सेयर सीमित व्यक्तिहरूलाई भन्दा सकेसम्म धेरै सदस्यहरूलाई वितरण गरिएको हुन्छ । सहकारीभित्र हरेक सदस्यको आ–आफ्नै स्वतन्त्रता भए पनि संस्था आफैं पनि एक स्वायत्त र स्वतन्त्र संस्था हो । सहकारी राजनीति, पारिवारिक वा अन्य कुनै संकीर्ण स्वार्थपूर्तिको लागि प्रयोग हुनु हुँदैन । नेपालमा पनि सहकारीलाई समुदायको भलो गर्ने स्वायत्त र स्वतन्त्र पवित्र संस्थाको रूपमा विकसित गर्नु पर्दछ ।
सहकारी विभिन्न विषय, क्षेत्र तथा आकारका हुन्छन् र तिनीहरूबीच तेर्सो र ठाडो रूपमा पारस्परिक सहयोग हुनु पर्दछ । तिनीहरूले मिलेर काम गरेमा सदस्यहरूलाई प्रभावकारी रूपमा सेवा प्रदान गर्नका साथै सहकारी आन्दोलनलाई सशक्त बनाउन सक्छन् । विभिन्न सहकारीले विभिन्न क्षेत्रमा दक्षता हासिल गरेको हुन्छ र तिनीहरू मिलेर संयुक्त रूपमा काम गरेमा झनै राम्रो कार्य गर्न सक्छन् । सहकारीको आदर्शअनुसार तिनीहरूले आपसमा प्रतिस्पर्धा गर्ने नभै सहयोग गर्ने हो । त्यसबाट स्थानीय तहको विकास र समुदायको भलो हुने हुन्छ ।
नेपालमा पनि सहकारीले आपसमा मिलेर काम गर्नु पर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीसँग पारस्परिक सहयोग गर्ने, नयाँ नयाँ सहकारीहरू स्थापना गर्नका लागि सहयोग जुटाउने गर्नु पर्दछ ।
समुदायतप्रतिको चासोः सबै सहकारीहरूले आफ्नो र आफ्नो सहकारीका सदस्यहरूका साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता तथा आकांक्षाहरू पूरा गर्नका साथै आफ्नो संस्था बाहिरका स्थानीय समुदायहरूको विकासमा पनि योगदान दिनु पर्दछ । सहकारीले समुदायको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ । तिनीहरूले आफ्ना सदस्यहरूद्वारा अनुमोदित नीतिहरूमार्फत समुदायको दिगो विकासमा टेवा पुर्याउनु पर्दछ । सहकारीले नेपालमा पनि दिगो सामुदायिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जानु पर्दछ ।
सहकारी निश्चित मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सञ्चालित व्यवसाय हो । आजभन्दा १ सय ८० वर्ष अगाडि विकसित गरिएका सहकारीका सात सिद्धान्तहरूमध्ये पाँच सिद्धान्तहरू जस्ताको तस्तै वा परिमार्जित रूपमा लागू भइरहेका छन् भने वर्तमान अवस्थामा सुरुका राजनीतिक र धार्मिक तटस्थता र नगद व्यापारको सट्टा स्वायत्तता र स्वतन्त्रता, सहकारी–सहकारीबीच पारस्परिक सहयोग र समुदायप्रतिको चासो जस्ता सिद्धान्तहरू लागू भएका छन् । वर्तमान परिप्रेक्ष्यमा विश्वमा विकसित हुँदै गएको मान्यताअनुसार सहकारीको आठौं सिद्धान्तको रूपमा “विविधता, समानता र समावेशीकरण” थपिन सक्छ ।
केही सहकारीका सञ्चालक तथा व्यवस्थापकले सहकारीका सिद्धान्तको पालना नगरेको कारणले नेपालको सहकारी क्षेत्रले ठूलो समस्या भोग्नु परेको छ । नेपालका अर्थतन्त्रमा सहकारीको भूमिकालाई मध्यनजर गरेर सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई समाधान गरेर आगामी दिनमा सहकारीलाई यसको मूल्य, मान्यता र सिद्धान्तका आधारमा कार्यान्वयन गर्नुपर्छ । सहकारीका सिद्धान्तको पालना नगर्नेलाई तुरुन्त कडा कारबाही गर्ने प्रथा बसाल्नु जरुरी छ ।