एनसेल फाउन्डेसनद्वारा बाढी पीडित बालबालिकालाई शैक्षिक सामग्री र विभिन्न प्रभावित ठाउँमा राहत वितरण
काठमाडौं : एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरेको हो।
गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो। यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामग्रीहरू गुमाएका थिए।
सीएसआर अन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ। यसै अनुरुप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरूलाई राहत वितरण गरेको छ।
फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ। यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन्। बाढी प्रभावित चक्रघट्टा गाउँपालिका-४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै मात्र राहत वितरण गरेको छ।
यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो। यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढि घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ।
“विगतमा पनि बाढी, पहिरो, भुईचालो, कोभिड जस्ता विपद्मा प्रतिकार्य स्वरुप हामीले यथासक्य सहयोग र साथ दिएका छौं,” एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्। “यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध छौं।”
एनसेल फाउन्डेसनका यी पहलहरूले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ। वितरण गरिएका राहत सामग्रीमा खाद्यान्नका सामग्री, हाईजिन किट, ब्याल्ङ्केटलगायतका सामानहरू रहेका थिए।
फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरू सहित प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो।
एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको हो।
कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य लगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ। कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरूमा रु २ अर्ब भन्दा बढि योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रूपमा १ करोड ३० लाख भन्दा बढीलाई लाभ प्रदान गरिसकेको छ।