तिहारको रौनक
वर्षभरिको ठूलो दोस्रो चाड तिहार आजैदेखि आरम्भ हुँदैछ। पाँच दिन लामो चाड पहिलो दिन कागतिहार, धन्वन्तरी जयन्ती, धन्तेरसदेखि सुरु हुन्छ भने दिदीबहिनीहरूले दाजुभाइको विशेष पूजा गर्दै यो चाड समापन हुन्छ। यो पर्व प्रत्यक्षतः यम भनौं काल वा भनौं समय सम्बन्धित छ। नेपाल सम्बत् तथा म्हपूजा यसैमा पर्छ। यम सूर्य पुत्र हुन् र बहिनी यमुनाको घरमा बसेर टीका लगाइएको प्रसंगले सत्ययुगदेखि नै दाजुभाइको प्रतीक यम सम्झेर र दिदीबहिनीको प्रतीक यमुनाको स्मरण गर्दै भाइतिहार मनाइन्छ।
यमको प्रतीक कागले मानिसलाई शुभ, अशुभ शकुन बताउँछ। वातावरण सफाइमा सहयोगी काग बोलीमा छुच्चो भए पनि हरेक बिहान खाना खानुअघि कागलाई खाना छुट्ट्याउने हाम्रो परम्परा हो। कार्तिक कृष्ण त्रयोदशी, तिहारको सुरुको दिन कागलाई विशेष खाना दिएर सत्कार गरिन्छ। ऐन्द्रवारुणवायव्यां याम्याँ वै नैऋतस्तथा। वायसाः प्रतिगृण्हन्तु मया दत्तं बलिं त्विमम्।। भन्ने मन्त्रले कागलाई बलि दिइन्छ। रामायण ग्रन्थमा काग भुसुण्डीको चर्चा छ। काग भुसुण्डी ऋषिले गरुडजीले रामकथा बताउँदा आफू कागरूपमै रहन मन परेको कुरा उल्लेख गरेका छन्। काग यमदूत हुन्, मृत्युपछि आशौच कार्यमा कागवलि अनिवार्य छ। काग तिहारका दिन बेलुका घरको मूलढोकामा दीपदान गर्ने चलन छ, यसो गर्दा मृत्युभय हँुदैन, अल्पमृत्यु, दुर्घटनाहरू हुँदैनन्। यसैदिन आयुर्वेदशास्त्रका प्रणेता धन्वन्तरीको जन्मजयन्ती हो। पूर्वीय शास्त्रहरूमा आयुर्वेद शास्त्र निकै प्रसिद्ध छ। मानिसको आयु बढाउने वैदिक पद्धति भएकाले यसलाई आयुर्वेद भनिएको हो। यो प्राकृतिक चिकित्सा पद्धतिसँग सम्बन्धित छ। यसले शरीर तन्दुरुस्त राख्ने, योग आदि विषय र जडीबुटीसँग प्रत्यक्ष सरोकार राखेको छ।
दोस्रोदिन कुकुर तिहार हो, कुकुर यमदूत हो, दयालु र मालिक भक्त पनि। यसको घ्राणशक्ति तीव्र हुन्छ र सुरक्षा कार्य, अपराधी पत्तो लाउने कार्य र दुर्गमक्षेत्रमा त सामान ढुवानीको कार्यमा समेत यसलाई प्रयोग गरिन्छ। कुकुरका दुई विशेष नाम छन्। वैवस्वतकुलमा जन्मिएका श्यामवर्ण र छिरबिरे वर्णका दुई कुकुरलाई श्याम र शबल भनियो। तिनैलाई विशेष भोजन दिन्छु भनी कुकुर तिहारका दिन भोजन दिइन्छ। तेल, माला, टीका लगाउने, राम्रो पारी सिंगार्ने चलन छ। यो थोरैले सन्तुष्ट हुन्छ, निद्रामा पनि बाहिरका कार्यहरू बारे थाहा पाउन सक्छ, सुरता र वीरत्व यसकोे ठूलो गुण हो। पाण्डवहरू स्वर्गारोहण हुँंदा धर्मराजले कुकुरको रूप लिएर युधिष्ठिरको परीक्षा गरेका थिए। यसै दिन नरक चतुर्दशी पनि हो, यसदिन घरमा बत्ती बाल्ने र नदीमा बत्ती बगाउने कार्य गरिन्छ। यसदिन तेलमा लक्ष्मी बस्ने विश्वास छ, जताततै झलमल्ल तेलको बत्ती बालिन्छ र शरीर स्नान गर्दा पनि तेलमर्दन गरिन्छ। मृत्युपछि नरकको भय दूर गर्न बत्ति बाल्ने भएकाले यसदिनलाई नरक चतुर्दशी भनिएको हो।
यमपञ्चकको तेस्रो दिन गाईतिहार हो। अमृत समान दूध दिने गाई सोझो प्राणी हो। हामी गाईलाई लक्ष्मीका रूपमा हेर्छौं। गाईतिहार, लक्ष्मीपूजाको दिन गाईलाई विशेष पूजा गर्दै, गोडाधुने, पीठो खुवाउने, नैवेद्य अर्पण गर्ने गर्छौं। गाईको सिङ, खुरमा तेल लगाउने, घाँटीमा माला लगाउने, मीठा खानेकुरा खान दिने गर्छौं। बेलुका लक्ष्मीपूजा, धनको पूजा, सुख रात्रि मान्दै विशेष दीपावली गर्छौं। घरबाहिरदेखि गोबरले लिपेर, लक्ष्मीका पाइला बनाएर पूजाकोठा, धनसारसम्म लगि पूजा गर्छौं, धनको प्रतीक कुवेरको पूजा गर्छौं बिमिरो राखेर। पसल, व्यापारिक प्रतिष्ठान, ढुकुटी, अन्न सबैतिर विशेष पूजान, फलफूल, सौभाग्य, वस्त्रसहित पूजा गर्छौं। घर पसल रंग्याउने, फूलहरूले सजाउने, नरिवल मसलाहरू अर्पण गर्ने, रङको प्रयोग गर्ने कार्य गरी खुसी नै खुसी व्यक्त गर्छौँ। यतिबेला सबैको मन प्रफुल्लित र आनन्दित हुन्छ, एकआपसमा खुसी, सुख साटासाट गर्छौं। लक्ष्मीको चर्चा गर्दा यिनको स्वरूप बुझ्नुपर्ने हुन्छ। यिनका मुख्य दुई रूप छन्। एउटा हो भौतिकरूप, अर्को हो आध्यात्मिक वा दैवीस्वरूप। भौतिक रूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन्। दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन्। उपभोगले मात्र हेर्दा लक्ष्मीको वाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ। तर उपयोगको रूपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन्। जहाँ लक्ष्मीको सेवा हुन्छ त्यहांँ नारायणको सेवा जरुरी छ। सुकर्मले नर आफैं नारायण हुन सक्छ। लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ। उद्यम, परि श्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन्। केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा लोगेको धन बढी पवित्र हुन्छ।
यमपञ्चकको चौथो दिन गोरुतिहार हो, नेपाल संवत् र म्ह पूजा यसैदिन पर्छ। यसैदिन घरघरमा बिहानै गाई, गोरु, एवं गोवद्र्धनपूजा गरिन्छ। कृषि कार्यमा सरिक पशुहरूलाई सम्मान जरुरी छ, र सम्मान गर्ने यो पर्वमा बिहानै फूल, माला, श्रृंगारसहित पूजाआजा धूप, बत्ती, नैबेद्यहरू अर्पण गरी विशेष खाना खुआउने चलन छ, हलो, गाडासमेतको पूजा हुन्छ। साँढे, बहर आदि गोरुका विभिन्न स्वरूप युगलपूजा, पूर्वीय चिन्तनको आदर्श नमुना हो। गाईको गोबर जम्मा गरी गोवद्र्धन पहाड बनाउने, गोवद्र्धनपूजा गर्ने गरिन्छ। सर्वप्रथम सम्पूर्ण पाप नास भई, दीर्घायु, सुस्वास्थ्य, सुकीर्ति, धनधान्यवृद्धि, सुख, ऐश्वर्य वृद्धिका लागि गोपाल, गोवद्र्धन, गाई एवं गोरुको पूजा गर्छु भनी संकल्प गर्नुपर्छ। दीप कलश, गणेश, अध्र्य स्थापना गरी बस्त्र, भेटी, नैवेद्य आदि अर्पण गर्दै पूजामा सरिक हुनुपर्छ। साथमा बलिराजाको पूजा गरिन्छ।
यमपञ्चकको सर्वाधिक महत्वपूर्ण चाड हो भाइतिहार। कार्तिक कृष्णत्रयोदशी काग तिहारदेखि आरम्भ भएको पाँच दिन लामो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन घरघरमा दिदीबहिनीहरूले नवग्रह, अष्टचिरञ्जीवी, यम, यमुना, लक्ष्मी एवं आफ्ना दाजुभाइहरूलाई पूजा गरी तिहारको उत्कर्षणलाई बिदा गर्छन्। सूर्यपुत्री यमुनाको निम्तो स्वीकारगर्दै कार्यमा व्यस्त यमराज पाँच दिनसम्म बहिनीका घरमा बसी मीठामीठा खानेकुरा खाई, फुर्सदका क्षणहरूमा रहेको सम्झनास्वरूप, दिदीभाइ, दाजुबहिनीको सुमधुर स्नेहलाई निरन्तरता दिन पञ्चकभरि दिदीबहिनीहरूका घरमा, उनीहरूले बनाएका खानेकुरा खाने चलन चलेको हो।
अघिपछि दिदीबहिनीहरूको घरको खानु हुँदैन भन्ने मान्यता छ तर यमपञ्चकमा दिदीबहिनीकै घरका खाना खानुपर्छ त्यसबाट आयुवृद्धि हुन्छ भन्ने मान्यता छ। दिदीबहिनीहरू आफू यमुनाको स्वरूप मानी दाजु भाइलाई दाजु यमको प्रतीक मानी पञ्चक आरम्भदेखि नै विवाहित महिलाहरू आ—आफ्ना दाजुभाइहरूलाई घरमा बोलाउँछन्। घरदेखि टाढा रहेकाहरू पनि यमपञ्चकमा घर आउँछन्। घरमा आउन नसक्नेहरूलाई प्रसाद पठाउने चलन छ। दाजु भाइको सुस्वास्थ्य, कीर्ति, दीर्घायु, ऐश, आराम, मान, सम्मान, प्रतिष्ठा वृद्धिहेतु परिवारकै आशीर्वाद प्राप्त हुनाले दिदीबहिनीलाई देवीस्वरूप सम्झेर उनीहरूबाट आशीर्वाद लिई उपहार, दान, दक्षिणा दिने चलन पनि तिहारको मूल विशेषता हो। निधारमा सप्तरङ्गी टीका, गलामा मखमली फूलको माला, कपालमा तेल, अनि मूलढोकामा ओखर फोरी मण्डपमा सजिएका दाजुभाइहरूलाई तेलमिश्रित करुवाको टुटीको जलाधाराबाट तीन पटकसम्म परिक्रमा गरी यमुना, यम देवताको पूजा, दीप, कलश, गणेशको पूजासहित भाइहरूको पूजा विशेष विधिपूर्वक गरी पान, मसला, धूप, बत्ती, बस्त्र, फलफूल, मिष्ठान्न, सगुनसमेत दिएर दाजुभाइहरूलाई प्रसन्न राखी प्रार्थना गरिन्छ। वर्षभरि भएका सबै कल्मष हटाई दिदीबहिनीहरूबाट दाजुभाइहरूले सुख समृद्धिको आशीर्वाद दिन्छन्। भाइपूजा गर्नुअघि षष्ठिकादेवीसहित मार्कण्डेय, व्यास, बलि, हनुमान, परशुराम, कृपाचार्य, द्रौणी, प्रह्लाद र विभिषण अष्टचिरञ्जीवीहरूको पूजा गरिन्छ। सातकल्पसम्म जीवित रहने मार्कण्डेय आदि अष्टचिरञ्जीवी पूजा गरी दाजुभाइको दीर्घायुको कामना गरिन्छ। सप्तरंगी टीकाको झन् ठूलो महत्त्व छ।