साफ महिला च्याम्पियनसिप २०२४
नेपाल - बंगलादेशबीचको फाइनल हेर्न टिकट काट्नेको बिहानैदेखि घुइँचो , पानीका बोतल समेत लैजान नपाइने
काठमाडौं : दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज बंगलादेश र नेपाल भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे सुरु हुनेछ । खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ ।
अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमताभन्दा बढि बिक्री भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो । फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरू रातीदेखि नै लाइनमा लागेका थिए ।
जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडि सयौं दर्शकहरू टिकट काट्नका लागि लाइन बसेका थिए ।
फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि वस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । प्रहरीले लाइनमा लागेका दर्शकलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीका बारेमा जानकारी गराएका थिए । फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ ।