सेयर बजारमा फेरि गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं : अघिल्लो कारोबार दिन मंगलबार उच्च अंकले बढेको सेयर बजार आज फेरि ओरालो लागेको छ। मंगलबार ४६.६९ अंकले बढेको नेप्से परिसूचक आज १४.४३ अंकले घटेर २६७७.६२ अंकमा पुगेर बन्द भएको हो।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३०५ स्क्रिप्सको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचक घटेपनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुराँस लघुवित्त वित्तीय संस्था,मिड सोलु हाइड्रोपावर,अपर स्यांगी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सानिमा जिआईसी इन्स्योरेन्सको सेयर ९.९२ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सानिमा जिआईसी इन्स्योरेन्स २६ करोड मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।
यसैगरी सोल्टि होटलको २० करोडको सेयर कारोबार हुँदा नेपाल फाइनान्सको १६ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ७५ स्टक्सको मूल्य बढ्दा १६४ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो।
आज तीनवटा समूहको परिसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन्। होटल्स एन्ड टुरिजमको २.५२,नन लाइफ इन्स्योरेन्सको ०.४९ र ट्रेडिङ समूहको उपसूचक ०.३२ प्रतिशतले बढ्यो। यसदिन इन्भेस्टमेन्ट समूहको उपसूचक सर्वाधिक १ .४१ प्रतिशतले घट्यो।