जीर्ण बनेको ३९ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत
हुम्ला : जीर्ण झोलुङ्गे पुल युवाहरूले मर्मत गरेका छन्। सर्केगाड गाउँपालिका-४ स्थित मुण्डी गाउँसँग जोडने ३९ वर्ष पहिला निर्माण भएको जीर्ण झोलुङ्गे पुलको महादेव युवा क्लबको सक्रियतामा मर्मत सम्भार गरिएको हो।
गाउँपालिकाको केन्द्रमै रहेको झोलुङ्गे पुल जीर्ण अवस्थामा भएपछि सरोकारवालासँग मर्मत सम्भारको लागि बेलाबेला गुहार गरे पनि सुनुवाइ नभएपछि युवाहरू मिलेर मर्मत गरिएको स्थानीय भीमबहादुर सिहंले जानकारी दिए।
पूर्वाधार विकास कार्यालय हुम्लालाई मर्मतको लागि बेलाबेला आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। 'गाउँपालिकासँग मर्मतको लागि बजेट व्यवस्थापन गर्न भनेका थियौं। बजेट छैन भनेर पन्छिए,' उनले भने। मण्डी गाउँ जोड्ने झोलुङ्गे पुल जीर्ण अवस्था भएपछि महादेव युवा क्लब मण्डीले मर्मत सम्भार गरेको युवा क्लबका अध्यक्ष मकर छत्यालले जानकारी दिए। जीर्ण पुलबाट आवतजावत गर्न समस्या भएसँगै युवाहरूको सक्रियतामा मर्मत गरिएको उनले बताए।