तिहारमा बजार अनुगमन : म्याद गुज्रिएका सामग्री छ्यापछ्याप्ती
रुकुमपूर्व : रुकुम पूर्वको भूमे गाउँपालिकामा ठूलो मात्रामा म्याद गुज्रिएको सामान बरामद गरिएको छ । कार्तिक ११, १२ र १३ गते भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा मगरको संयोजकत्वमा बजार अनुगमन टोलीले ठूलो मात्रामा म्याद गुज्रिएको सामान बरामद गरेको हो।
भूमे गाउँपालिकाको ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडाहरूमा बजार अनुगमन गर्दा १ लाख ५ हजार ५ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको भूमे गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक सविना बुढा मगरले बताए ।
बजार अनुगमन गर्दा प्रायः म्याद गुज्रिएको सामानहरू भेटिएको, सामानहरूको लेवलिङ नगरिएको, मुल्य सूची नराखेको,व्यवसाय दर्ता तथा नवीकरण नगरेकोलगायतका कमीकमजोरीहरू भेटिएको भूमे गाउँपालिकाका प्रशासन इकाई प्रमुख चेतन बुढा मगरले जनाएका छन् ।
गाउँपालिकाको वडा नम्बर ३ को सिसाघारी,दोमै, मोरावाङ वडा नम्बर ४ को काँडा र तल्लो साकिम वडा नम्बर ५ को सेराबाङ र उपल्लो साकिम वडा नम्बर ६ को महत वडा नम्बर ७ को धर्मशाला र लावाङ वडा नम्बर ८ को कोर्जा र सिमखोला र वडा नम्बर ९ को गैरीगाउँ बजार, लाखर बजार र सिमचौर बजार अनुगमन गर्दा ठूलो मात्रामा सामान बरामद गरिएको छ ।