वीरगन्जमा लागुऔषधसहित चारजना पक्राउ
वीरगन्ज : वीरगन्जबाट प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ जना र वीरगन्ज–१४ गण्डक चोकबाट नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
वीरगन्ज भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले लागू औषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको रघुनाथपुर ग्राम पञ्चायत–१ का २५ वर्षीय सत्यम शर्मा र आमुदेही ग्राम पञ्चायत–३ का २४ वर्षीय कयस अली रहेका छन् ।
उनीहरूको साथबाट डाईजापाम १०० एम्पुल, नोर्फिन १०० एम्पुल र प्रोमेफाजिन १०० एम्पुल गरी कूल ३ सय एम्पुल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए । लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा दिइएको धामीले जानकारी दिए ।
यस्तै वीरगन्ज महानगरपालिका– १४ गण्डकचोकबाट नेपाल प्रहरीले लागू औषधसहित बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवाका २० वर्षीय ओमबाबु कुशवाहा र २० वर्षीय शैलेश यादवलाई पक्राउ गरेको छ ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक बसमा प्रहरीले चेकजाँच गर्ने क्रममा ओमबाबुको साथबाट नुरफिन,डाइजेपाम र फेनारगन गरी १ हजार ४ सय ८१ एम्पुल र शैलेशको साथबाट नुरफिन,डाइजेपाम र फेनारगन गरी १ हजार ५ सय १५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।