लाङटाङमा चिज उत्पादन घट्यो
काठमाडौं : नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा यस वर्ष चिज उत्पादन घटेको छ। गत वर्षको तुलनामा यो वर्ष चिज उत्पादन घटेको हो। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्रले यो पटक एक हजार ७ सय केजी चिज उत्पादन गरेको छ।
यो वर्ष ५ हजार केजी चिज उत्पादनको लक्ष्य राखिएको भएपनि उत्पादन गर्न नसकिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताए। ‘यसपटक लक्ष्यको तुलनामा कम उत्पादन भएको छ’, उनले भने। पछिल्लो समय यस क्षेत्रमा चौरीपालक किसान घट्दै गएका कारण दूध उत्पादन घटेको छ। ‘पछिल्लो समय चौरीपालक किसान घटेका छन्। अहिले यहाँ होटल व्यवसाय गर्ने बढेका छन्।’
भूकम्प जानूपूर्व केन्द्रले वार्षिक ५ हजार केजी चिज उत्पादन गर्दै आएको थियो। पछिल्लो समय भने क्षमताभन्दा कम उत्पादन हुँदै आएको छ। केन्द्रको वार्षिक चिज उत्पादन क्षमता ६ हजार केजी रहेको छ। केन्द्रले हाल क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज उत्पादन गर्दै आएको छ।
केन्द्रले चिज प्रतिकेजी १ हजार ४ सय र मखन प्रतिकेजी १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको छ। पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको थियो।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ। वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रमा दुध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरूले जनाएका छन्।
गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ। जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ।