परीक्षा तयारीको क्रममा ध्यान दिनुपर्ने विषय
व्यक्तिले जीवन जिउने क्रममा आर्जित विभिन्न तह वा चरणको ज्ञान र अनुभवको परीक्षण नै वास्तवमा परीक्षा हो। नेपाली बृहत् शब्दकोषअनुसार परीक्षा भन्नाले योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठीकसँग पारख गर्ने काम, जाँच गर्ने काम, जाँच जँचाइको कार्य भनिएको छ। परीक्षा तर्क र प्रमाणको आधारमा निष्पक्ष ढंगले गर्ने गरिन्छ। परीक्षाले नै व्यक्तिको भाबी जीवनलाई डोर्याउने गर्दछ। जसले जीवनको परीक्षा फेस गर्न सक्छ, ऊ रमाउँछ, जसले सक्दैन ऊ हराउँछ। तसर्थ परीक्षालाई स्वाभाविक प्रकियाको रूपमा लिनुपर्छ र फेस गर्दै जानुपर्छ।
पूर्वीय दर्शनले मानिसमा धैर्य, संयमता, पवित्रता, शुद्ध आचरण, विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनेको छ। परीक्षामा सो ज्ञान भए नभएको समेत परीक्षण गर्ने गरिन्छ। व्यक्तिको व्यक्तित्व विकास गरी जीवन र जगत्को वास्तविक रहस्य बुझी सुख, स्वर्ग तथा मोक्ष प्राप्तिका लागि आश्रम व्यवस्था अनिवार्य मानिएको छ। यसको माध्यमबाट व्यक्तिले पूर्णता र पूर्णसन्तोष प्राप्त गर्न सक्छ भन्ने विश्वास रही आएको छ। मानव जीवनका चार आश्रममध्येका सुरू दुई आश्रमः ब्रम्हाचर्य र गृहस्थ आश्रममा परीक्षाको भार बढी रहने गर्दछ। यो चरणमा सामना गर्ने परीक्षा र सो को सफलताले व्यक्तिको बाँकी जीवनको व्यक्तित्व निर्माणको आधार तय हुन जान्छ र जीवन सुखी र आनन्दित हुन पुग्छ। परीक्षामा सफल र अग्रणी हुने चाहना कसको हुन्न। नर्सरी पढ्ने बच्चाको त हुन्छ। झन् जागिर पाउने, जागिरमा बढुवा हुने, परीक्षामा अग्र स्थानका साथ सफल हुने चाहना सबैको हुन्छ तर सबै सफल हुन्नन्। सफलताका पूर्व सर्तहरू पनि रहन्छन्। त्यसैले त नाम नै परीक्षा राखिएको होला। तथापि, हामीले के बिर्सनु हुन्न भने एउटा ढोका बन्द हुँदा व्यक्तिको व्यक्तित्व विकासका लागि सयौं ढोका खुल्ने गर्छन्। यो नै प्रेरणाको स्रोत हो र विश्वका सफल व्यक्तिका कथा पढ्दा यस्ता विषय थप प्रष्ट हुन जान्छ।
हालैसालै लोकसेवा आयोगले सहसचिव र उपसचिव पदको खुल्ला र आन्तरिक प्रतिस्पर्धामार्फत कर्मचारी भर्नाका लागि विज्ञापन गरेको छ। विज्ञापनसँगै लिखित परीक्षाको कार्यतालिका पनि सार्वजनिक भएको छ। उक्त परीक्षामा सहभागी हुन पाउने योग्य उम्मेदवारको तनावको स्तर विज्ञापन भएसँगै बढेको छ। परीक्षामा सफल भएका साथी भाइसँग सल्लाह लिने, सामाग्री संकलन गर्ने र ट्युशन लिने क्रम ह्वात्तै बढेको देखिन्छ। परीक्षाको तयारी कसरी गर्दा सफल भइने हो? कस्तो प्रश्न आउने हो? कसरी लेख्ने हो? कतिसम्म लेख्ने हो? समय व्यवस्थापन कसरी गर्ने हो? र, के कस्तो ढाँचामा लेखे सफल भइने हो? भन्ने विषयले परीक्षामा सहभागी हुने उम्मेदवारलाई सताउने गर्दछ।
परीक्षाको तयारी गर्ने सन्दर्भमा भन्ने गरिन्छ ‘डन्ट वर्क हार्ड, वर्क स्मार्ट’ अर्थात्, धेरै कडा मिहिनेत नगर बरु बुद्धिमतापूर्ण तवरले मिहिनेत गर। अर्थात् ‘स्मार्ट’ तरिकाले पढ् र तयारी गर, जसले गर्दा पढेको कुरा याद गर्न सक्छौं र परीक्षामा लेख्न सक्छौं। पढ र पढेका विषय मनन गर। जुनसुकै र जस्तोसुकै परीक्षामा सफल हुन उम्मेदवारले योजनाबद्ध ढंगबाट अध्ययन र लेखन अभ्यासको कार्यलाई अगाडि बढाउनुपर्ने हुन्छ। परीक्षामा सामेल हुने उम्मेदवार के मा ढुक्क हुनुपर्छ भने प्रश्न पाठ्यक्रममा उल्लेख भएका विषयबाट नै आउने हुन र मैले प्रश्नलाई राम्रोसँग अध्ययन गरी प्रश्न केन्द्रित भएर उत्तर लेख्नुपर्छ। कयौं विषय अन्तर सम्बन्धित हुन्छन्। जस्तैः लगानी रोजगारी गरिबी सुशासन। त्यस्ता विषय अध्ययन गर्दा सोसँग सम्बन्धित प्रचलित कानुन र अभ्यास तथा आगामी कार्यदिशा स्पष्ट हुनेगरी फ्रेममा रहेर अध्ययन गर्नुपर्ने हुन्छ।
परीक्षा तयारीको क्रममा ध्यान दिनुपर्ने विषय
- परीक्षामा सफल हुन र सोही अनुसारको तयारी गर्न सर्वप्रथम व्यक्ति स्वयं दृढ र प्रतिबद्ध हुनुपर्छ। परीक्षामा सफल हुन सहभागी भएको हुँ र जुन परीक्षामा सहभागी हुँदैछु उक्त परीक्षामा जसरी सफल हुनु छ भन्ने दृढ विश्वास लिएर अगाडि बढेमा अवश्य सफलता हासिल हुन्छ। प्रतिबद्धता अनुसारको कार्य गर्न चिन्ता हैन सकारात्मक सोच र चिन्तनको जरुरत पर्दछ साथै संकल्पबाट विचलित हुनु हुन्न।
- परीक्षाको तयारी अर्को वर्ष वा दसैं तिहार बिदापछि वा भोलिबाट भन्ने होइन, आज र अहिलेबाट सुरु गर्नुपर्छ साथै यसले निरन्तरता पाउनुपर्दछ। हाम्रो लक्ष्य रातारात हासिल गर्न सक्दैनौं। तर, लक्ष्य हासिल गर्ने तौर तरिकामा परिवर्तन गर्न सक्छौं, जुन आफ्नै बशमा हुन्छ र सफल पनि भइन्छ।
- प्रतिबद्धतालाई कार्यरुप दिन अध्ययन कार्ययोजना बनाइ अध्ययन र लेखन अभ्यासलाई व्यवस्थित र परिणाममुखी बनाउनुपर्छ। अध्ययनका विषयको प्राथमिकीकरण गर्नुपर्छ। विभिन्न पेपरको पाठ्यक्रममा उल्लेख भएका विषयलाई लिंक गरी अध्ययन गर्न सक्नुपर्छ।
- अध्ययन कार्य पाठ्यक्रम केन्द्रित बनाउन पाठ्यक्रममा उल्लेख भएका विषयको समेत बीच बीचमा अध्ययन गरिरहनुपर्छ।
- अध्ययन सामाग्री संकलन गर्नेः पाठ्यक्रममा उल्लेख भएका विषयको अध्ययन गरी सम्बन्धित अध्ययन सामाग्रीको मात्र संकलन गर्नुपर्छ। अन्यथा अनावश्यक अध्ययन सामाग्रीको उपलब्धताले अन्यौलताको सिर्जना हुन्छ। मन आतिन्छ। सकेसम्म आधिकारिक वेवपेज, विषय सन्दर्भ किताब वा सामाग्रीको मात्र अध्ययन गर्ने बानी बसाल्नुपर्छ। संविधान, आवधिक योजना, बजेट, संवैधानिक निकायका वार्षिक प्रतिवेदन र अन्य पाठ्यक्रमसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरी सो को सार खिच्न सक्नुपर्छ।
- संकलित सामाग्री पाठ्यक्रमको शीर्षकअनुसार क्लस्टरिङ गर्ने र सोही अनुसार छुट्टा-छुट्टै नोट बनाउनुपर्छ। बनाइएका नोटको अध्ययनका लागि समय छुट्याउनुपर्छ। कहिलेकाहीँ नोट बनायो बनायो पढ्ने समय नै रहन्न यसतर्फ ध्यान दिनुपर्छ।
- नेपाल सरकारबाट जारी भएका महत्वपूर्ण नीति र सुधारको कार्ययोजना समेत अध्ययन गर्ने र पाठ्यक्रमको विषयसँग आबद्ध गर्नुपर्छ। नेपाल सरकारले के कस्ता नीति जारी गर्नुपर्ने वा भएका कुन नीतिको पुनरावलोकन हुन आवश्यक छ, सो को लिष्ट तयार गरी नीति मस्यौदाको ढाँचा तयारीको अभ्यास गर्ने।
- पाठ्यक्रमको विषय सम्बद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय असल अभ्यासको विवरण तयार गर्ने। तीनै तहका सरकार, सार्वजनिक निकाय र नीजि क्षेत्रले गरेका असल अभ्यास भए सो समेत टिपोट गर्ने। उत्तर लेख्दा सन्दर्भ मिलेमा उक्त अभ्यास प्रस्तुत गर्ने।
- महत्वपूर्ण र अपडेटेड तथ्य र तथ्याङ्कको टिपोट गर्ने। समसामयिक विषयमा अपडेट हुने। दैनिक समाचार सुन्ने पत्रपत्रिका पढ्ने। महत्वपूर्ण बुँदा भएमा नोट कपीमा थप गर्दै जाने।
- साथीहरूसँगको सहकार्य : विविध क्षेत्रका साथीहरू समेटिने गरी ४/५ जनाको समूह बनाइ छलफल गरी अध्ययन गर्ने। समूहमा छलफल गरिएका विषय याद हुने हुनाले सामूहिक छलफलपश्चात् लेखन अभ्यास गर्ने एकले अर्काको लेखाइको टिप्पणी गर्ने/पृष्ठपोषण दिने। मिल्ने साथीहरू समेटिने गरी WhatsApp/Viber ग्रुप बनाइ अध्ययन गरिएका विषय छलफल गर्ने।
- परीक्षाको तयारी गर्दा मानसिक स्वास्थ्यको विशेष ख्याल राख्ने। एक घण्टा अध्ययन गरेपश्चात १५/२० मिनेट ब्रेक लिने। स्वस्थकर खानपीनमा जोड दिने। कम्तीमा दैनिक १५.२० मिनेटमात्र भए पनि योग/ध्यान गर्ने। संगीतको आनन्द लिने। परिवारका सदस्यले अध्ययनकर्त्ताको लागि अध्ययनको माहोल बनाइदिने। नियमित औषधि सेवन गर्ने व्यक्तिको हकमा समयमा नै औषधि सेवन गर्ने वा गर्न सम्झाइदिने।
- विगतका प्रश्नको संगालो पटक-पटक हेर्ने र उत्तर लेख्ने समकक्षीका साथै सिनियरबाट पृष्ठपोषण लिने। एकिन नभएका विषयमा उपलब्ध भएसम्म विषयका जानकार व्यक्तिसँग सल्लाह सुझाव लिने।
- पाठ्यक्रममा उल्लेखित विषयको प्रवृति विश्लेषण (Trend Analysis) गर्ने कम्तीमा पछिल्लो तीन वर्षको। जस्तैः संघीयता कार्यान्वयनपश्चात् विकास सहायताको प्रवृत्ति विश्लेषण, लगानी र रोजगारीको अवस्थाको विश्लेषण, वैदेशिक रोजगारीः अवसर र चुनौतीको विश्लेषण, सार्वजनिक संस्थानको आवश्यकता र औचित्यको विश्लेषण। तथ्य र तथ्याङ्कमा रहेर गर्ने।
- समय व्यवस्थापन आफैंमा एक परीक्षा भएकाले उत्तर अभ्यास गर्दा समय व्यवस्थापन भए नभएको एकीन गर्ने। नभएमा समय व्यवस्थापन गर्ने गरी लेखन अभ्यासलाई निरन्तरता दिने।
- अध्ययनको क्रममा कलेज विश्वविद्यालयमा पढेको विषय र कार्यअनुभवलाई समेत पाठ्यक्रमको विषयसँग आबद्ध गर्ने।
- विषय विज्ञ र लोकसेवा आयोगको परीक्षामा सफल भएका व्यक्तिहरूको लेख रचना र अन्तरवार्त्ता पढ्ने र सुन्ने।
- परीक्षाको दिन प्रश्नपत्र पाएपश्चात् सो को राम्रोसँग अण्डरलाइन गरी अध्ययन गर्ने। प्रश्नले खोजेको के हो पहिचान गर्ने र लेख्न सुरु गर्ने। पृष्ठभूमि वा विषयप्रवेशमा धेरै समय नखर्चिने। प्रश्नको मागबाट विचलित नभइ उत्तर लेख्ने। समय व्यवस्थापनमा ध्यान दिने। मिलेसम्म कार्य अनुभवका विषयलाई पनि उत्तरमा जोड्न प्रयत्न गर्ने।
अन्त्यमा,
तिहारको बिदा छ। हामी सबै आ-आफ्नो घर टोल सरसफाइ तथा दिपावली गर्न र भाइ टीकाको तयारीमा जुटिसकेका छौं। चाडपर्वले माहोल रमाइलो बनेको छ। हरेकको मनमा उमंग र उत्साह थपिएको छ। सँगसँगै लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएका मित्रहरू तिहारको बिदामा रमाइलो कम अध्ययनमा बढी समय व्यतित गरिरहनुभएको छ।
परीक्षामा सहभागी हुने व्यक्ति चाडपर्वमा खुलेर रमाउन सक्दैन, किनकि लगत्तै परीक्षा आइरहेको हुन्छ। तथापि, वर्ष दिनमा आउने चाडपर्व मनाउदै परीक्षाको तयारी गर्नुको विकल्प हुन्न हामीसँग। यसको लागि समय व्यवस्थापन महत्वपूर्ण रहन्छ। हामीले जीवनमा धेरै परीक्षाको सामना गर्नुपर्ने हुन्छ। परीक्षालाई तनावको रूपमा नलिई सहजरूपमा लिनुपर्छ। तयारीको क्रममा आफू स्वयंप्रति इमान्दार र प्रतिबद्ध हुनुपर्छ। माथि उल्लेख भएका बुँदालाई मनन गर्दै कार्ययोजना पछ्याउँदै दृढ संकल्प र उच्च मनोबलका साथ परीक्षामा सहभागी भएमा अवश्य सफल हुन सकिन्छ।
परीक्षामा सामेल हुने सबै उम्मेदवारलाई सफलताको शुभकामना!
- लेखक नेपाल सरकारका सहसचिव हुन्।