त्रियुगाका ३५ परिवारलाई सहयोग
उदयपुर : चाडपर्वको मुखमा दुई छाक टार्न मुस्किल परेका उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका ३५ परिवारलाई वैदेशिक रोजगारमा रहेका नेपालीहरूले राहत उपलब्ध गराएका छन्।
आर्थिक विपन्नतालाई आधारमानी नगरपालिकाको सिफारिसमा दाजुभाइ समूह दोहा (कतार)ले उनीहरूलाई नगद तीन हजार, जाडोमा ओढ्ने फाइबर सिरक र झुल उपलब्ध गराएको हो।
उदयपुर स्थायी घर भई वैदेशिक रोजगार दोहा (कतार)मा रहेका नेपालीहरूले आर्थिक संकलन गरी समूहमार्फत सहयोग उपलब्ध गराएका हुन्। बिहीबार साँझ समूहले चाडपर्वका अवसरमा सदरमुकाम गाईघाटमा आयोजना गरेको ‘सांस्कृतिक साँझ’ कार्यक्रममा राहत उपलब्ध गराइएको संयोजक सन्दीप भट्टराईले बताए।
भट्टराईले विगतमा पनि समूहले कोभिड–१९, भूकम्प, दैवी प्रकोप जस्तो महामारीमा राहतहरू उपलब्ध गराउँदै आएको बताए। उनले भने, ‘कुनै संघसंस्थाको सहयोग नभई हामीले विदेशमा प्रचण्ड गर्मीमा पसिना बगाइ दुःख गरेर कमाएको रकम आफ्नो ठाउँका जनताको विपत्तिमा केही सहयोग गरौं भनेर गरेका हौं।’
उनले स्थानीय सरकारको सहजीकरणमा बाँकी ठाउँहरूमा पनि क्रमशः सहयोग गर्दै जाने लक्ष्य रहेको बताए। आफ्नो पालिकाका जनतालाई राहत उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताइन्।
उनले जनतालाई धनी बनाउने योजना नगरपालिकाको रहे पनि स्रोत साधनको अभावमा कार्यान्वयनमा जटिलता रहेको बताइन्। उनले जनता धनी बनाउने योजना स्थानीय सरकारबाट मात्र सम्भव नभएकाले तीनै तहका सरकार एक हुनु पर्ने धारणा व्यक्त गरिन्।