महोत्तरीमा महिलाको हत्या, दुई जना पक्राउ
महोत्तरी : अनुहार जलाएर महिलाको हत्या गरेको आरोपमा महोत्तरीमा २ जना पक्राउ परेका छन्। प्रहरीले मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र उनकी श्रीमती वर्ष २५ की रिनादेवी महरालाई नियन्त्रणमा लिएको छ।
उनीहरूले गत सोमबार धनुषा गणेशमान चारनाथ नगरपालिका गोदारका २६ वर्षीय लक्ष्मीनियाँदेवी मण्डलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
विवाहोत्तर सम्बन्धमा कारण पारिवारिक तनाव र कलहका कारण उनीहरूले मण्डलको हत्या गरिएको प्रहरीले अनुसन्धानको क्रममा तथ्य फेला पारेको छ। विवाह भएको लामो समयसम्म रीनालाई सन्तान नभएपछि राकेशको मालतीसँग विवाहोत्तर सम्बन्ध कायम रहेको प्रहरी भनाइ छ। सोही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ रहेको छ।
जिल्लाको पिपरा गाउँपालिका-७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसँग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको र त्यसपछि अनुहार जलाएर उनीहरू फरार रहेको महोत्तरीका प्रहरी प्रवक्ता विशाल सिंहले जानकारी दिएका छन्। राकेश र रीना अहिले प्रहरीको नियन्त्रणमा रहेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन्।
यस्तो छ हत्याको कारण
विगत ५ वर्षदेखि राकेश र रीना भारतको विभिन्न शहरमा मजदुरी गरी गत साउनमा नेपाल फर्किएका हुन्। नेपाल आएपछि रीनालाई घरमा राखि राकेश काम गर्नका लागि भाइसँग भैरहवा जान्छ। भदौको अन्तिमतिर घर आएका भाइले जनकपुरबाट लक्ष्मीनियाँदेवीलाई भैरहवा लिएर जान्छ। जहाँ राकेश र लक्ष्मीनियाँबीचमा अवैध सम्बन्ध कायम हुन पुग्दछ। कात्तिक १ गते देवरसँग लक्ष्मीनियाँदेवी राकेशको घर पिपरा आउँछिन्।
उनी आएपछि घरायसी विवाद उग्र भएपछि राकेश पनि कात्तिक ३ गतेका दिन घर आएका थिए। घरमा श्रीमती हुँदाहुँदै आफूसँग विवाह गरेको भन्दै लक्ष्मीनियाँले राकेशसँग अंश मागेका थिए। पछि कानुनी प्रक्रियामार्फत अंश लिइने लक्ष्मीनियाँदेवीले दाबी गरिएपछि उनको हत्या गरिएको राकेश दम्पतीले प्रहरीसमक्ष बयान दिएका छन्। गत कात्तिक ११ गतेका दिन एउटै कोठामा राकेश दम्पती र लक्ष्मीनियाँदेवी बीच धेरै बेरसम्म विवाद चलेको थियो। सोही क्रममा लक्ष्मीनियाँदेवी घरबाट निस्किएपछि राकेश र उनकी जेठी श्रीमती पनि उनको पछि पछि बाहिर निस्कन्छ। सोही क्रममा स्थानीय अशोक ठाकुरको आँप बगैँचामा आएपछि उनीहरूबीच कुटाकुट हुनपुग्छ।
सोही क्रममा राकेश र श्रीमती रीनाले मृतक लक्ष्मीनियाँले ओढेको सल घाँटीमा कसेर हत्या गरिएको उनीहरू प्रहरीसमक्ष बयान दिएका छन्। लक्ष्मीनियाँदेवीको हत्या भएपछि मृतककै व्यागमा रहेको साडी उनको मुखमा राखि अनुहार जलाएर उनीहरू फरार भएका थिए। उनीहरूलाई हिजोराति प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।